शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बुधबार गरेका भेटघाट र आफ्ना निर्देशन सार्वजनिक गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले बुधबारको दिनभरका गतिविधि र बैठकका मुख्य निष्कर्षहरू बुँदागतरूपमा प्रस्तुत गरेका हुन् ।
मन्त्री पुनले पहिलो बैठक राष्ट्रिय आविष्कार केन्द्र (नास्ट) मा गरेका थिए । उनले करिब दुई घण्टासम्म छलफल र प्रयोगशालाहरूको अवलोकन गरेका हुन् ।
नास्टको वार्षिक ३७ करोड बजेटमध्ये २७ करोड रुपैयाँ प्रशासनिक खर्चमा र १० करोड रुपैयाँ अनुसन्धान तथा नवप्रवर्तनमा छुट्याइएको जानकारी प्राप्त भएको उनले बताए ।
नास्टलाई ‘उच्चकोटिको अनुसन्धान केन्द्र’ बनाउने लक्ष्यसहित उनले त्यहाँ कार्यरत सबैलाई यही साताभित्र ठोस सुझाव पेश गर्न निर्देशन दिएका छन् । उनले भवन र प्रयोगशालाहरू उच्चस्तरका भए पनि त्यसअनुरूपको गुणस्तरीय अनुसन्धानको कमी रहेको बताउँदै ‘भवन र ल्याबअनुसारको उच्चकोटिको काम हुनैपर्छ’ भन्नेमा जोड दिएका छन् ।
दोस्रो बैठक उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा गरेका थिए । सो बैठक करिब तीन घण्टा लामो भयो ।
मन्त्री पुनले शिक्षक दरबन्दी मिलान, विद्यार्थी संख्या अत्यन्त न्यून रहेका विद्यालयहरूको मर्ज, योग्य र सक्षम प्रधानाध्यापकको पारदर्शी नियुक्ति तथा देशभर लागु हुने कार्यविधि तयार गर्ने विषयमा निर्देशन दिएका छन् ।
त्यसैगरी उनले अनलाइन सिकाइका लागि डिजिटल शैक्षिक सामग्री निर्माण र प्रयोगलाई प्राथमिकता दिन कार्यक्रम बनाउन समेत आग्रह गरेका छन् ।
तेस्रो बैठक पाठ्यक्रम विकास केन्द्रमा दुई घण्टा लामो छलफलका रूपमा सम्पन्न भएको उनले बताएका छन् । मन्त्री पुनले सामुदायिक र संस्थागत विद्यालयका पाठ्यक्रम विकासमा गम्भीरता अपनाउन, नियमितरूपमा परिमार्जन र अद्यावधिक गर्न निर्देशन दिएका छन् ।
उनले मातृभाषामा पाठ्यपुस्तक विकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक, व्यावहारिक, इतिहास र संविधानसम्बन्धी शिक्षालाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । साथै, मन्त्री पुनले आगामी शैक्षिक वर्षदेखि कक्षा ९ र १० मा १०० अंकको कम्प्युटर विषय अनिवार्य गरिने भएकाले सोहीअनुसार पाठ्यक्रम तयार गर्न पनि निर्देशन दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।