पछिल्लो समय सुनचाँदी दुवैको मूल्य ऐतिहासिक उचाइमा छ । विगत दुई वर्षमा सुन र चाँदी दुवैको मूल्य शत प्रतिशतभन्दा धेरैले बढिरहेको छ । निरन्तर उकालो लागेको सुनको मूल्य शुक्रबार भने ४ हजार २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार सोही सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो । शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सुनको मूल्य घटे पनि चाँदीको आज कायम भएको मूल्य हालसम्मकै उच्च हो ।
हरेक दिन बजारमा सुनको मूल्य थपघट भइरहेको हुन्छ । नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यबाटै निर्धारण हुन्छ । नेपाली बजारको मागले मूल्यमा खासै परिवर्तन हुँदैन । नेपालमा सुनको मूल्य निर्धारण सुनचाँदी व्यवसायी महासंघले तय गर्ने गरेको छ । यसका लागि महासंघले पाँच जनाको दर निर्धारण समिति बनाएको छ । उक्त समितिले हरेक दिन सुन–चाँदीको मूल्य निर्धारण गर्छ ।
अन्तर्राष्ट्रिय बजारमा हरेक दिन बिहान साढे १० बजे कायम भएको प्रतिऔंस सुनको मूल्य, भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर सुनको मूल्य तय गरिन्छ । बैंकहरूले आफ्नो खर्च, १० प्रतिशत भन्सार शुल्क र ०.५० प्रतिशत नाफा राखेर सुन बिक्री गर्दै आएका छन् । त्यसपछि व्यवसायीले किनेर आफ्नो ०.५० प्रतिशत फाइदा राखेर साना व्यवसायीलाई बिक्री गर्छन् । बैंकबाट सुनचाँदी व्यवसायीले किन्दा व्यवसायीले ग्राहकलाई बेच्दा तथा ग्राहकले पुनः व्यवसायीलाई बेच्दा पनि प्रत्येक चरणमा कर लाग्नेछ ।
यसअघि १० लाख रुपैयाँभन्दा बढीको कारोबारमा मात्र यस्तो कर लाग्ने व्यवस्था थियो । तर, आर्थिक वर्ष २०८२/३ को बजेटसँगै जुनसुकै मूल्यमा गरिने कारोबारमा समेत यो कर लाग्ने भएको हो । अन्तर्राष्ट्रिय बजार मूल्यलाई नेपाली रुपैयाँमा रूपान्तरण गरेपछि सुन आयातमा लाग्ने भन्सार दर तथा बैंक र सुन व्यवसायीको नाफा जोडेर मूल्य तोकिन्छ । अन्तर्राष्ट्रिय बजारमा छिनछिनमा सुनको मूल्य निर्धारण हुने भए पनि नेपालमा भने दिनको एक पटक मात्र हुने गर्छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा घटबढ भएपछि मात्र त्यसको प्रभाव नेपालमा पर्ने गर्दछ । अर्थात् अन्तर्राष्ट्रिय बजारअनुसार नै नेपालमा सुनको मूल्य निर्धारण हुने गर्छ । अमेरिका विश्वमा सबैभन्दा बढी सुन सञ्चय भएको देश भएकाले न्यूयोर्कको न्यूयोर्क मर्चेन्ट एक्सचेन्ज (एनवाईएमईएक्स) र कम्बोडिटी एक्सजेन्ज (सीएमईएक्स) मा किनबेच हुने भाउले सबैभन्दा बढी प्रभाव पार्दछ ।

त्यसपछि लण्डन मेटल एक्सचेन्ज र लण्डनको बुलियन मार्केटको भाउ, हङकङको ‘चाइनिज गोल्ड एण्ड सिल्भर एक्सचेन्ज’ गोल्ड एक्सचेन्जको भाउ, ‘दुबई गोल्ड एन्ड कम्बोडिटी एक्सचेन्ज’ दुबईको कारोबारको मूल्यबाट सुनको बजारमा हुने उतारचढावले विश्वको सुनको भाउ निर्धारण हुन्छ ।
यस्तै, अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मरत्न बज्राचार्य बताउँछन् । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ ।
अमेरिकी केन्द्रीय बैंक (फेड) को ब्याजदर, अमेरिकी डलरको प्रभुत्व कमजोर बनाउन चीनले सुनलाई महत्त्व दिनु, विश्वका केन्द्रीय बैंकले विगतमा उच्च दरले खरिद बढाउनु, भूराजनीतिक द्वन्द्व र आर्थिक गतिविधिका कारण पनि सुनको मूल्य घटबढ भइरहन्छ ।
पछिल्लो समय सुनचाँदीको मूल्य विश्वव्यापीरुपमै लगातार वृद्धि हुँदै जाँदा नेपाली बजारमा यसको अभाव चुलिन थालेको छ । अहिले नेपाली बजारमा सुनचाँदी सहजै पाउन कठिन भएको स्वीकार गर्छन्, उनी । उनी भन्छन्, ‘अब तिहार पनि नजिकिँदै छ । त्यससँगै सुनको मूल्य अझ बढ्ने अनुमानले गर्दा धेरै मानिसहरू सुन किन्न उत्साहित भएका छन् । यही कारण बजारमा माग ह्वातै बढेर अभाव देखिएको हो ।’

सुनसँगै मूल्य पनि निरन्तर वृद्धि हुने प्रक्षेपणपछि चाँदीको पनि अभाव देखिन थालेको हो । जर्तिसहितको गहना केही मात्रामा उपलब्ध भए पनि बेरुवालगायत सुन पाउन मुस्किल परेको उनी बताउँछन् । बैंकहरूले सुन आयातका लागि प्रतीतपत्र खोल्दा पहिले सजिलै उपलब्ध हुने सुन ल्याउन अहिले समय लाग्न थालेको छ । राष्ट्र बैंकले सुन आयातमा कोटा तोकेको हुन्छ । जसले जति मन लाग्यो त्यति ल्याउन पनि पाइँदैन ।
नेपालमा सुनको आयात वाणिज्य बैंकहरूमार्फत हुने गर्छ । चाँदी भने व्यवसायीहरू आफैले आयात गर्छन् । तिहारपछि सुनचाँदीको कारोबारमा सहज हुने उनको भनाइ छ । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पुर्याएको छ । सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ किलोग्राम कायम गरिएको छ । यसअघि आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोग्राम थियो । यो सँगै बजारमा अब सुनचाँदीको अभाव नहुने उनी बताउँछन् । हाल सुनचाँदीको मूल्य रोकिने कुनै सङ्केत देखिएको छैन । नेपाली बजारमा छिट्टै सुनको मूल्य तीन लाख रुपैयाँ पुग्ने प्रक्षेपण हुन थालेको छ ।
यो पनि :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।