जेनजी आन्दोलनपछि नेपालका प्रमुख राजनीतिक दलमा सन्नाटा छाएको छ । जेनजी विद्रोह अघिसम्म विभिन्न सभा, सम्मेलनमा पुगेर चर्का भाषण गर्ने नेताहरू अहिले भने गुमनामजस्तै बनेका छन् ।
जेनजी प्रर्दशनकारीले दलका पार्टी कार्यालय र नेताका घर तथा सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेपछि भूमिगत भएका केही नेता बाहिरी माहोल शान्त हुन थालेपछि विस्तारै खुल्न थालेका छन् ।
नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रका केही नेता तथा कार्यकर्ता अब जेनजीको भावना र मागअनुरूप आफू र आफ्नो पार्टीलाई परिमार्जन गरेर अघि बढ्ने प्रतिबद्धतासमेत गर्न थालेका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा यस्तो प्रतिबद्धता गर्ने कुरामा सबैभन्दा अगाडि देखिएका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठलगायत नेताहरूले अब पार्टी र नेतृत्व परिवर्तन गर्नुपर्ने माग राख्दै आएका छन् । तर, एमालेमा भने नेतृत्व परिवर्तन र जेनजीको भावनाअनुरूप पार्टी र नेतालाई परिमार्जन गर्नुपर्छ भन्ने आवाज बलियो ढंगले उठ्न सकेको छैन ।
योगेश भट्टराई, गोकर्ण विष्टलगायत केही नेताहरूले मसिनो स्वरमा फरक मत राख्न खोजे पनि महेश बस्नेतको गर्जनका अघि उनीहरूको आवाज धुमिलिएका छन् । अहिले एमाले भनेकै महेश बस्नेत र महेश बस्नेत जत्तिको आँटिलो नेता एमालेमा अरु छैनन् भन्ने भाष्य स्थापित गर्न खोजिएको छ ।

बस्नेतका पछिल्ला भाषण, शब्द चयन र उनका क्रियाकलपाले पनि एमालेका अन्य नेतालाई ओझेलमा परेका छन् । एमालेको केन्द्रीय सचिवालय पदाधिकारीमा इश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, गुरुप्रसाद बराल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङलगायत अग्रज नेताहरू छन् । यो बेग्लै कुरा हो कि यसमध्ये शंकर पोखरेलले बस्नेतकै शैलीको भाषा बोलेर आम जनसमुदायलाई झन बिच्काउने काम गरिरहेका छन् ।
एमाले पोलिटब्यूरो सदस्य रहेका बस्नेत अहिले ओलीको रक्षक बनेर बसेका मात्रै छैनन्, ओलीलाई आफ्नै क्षेत्रमा शरण दिएर चौकीदारी गरिरहेका छन् । जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकार र सरकारका मन्त्री तथा जेनजी आन्दोलन पक्षधरलाई कुनै राजनीतिक दलका नेताले ललकारिरहेका छन् भने ती एमालेका बस्नेत नै हुन् । उनका अभिव्यक्ति जेनजीलाई थप उग्र बनाउने र जेनजीको नेतृत्व गरिरहेका व्यक्तिलाई आक्रोशित तुल्याउने खालका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले बस्नेतको पूर्णविश्वासमा परेको देखिन्छ । ओलीले अहिले जति पनि भेटघाट तथा संवाद गरिरहेका छन् ती सबै कार्यक्रममा बस्नेत जोडिएका छन् । उनी पनि समग्र पार्टीको बचाउभन्दा पनि ओलीको बचाउमा उत्रिएको देखिन्छ ।
ओलीसहितका नेतालाई सरकारले पक्राउ गर्ने चर्चा चलेपछि बस्नेत थप उग्र बनेका छन् । बुधबार पत्रकार सम्मेलन गरेका बस्नेतले ओली र आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती नै दिए । एमालेका अरू नेता गुमनाम र चुपचाप बसेका कारण अहिले बस्नेत ‘हुटिट्याउँले आकाश थामे जस्तो’ भ्रममा छन् । एमालेका शीर्ष नेता भनिएकाहरू पार्टीमा भूमिकाविहीन हुँदा बस्नेतले नै एमाले पार्टी धानिरहेको जस्तो देखिन थालेको छ ।
एमालेको आफ्नै इतिहास छ । एमालेलाई देशको प्रमुख राजनीतिक दल बनाउन भूमिका खेलेका मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रित, माधवकुमार नेपाल, झलनाथ खनाल, मोदनाथ प्रश्रित, मोहनचन्द्र अधिकारी, भरतमोहन, अधिकारीलगायत नेताहरूको भूमिका र बलिदानलाई वर्तमान नेतृत्व र नेताहरुले भुल्नु हुँदैन । एमालेको जग यस्तै नेताहरूको योगदानका कारण बनेको हो ।
बस्नेतले पनि एमाले निर्माणमा भूमिका खेलेका होलान् । तर, पछिल्लो समय उनी जसरी पार्टीको नभइ ओली मात्रको बचाउमा उत्रिएका छन् र जस्ता खालका अभिव्यक्ति दिइरहेका छन् त्यसले पार्टी निर्माण गरेका नेताहरूको भूमिकालाई अवमूल्यन मात्रै भएको छैन, आम नागरिकमा एमालेप्रति थप वितृष्णा बढ्दै गएको छ ।
ओलीका सारथी पनि कस्ताकस्ता ! कहिले विष्णु रिमाल त कहिले यिनै बस्नेत । बुझ्न कठिन छैन, एमालेको योगदान, देश र जनताको भविष्यबारे यी दुवैको कुनै सरोकार छैन । सत्तामा बस्ने र तर मार्ने दुवैको प्रमुख उद्योग हो ।

जनताबाट कहिले पनि परीक्षित नभएका रिमालले त ओली प्रधानमन्त्री हुँदा उनलाई गुमराहमा मात्र राखेनन्, जनतामा भिजेका नेताहरूलाई ओलीनिकट ठिम्किन पनि दिएनन् । विचौलिया र भ्रष्टाचारीको स्वार्थमा काम गर्न ओलीको सत्ता शक्तिको सधैं दुरुपयोग गरिरहे, रिमालले । परिणाम सबैका सामु छ । तर, विगतको संगत र गल्तीबाट केही पनि पाठ नसिकेको ओलीका पछिल्ला अभिव्यक्तिबाट प्रष्ट हुन्छ ।
सायद यही कारण हुनसक्छ, बिहीबार ओलीले एक सार्वजनिक कार्यक्रममा बोलेको अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा आएका झण्डै सतप्रतिशत प्रतिक्रिया नकारात्मक छन् । अझै पनि ओली र बस्नेतहरूले दम्भ राखिरहने हो, नसुध्रिने हो र जेनजी पुस्ताको माग र भावनालाई लत्याएर अझै पनि आफ्नै अहंकारमा लिप्त बन्ने र आफूलाई नै सर्वेसर्वा ठान्ने ओली प्रवृतिलाई नत्याग्ने हो भने आगामी निर्वाचनमा एमाले कुन मुख लिएर जनतामाझ जाने हो ?
जेनजी विद्रोहको बाढीले सुधारको बाटोमा नरहेका ओलीसँगै एमाले पार्टीलाई पहिरोमा बगाउने कि त्यो बाढीबाट हाम फालेर आफू र पार्टीलाई जोगाउने भन्ने विन्दुमा एमालेका नेताहरूलाई पुर्याएको छ । अब पनि कारबाहीमा पर्छु भन्ने त्रासमा एमाले नेताहरू बस्ने हो आफूसँगै एमालेलाई पनि सिध्याउन तयार हुनुपर्छ ।
‘एमाले सच्चिने कि सकिने बाटो रोज्नुको अर्काे विकल्प छैन’
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ जति ढुंगामा ठेस लागे पनि त्यसबाट नचेत्ने खालको प्रवृत्ति नेकपा एमालेमा देखिएको टिप्पणी गर्छन् । देशमा यति ठूलो दुर्घटना हुँदा किन आफ्नै कारणले भयो भनेर एमाले नेतृत्वमा त्यसको महसुस नभएको उनी बताउँछन् ।
‘एमालेमा गोकर्ण विष्ट, योगेश भट्टराईलगायत केही नेताहरूले अब आत्मसमीक्षा गर्नुपर्छ, नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर आएका छन् । तर, एमालेभित्र केही मानिसहरू परिवर्तनलाई आत्मसाथ गर्न नसकेको जस्तो देखिन्छ । यस्तो प्रवृत्तिले एमालेमा अरू धरै दुर्घटना निम्त्याउन सक्छ, विश्लेषक श्रेष्ठले फरकधारसँग भने ।

उनले कांग्रेस, माओवादी र नेकपा एसमा केही चेत्ने प्रवृत्ति देखिएको छ । उनका अनुसार एमाले नै सत्तामा रहँदा यो घटना घटेका कारण चेत्ने प्रवृत्ति सबैभन्दा पहिला एमाले देखिनुपर्ने थियो । ‘जेनजी विद्रोह एउटा सन्देश हो । नेताहरूले अहिलेसम्म नचेत्नु, भ्रष्टाचार चरमचुलीमा पुगेको थियो । जनताहरू वाक्क भएका थिए । र, जेनजी विद्रोहलाई साथ दिए भनेर एमाले नेतृत्वले आत्मसाथ गरेको देखिएन,’ श्रेष्ठले भने, ‘एमाले या त आफ्नो प्रवृत्तिमा सुधारतर्फ जानुपर्छ हैन भने सखाप तर्फ यी दुईमध्ये कुन रोज्ने त्यसको निर्णय एमाले शीर्ष नेतृत्वले गर्नुपर्छ ।’
उनका अनुसार महेश बस्नेत मात्रै एमालेको पर्याय होइनन् । एमाले फरक मत राख्ने नेताहरूलाई सुन्ने र उनीहरूका सुझाव अनुसार नेतृत्व र पार्टीलाई सुधारतर्फ लग्नुको विकल्प छैन ।
जेनजी विद्रोहको बाढीले अहिले एमाले पार्टीलाई सुधारको बाटोमा नरहेका ओलीसँगै पार्टीलाई पनि बाढीमा बगाउने कि त्यो बाढीबाट हाम फालेर आफू र पार्टीलाई जोगाउने भन्ने विन्दुमा एमाले नेतालाई पुर्याएको विश्लेषक श्रेष्ठको भनाइ छ । उनका अनुसार ओलीका पछिल्ला अभिव्यक्तिले उनलाई सुध्रिन यो दुर्घटना नपुगेको संकेत गरिहेको छ । आफूलाई सुधार्न अझै ठूलो दुर्घटना हुनुपर्छ भन्ने संकेत ओलीका पछिल्ला अभिव्यक्तिले दिइरहेका राजनीतिक विश्लेषक श्रेष्ठ बताउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।