२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

पारस, ज्ञानेन्द्र, सन्दीप र रोहित : कप्तानमा को कति सफल ?
कप्तानमा रोहितको अर्को उपलब्धि

टी–२० आई अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि चार खेलाडीले नेपाली टिमको नेतृत्व गर्न पाएका छन् । नेपालले सन् २०१४ देखि टी–२० आई खेल्न लागेको हो । 


नेपालले ११ वर्षको अवधिमा १ सय ७ म्याच खेलिसकेको छ । त्यो १ सय ७ मध्ये रोहितकुमार पौडेलले ५० खेलमा नेपाली टिमको कप्तानी गरिसकेका छन् । र, उनी यो उपलब्धि हासिल गर्ने एक मात्र नेपाली कप्तान हुन् ।



रोहितले नेतृत्व गरेको ५०औँ खेलमा नेपालले बुधबार विश्वकप छनोटमा कुवेतसँग खेल्यो, जहाँ नेपालले सानदार जित निकाल्यो । समग्र टी–२० आईमा उनको कप्तानीमा नेपालले हालसम्म २७ मा जित, १८ खेलमा हार बेहोरेको छ । यस्तै, उनको कप्तानीमा नेपालले तीन म्याच बराबरीमा टुंग्याएको छ ।



रोहितको कप्तानीमा नेपालले दुई म्याचमा भने अंक बाँडेको छ । टी–२० आईमा उनको कप्तानीमा नेपालको जित प्रतिशत ५४ रहेको छ । रोहित सन् २०२३ मा नेपाली टिमको कप्तानमा नियुक्त भएका थिए । 

उनीपछि नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक म्याचमा कप्तानी गर्ने रेकर्ड पारस खड्काको नाममा छ ।  उनले सन् २०१४ देखि २०१९ सम्म नेपाली टिमको नेतृत्व गरे, जहाँ नेपालले ११ मा जित, १५ खेलमा हार तथा एक म्याचमा अंक बाँड्यो ।

त्यतिबेला पारसको कप्तानीमा नेपालको जित प्रतिशत ४०.७४ रहेको थियो । यस्तै, नेपालका लागि टी–२० आईमा सर्वाधिक कप्तानी गर्ने सूचीमा स्पिनर सन्दीप लामिछानेको नाम तेस्रो स्थानमा छ ।



उनले सन् २०२२ मा एक वर्ष मात्र कप्तानको जिम्मेवारी पाए । त्यो अवधिमा सन्दीपको कप्तानीमा नेपालले १८ म्याचमध्ये १३ मा जित र पाँच खेलमा हार बेहोर्यो । उनको कप्तानीमा नेपालको जित प्रतिशत ७२.२२ थियो । 

त्यस्तै, टी–२० आईमा ज्ञानेन्द्र मल्लले १२ खेलमा नेपाली टिमको कप्तानी गरे, जहाँ नेपालले ९ मा जित र तीन खेलमा मात्र पराजय बेहोर्यो । उनको नेतृत्वमा नेपालको जित प्रतिशत ७५ थियो ।

ज्ञानेन्द्रले सन् २०१९ देखि २०२१ सम्म नेपाली टिमको कप्तानी गरे । यसरी हेर्दा कप्तानको हिसाबमा अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी खेलमा रोहितले नेपाली टिमको नेतृत्व गरेका छन् । र, उनको कप्तानीमा टिमको प्रदर्शन पनि सन्तोषजनक नै छ । २३ वर्षीय रोहित अझै लामो समय नेपाली टिमको नेतृत्व गर्ने सम्भावना बलियो छ । 

हाल उनी नेतृत्वको नेपालले ओमानमा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया तथा इएपी छनोट खेलिरहेको छ, जहाँ नेपाल लगातार दोस्रो जितको खोजीमा छ । दोस्रो खेलमा नेपालले जापानको सामना गर्नेछ । नेपाल र जापानबीचको खेल शुक्रबार अपरान्ह ४ः१५ देखि सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा कुवेतविरुद्ध ५८ रनको सानदार जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । नेपाली टिम जापानविरुद्ध पनि सहज जित निकाल्न चाहन्छ । यदि जापानलाई हराएमा नेपालले अर्को इतिहास रच्ने छ । हालसम्म नेपाल र जापानले अन्तर्राष्ट्रिय क्रिकेटमा एकअर्काको सामना गरेका छैनन् । 

यी दुई टिम अब शुक्रबार पहिलो भेटमा उत्कृष्ट क्रिकेट खेलेर अविस्मरणीय बनाउन चाहन्छन् । शुक्रबारको खेल जितेमा नेपाल अपराजित सुपर सिक्समा पुग्नेछ । त्यो समीकरण बनेमा नेपालले सुपर सिक्समा पहिलो खेलमा १२ अक्टोबरमा समूह ‘ए’ को विजेतासँग खेल्नेछ ।

समूह ‘ए’ बाट यूएई विजेता बन्ने सम्भावना बलियो छ । सुपर सिक्समा हरेक टिमले चारवटा म्याच खेल्न पाउने छन् । र, तालिकाको शीर्ष तीनमा रहने टोलीले आउँदो वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् । 

  • प्रकाशित मिति : २४ असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया