दशकौँ देखि नेपाली राजनीति स्थिर छैन । शान्ति सम्झौतापछिको झण्डै २० वर्षसम्म नेताहरूको संषर्घ केवल सत्ता र कुर्सीको लागि रह्यो । चरम असन्तुष्टि सडकमा अहिले पोखिन थालेको होइन । कहिले शिक्षक, कहिले चिकित्सक, कहिले व्यापारीदेखि कहिले-को सडकमा आइरहे ।
पछिल्लो पटक भने एक सिंगो पुस्ता सडकमा ओर्लियो । भ्रष्टाचार र कुशासनबाट मूलक थिलथिलो भइरहेको बेला गत भाद्रमा जेनजीहरू सडकमा आउँदा देशकै ठूला दलहरूको गठबन्धनमा बनेको सरकार थप दुई दिन टिक्न सकेन ।
गणतन्त्रलाई पेवा बनाइरहेका नेताहरूको भागाभाग भयो । तर अहिले अन्तरिम सरकारबनिसकेपछि सुरक्षा घेराबाट निस्किएका नेताहरूले आफ्नो अहंकार र घमण्डभने अझै छाडेका छैनन् । सार्वजनिकरूपमा सरकारलाई नै धम्क्याउन थालेका छन् ।
वर्षौँअघि १५ जेठ २०६५ मा नेपालमा गणतन्त्र स्थापना हुँदा तत्कालीन राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छोडेर हिँडेका थिए । उनकै आशिस, आड र भरोसामा राजावादीहरू अझै ‘राजाआउ देश बचाउ’ भनिरहेका छन् । गत चेतमा उदण्ड मच्चाएका दुर्गा प्रसाईं अझै थाकेका छैनन् ।
चाँडै देशमा नेपाल र नेपाली नागरिकहरूले चाहेको संवैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी उनी गरिरहेका छन् । जेनजी आन्दोलन पश्चिमाहरूको डिजाइनमा भएको बताउँदै उनले २०४७ सालको संविधान पुनः स्थापना गर्नु आवश्यक रहेको बताइरहेका छन् । संवैधानिक राजसंस्था सहितको व्यवस्था आउने भएकाले हातमा दियो बोकेर दीपावली गर्नको लागि तयार रहनसम्म उनले भन्न भ्याएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले पनि पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरूदण्ड बताउँदै यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रूपमा उभिएको बताउँदै आएका छन् । अकाट्य मार्गदर्शन र त्यसैगरि व्यवहार गर्नुपर्ने उनले बेलाबेला सम्झाइरहेकै छन् ।
देशमा स्थिर राजनीति नहुनु, दल र तिनका शीर्ष नेताहरूले जनताको भरोसा अनुसार काम नगर्दा राजावादी शक्तिहरूले फेरि अवसर खोज्न थालेका छन्। उनीहरू राजनीतिक अनिश्चिततालाई आफ्नो पक्षमा प्रयोग गर्दै, जनतामाझ ‘राजसंस्था फर्काउनुपर्ने’ भावनालाई पुनः जीवित पार्ने प्रयास गरिरहेका हुन् । यद्यपि, यस्ता प्रयत्नहरू केवल धमिलो पानीमा माछा मार्न खोज्नु सरहमात्रै हो । जनता केबल भोट बैंकको रूपमा प्रयोग हुँदा देश जहिल्यै प्रयोगशाला बन्न पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।