ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटमा नेपालले कुवेतविरुद्ध कमजोर प्रदर्शन गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले १२ ओभरमा चार विकेट गुमाउँदै ६३ रन मात्र जोडेको छ ।
नेपालले पहिलो विकेट २.३ ओभरमै गुमायो । आसिफ शेख सात बलमा २ रन बनाएर आउट भए । दोस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेल ७.२ ओभरमा १६ रनमा पवेलियन फर्किए । उनले १५ बलमा तीन चौकासहित १६ रनको योगदान दिए ।
तेस्रो विकेटका रूपमा अलराउन्डर कुशल मल्ल ९.५ ओभरमा ४ रनमा आउट भए । नेपालले चौथो विकेटको रूपमा सन्दीप जोरालाई गुमायो । उनले ६ बलमा ५ रन मात्र बनाए ।
नेपालको शीर्षक्रम पुनः असफल देखिएको छ । र, रन रेट पनि सुस्त छ ।
नेपाल र कुवेतबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि तीनपटक सामना भएको छ, जसमा नेपालले दुई खेल जितेको र कुवेतले एक खेल आफ्नो पक्षमा पारेको छ ।
यसअघि आजै भएको पहिलो खेलमा आयोजक ओमानले सामोआलाई पराजित गरेको थियो । यस्तै, दोस्रो खेलमा यूएईले कतारविरुद्ध ७ विकेटको सहज जित निकाल्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।