२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

मलेसियाविरुद्धको टी-२० सिरिजमा को कति सफल ?

नेपाली महिला क्रिकेट टिमको आगामी लक्ष्य आइसिसी टी–२० विश्वकप २०२६ मा छनोट हुनु हो । १२ देशले खेल्ने उक्त विश्वकपमा अहिलेसम्म आठवटा देशको टुंगो लागेको छ । र, अब बाँकी चारवटा स्थानका लागि आउँदो जनवरीमा छनोट प्रतियोगिता हुनेछ ।


१२ जनवरीदेखि नेपालमा आयोजना हुने विश्वकप छनोटमा १० टिमले प्रतिस्पर्धा गर्ने छन् । सो प्रतियोगितामा आयोजक नेपाल, बंगलादेश, स्कटल्याण्ड, अमेरिका, थाइल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड्स, जिम्बाब्वे, नामिबिया र पपुवा न्यूगिनीको सहभागिता रहनेछ ।



उनीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा परेको छ । समूह चरणमा नेपालले बंगलादेश, नेदरल्याण्ड्स, नामिबिया र पपुवा न्यूगिनीको सामना गर्नेछ । 



समूह चरणबाट अंक तालिकाको शीर्ष तीनवटा टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्सको टप फोर टिमले आउँदो वर्ष इंग्ल्याण्डमा आयोजना हुने विश्वकप खेल्न पाउने छन् । नेपाली टोली अहिले यही छनोट प्रतियोगिताको तयारीमा व्यस्त छ ।

सोहीअनुसार नेपालले यही २ अक्टोबरदेखि ८ अक्टोबरसम्म मलेसियाविरुद्ध पाँच खेलको टी–२० आई सिरिज खेल्यो । श्रृंखलामा नेपालको प्रदर्शन ठिकठाक रह्यो । नेपालले यो सिरिज ३–२ ले जितेको हो ।

श्रृंखलाको पहिलो खेलमा तीन रनले स्तब्ध भएको नेपालले दोस्रो म्याचमा कमब्याक गर्दै ६ विकेटको सहज जित निकाल्यो । यद्यपि नेपाल तेस्रो खेलमा १३ रनले स्तब्ध भयो । चौथो र पाँचौं खेलमा भने नेपाली टिमले क्रमशः ६ र ५ विकेटको जित निकाल्यो ।

नेपालले यसअघि पनि मलेसियाविरुद्ध द्विपक्षीय श्रृंखला जितिसकेको छ । नेपाली टिमको प्रदर्शन हेर्ने हो भने विगत र अहिलेकोमा खासै फरक देखिएन । सिरिज गुमाए पनि मलेसियन खेलाडी प्रदर्शनमा भने सुधार देखियो । र, उनीहरू फिटनेसमा पनि अब्बल देखिए । 



नेपाली खेलाडीको फिटनेसमा भने सुधार देखिएन । उनीहरूले बलरभन्दा पनि बढीजसो खेलमा रनआउटको रूपमा विकेट गुमाए । साथै, नेपाली ब्याटरहरूले सिंगल–डबल रन लिन निकै संघर्ष गरे । र, नेपालले सिरिजमा १२१ रनको लक्ष्य पूरा गर्न सकेन । श्रृंखलाको तेस्रो खेलमा नेपाली टिम उक्त लक्ष्य पछ्याउनेक्रममा १ सय ७ रनमै रोकियो । यस्तै, मलेसियासँगको सिरिजमा नेपालको फिल्डिङ पनि सन्तोषजनक रहन सकेन । 

यसको मुख्य कारण हो, खेलाडीको फिटनेस कमजोर हुनु । नेपाली महिला खेलाडीको यो समस्या वर्षौंदेखिको हो । यदि फिटनेसमा सुधार गर्न नसके विश्वकपमा छनोटमा नेपाललाई आफ्नो लक्ष्य हासिल गर्न निकै कठिन हुनसक्छ । मलेसिया भ्रमणमा नेपालले बलिङ भने राम्रो रह्यो । नेपालले पाँचमध्ये एक खेलमा मात्र मलेसियाविरुद्ध १२० रन खर्चियो ।

बाँकी चार म्याचमा भने नेपालविरुद्ध मलेसिया कम स्कोरमै रोकियो । मलेसियालाई कम रनमा रोक्न नेपाली अलराउन्डर कविता कुँवरले उत्कृष्ट बलिङ गरिन् । उनले चार खेलमा ३.६६ को उत्कृष्ट इकोनमीमा सर्वाधिक ९ विकेट लिइन् । सिरिजमा कविताको उत्कृष्ट बलिङ स्पेल १० रन दिएर तीन विकेट लिनु रह्यो । नेपाललाई सिरिज जिताउन महत्वपूर्ण योगदान दिएकी उनी ‘उत्कृष्ट बलर’ घोषित भइन् । 

यस्तै, श्रृंखलामा नेपालका लागि सुमन विष्टले चार, राजमती ऐरीले तीन, रचना चौधरी, पूजा महतो र रुबिना क्षेत्रीले एक/एक विकेट लिए ।  त्यस्तै, मलेसियाविरुद्धको सिरिजमा ब्याटिङमा नेपालका लागि कप्तान इन्दु बर्मा सर्वाधिक सफल रहिन् ।

उनले पाँच खेलमा ११७ रन बनाइन् । इन्दु सिरिजमा सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहिन् । यस्तै, पूजा महतोले १०१, रुबी पोद्दारले ८०, सम्झना खड्काले ६० तथा रुबिना क्षेत्रीले ५५ रन बनाइन् । बाँकी नेपाली ब्याटरले भने श्रृंखलामा ५० रनको आँकडा छुन सकेनन् । साथै, सिरिजमा कुनै पनि नेपाली ब्याटरबाट अर्धशतकीय पारी देख्न पाइएन । 

  • प्रकाशित मिति : २३ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया