जेनजी विद्रोहपछि परिवर्तित नेपाली राजनीतिले एकपछि अर्काे नयाँ मोड लिन थालेको छ । दुई दिनको आन्दोलनकै बलमा बनेको अन्तरिम सरकार जेनजीका माग मुद्दा सम्बोधन गर्नुपर्ने दबाबमा छ भने पुराना राजनीतिक दलका शीर्ष नेताहरू जीवनको उत्तरार्द्धमा जेल बस्नुपर्ने त्रासमा छन् ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रस् केपी शर्मा ओली र उनका कार्यकर्तामा यो चिन्ता सबैभन्दा बढी बढेको देखिन्छ । नेताहरू सरकारले कानुनी डण्डा चलाउन सक्ने त्रासमै रहेका बेला जेनजी शहीद परिवारका सदस्यले नाम नै किटेर जाहेरी दिन थालेपछि राजनीतिले थप नयाँ मोड लिनसक्ने सम्भावना बढेको छ । यसअघिसम्म सामाजिक सञ्जालमार्फत आमनेसामने हुने गरेका जेनजी पुस्ता पक्षधर र दलका नेता पक्षधर अब भौतिकरूपमै मुठभेटमा उत्रिने खतरा बढ्दै गएको छ ।
मंगलबार मात्र यसको सानो झलक देखियो । पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग लिएर जेनजीको एक समूह काठमाडौं प्रहरी परिसर पुगेपछि त्यसको प्रतिवादमा एमाले विद्यार्थी संगठन अनेरास्ववियु उत्रियो । २३ भदौको आन्दोलनमा सुरक्षा निकायको गोली लागेर युवाहरूको ज्यान जानुमा ओली र लेखक दोषी रहेकाले पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने जेनजीले माग गर्दै आइरहेका छन् । उक्त जाहेरी पनि प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो ।
ओली र लेखकविरुद्ध जोहरी दर्ता हुनसक्ने भन्दै अनेरास्ववियुका नेता-कार्यकर्ता मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका सुदन गुरुङविरुद्ध जाहेरी लिएर प्रहरीमा पुगेका थिए । अखिलले बालेन र सुदनविरुद्ध काठमाडौंमा मात्र नभएर देशैभरका जिल्ला प्रहरी कार्यालयमा जोहरी दिने जनाएको छ ।
अखिलेको यो कदमले बालेन समर्थक र जेनजी समूह पक्षधरलाई थप उत्तेजित बनाउने देखिन्छ । अनेरास्ववियुले पत्रकार सम्मेलन गरेर राष्ट्रका सम्पदा जलाउने र अराजक गतिविधि गर्ने व्यक्तिहरूमाथि कारबाही नभए संगठन नै सडकमा उत्रिने चेतावनी दिएको छ ।
अनेरास्ववियुका महासचिव दीपक धामीले बुधबार पत्रकार सम्मेलन गरेर राष्ट्रका सम्पदा जलाउने र अराजक गतिविधि गर्ने व्यक्तिहरूमाथि कारबाही नभए आफ्नो संगठन सडकमा उत्रिने बताए ।

सुदन गुरुङ नेतृत्वको समूहले ओली र लेखकविरुद्धको जाहेरी लिन काठमाडौं प्रहरी परिसरमा दबाब दिएपछि परिसरले जाहेरी लिएर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइदिएको थियो । आयोगले उक्त पत्रमा मंगलबार नै फौजदारी कसुरमा संलग्न जोकोहीलाई सरकारका संयन्त्रबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने जवाफ दिइसकेको छ, जसका कारण नेताहरू थप त्रसित बनेका छन् । यसको केही झलक एमाले नेता महेश बस्नेतमा देखिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले बुधबार बस्नेतसँग बयान लिएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढाउन प्रहरीको साइबर ब्यूरोलाई चिठी पठाएपछि उनीसँग ब्यूरोले बयान लिएको हो । केही समयदेखि एक महिलाले बस्नेतले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै आएकी छिन् । पछिल्लोपटक तीनै महिलाको नाम उल्लेख गर्दै बस्नेतले सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेका थिए ।
सोही आधारमा महिलाले दिएको जाहेरीका आधारमा बस्नेतसँग साइबर ब्यूरोले बयान लिइएको हो । उक्त प्रकरणमा बस्ने पक्राउ पर्ने सम्भावना बढेको छ । बस्नेतले बुधबार पत्रकार सम्मेलन गरेर आफू र आफ्ना नेता ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौतीसमेत दिएका छन् ।

पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरी कारबाही गर्नुपर्ने आवाज जेनजी समूहले उठाउँदै आएका छन् । तर, यस विषयमा कांग्रेस र स्वयंम लेखकले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
जेनजीले नेताहरूलाई पक्राउ गर्नुपर्ने माग मात्र नभएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई हटाउनुपर्नेलगायत माग राख्दै आएका छन् । अब अन्तरिम सरकारले जेनजीको मागअनुसार विभिन्न प्रकरणमा जोडिएका नेताहरूलाई पक्राउ गर्छ वा गर्दैन त्यो भने हेर्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।