७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

कुवेतविरुद्ध पावरप्लेमा नेपालको उत्कृष्ट बलिङ, सोमपाल-ललित र नन्दनलाई सफलता

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध बलिङमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । 

नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याइरहेको कुवेतलाई नेपाली बलरले खुलेर खेल्न दिएका छैनन् । कुवेतले पावरप्ले अर्थात् सुरुवाती ६ ओभरमा ३ विकेट गुमाएर ३१ रन बनाएको छ । 



कुवेतले रविजा सन्दारुवान र उस्मान पटेललाई शून्य तथा मीत भावसारलाई ११ रनमा गुमायो । नेपाललाई पहिलो सफलता सोमपाल कामी, दोस्रो ललितनारायण राजवंशी र तेस्रो सफलता नन्दन यादवले दिलाएका हुन् ।

त्यसअघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । 



नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले ।  उनले ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रनको पारी खेलेका हुन् । टी–२० आईमा कुशलको यो १२औँ अर्धशतक हो । यस्तै, अलराउन्डर गुलशन झाले आक्रामक ब्याटिङ गरे । उनले ६ बलमा लगातार तीन छक्कासहित २० रन बनाए । 

यस्तै, उपकप्तान दीपेन्द्र सिंह ऐरीले २०, कप्तान रोहितकुमार पौडेलले १६ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चेन्थमाराले सर्वाधिक दुई/दुई विकेट लिए । 

जारी प्रतियोगितामा नेपाल र कुवेत पहिलो म्याच खेलिरहेका हुन् । हालसम्म नेपाल र कुवेतबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि तीनपटक सामना भएको छ, जसमा नेपालले दुई खेल जितेको र कुवेतले एक खेल आफ्नो पक्षमा पारेको छ ।

जारी विश्वकप छनोटमा आजै भएको पहिलो खेलमा आयोजक ओमानले सामोआलाई पराजित गरेको थियो । यस्तै, दोस्रो खेलमा यूएईले कतारविरुद्ध ७ विकेटको सहज जित निकाल्यो । 



  • प्रकाशित मिति : २२ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया