२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

देशमा विद्रोह भयो, एमालेमा कहिले ?
भोलिको पुस्ताले सोध्नेछ- कमरेडहरू, किन चुप बस्नुभयो ?

जनेजी आन्दोलनपछि अधिकांश राजनीतिक दलका नेता–कार्यकर्ता केही समय भूमिगतजस्तै बने । २३ भदौको घटनापछि आक्रोशित बनेका जेनजी आन्दोलनकारीले पार्टी कार्यालय र नेताका घर तथा सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गर्नुका साथै नेतालाई जहाँ भेटे त्यहीँ कुटपिट गर्न थालेपछि उनीहरू भूमिगत हुन बाध्य भएका थिए ।


प्रदर्शनकारीबाट ज्यान जोगाउन भागेका नेताहरू माहोल शान्त बनेसँगै खुल्न थालेका छन् ।  उनीहरू आत्मसमीक्षा गर्दै आफू र आफ्नो पार्टीलाई जेनजीको माग र भावनाअनुरूप बदल्ने प्रतिबद्धता पनि जनाउन सुरु गरेका छन् ।



नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीभित्र यस्ता आवाज बढी सुनिएका छन् । ती दलका नेतृत्वमा थोरै भए पनि आत्मग्लानि र आत्मसमीक्षा गरेरअघि बढ्नुपर्छ भन्ने भाव झल्किन्छ । तर, देशको दोस्रो ठूलो दल एमालेमा भने माहोल छैन । बरु एमाले वर्तमान सरकार र जेनजीसँग पाैठेजोरी खेल्न योजना बनाइरहेको अनुभूति भइरहेको छ ।



गत ११ असोजमा एमालेनिकट ‘राष्ट्रिय युवा संघ नेपाल’ले आयोजना गरेको कार्यक्रम र २३ असोजमा एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका नेताहरूको भाषणले एमाले सुधारको बाटोमा जाने पक्षमा छैन भन्ने आशंकालाई पुष्टि गर्छ । जेनजी आन्दोलनपछि योगेश भट्टराई, गोकर्ण विष्ट, गोकुल बास्कोटालगायत केही एमाले नेताले पार्टीमा नेतृत्व परिवर्तन र सुधारको आवश्यकबारे कुरा नउठाएका पनि होइनन् । तर, अहिले अध्यक्ष केपी शर्मा ओलीको रक्षक बनेका एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अभिव्यक्ति र क्रियाकलापले ती आवाजलाई छायाँमा पारेका छन् । ताजा स्थितिमा एमाले भनेकै महेश बस्नेत हो भन्ने गरी उनी प्रस्तुत भइरहेका छन् । ओलीलाई आफ्नै क्षेत्रमा शरण दिएका बस्नेतले अहिले एमाले पार्टीको भन्दा पनि ओलीको बचाउमा उत्रिएका छन् ।  

आफ्नै सरकार रहेको बेला भएको जेनजी आन्दोलन र त्यसले देशमा यति ठूलो दुर्घटना निम्त्याउँदासम्म पनि ओलीको चेत अझै खुलेको देखिँदैन । बरु उल्टै उनी वर्तमान सरकार र जेनजी आन्दोलनलाई अवमूल्यन गरिरहेका छन् । जेनजी आन्दोलनपछि अन्य दलका केही नेताहरुको चेत खुलेपनि एमाले नेतृत्वमा त्यसले खासै प्रभाव परेको देखिँदैन । एमाले अध्यक्ष ओलीका पछिल्ला भाषण सुन्दा यस्तो लाग्छ उनी सुध्रिनलाई योभन्दा पनि अझै ठूलो आन्दोलन हुनुपर्छ, देशले अझै ठूलो क्षति ब्यहोर्नुपर्छ र योभन्दा पनि धेरैले ज्यान गुमाउनुपर्छ । 

ओली र बस्नेतका पछिल्ला भाषण तथा अभिव्यक्ति आम जनमानसमा पार्टी र एमाले नेतृत्वप्रति थप आक्रोश र वितृष्ण जगाउने खालका छन् । एमालेभित्र ओलीविरुद्ध बोल्नेलाई कारबाही गर्ने प्रवृत्ति रहेकाले यति ठूलो बबन्डर हुँदा पनि पार्टी विरोधका आवाज उठ्न नसकेको अनुमान गर्न कठिन छैन ।

ओलीको विरोध गरेकै कारण डा. भीम रावलले जीवनका ५० वर्ष खर्चेको पार्टीबाट हात धुनुपर्याे, ओली प्रवृत्ति गलत भयोभन्दा स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले कारबाही भोग्नुपर्‍यो ।  एमालेमा ओलीको गुनगान गाउने र ओलीलाई नै सर्वाेपरी ठान्नले स्थान पाउँछन् । तर, जो ओली र उनका निर्णयको विपक्षमा अभिन्छ त्यो भीम रावल बन्छ भन्ने भाष्य मजबुत बनेको छ । त्यसकै कारण हुनसक्छ ओलीकै कारण देशले यति ठूलो क्षति ब्यहोर्दा पनि उनको विरुद्धमा एमालेभित्र आवाज उठ्न सकेको छैन । 



राजनीतिक विश्लेषक श्याम श्रेष्ठ जति ढुंगामा ठेस लागे पनि त्यसबाट नचेत्ने प्रवृत्ति एमालेमा देखिएको टिप्पणी गर्छन् । ‘कांग्रेस, माओवादी र नेकपा एसमा केही चेत्ने प्रवृत्ति देखिएको छ । तर, एमाले नै सत्तामा रहँदा यो घटना घटेका कारण चेत्ने प्रवृत्ति सबैभन्दा पहिला एमाले देखिनुपर्ने थियो । एमाले नेतृत्वले अब प्रवृत्तिमा सुधार र सखापको बाटोमध्ये रोज्दा उपयुक्त हुन्छ,’ विश्लेषक श्रेष्ठले भने ।  

जेनजी आन्दोलनले स्थापित राजनीतिक नेतृत्व र संरचनामाथि गहिरो प्रश्न उठाइरहँदा एमालेभित्र परिवर्तनको माग नउठ्नु नेतृत्वको अंकुश मात्र नभइ नयाँ विचारप्रति प्रतिरोधी मानसिकताको पनि परिणाम हो ।

एमालेभित्र बहस, आलोचना र आन्तरिक लोकतन्त्रको अभावले गर्दा सुधार सम्भावना निरन्तर धूमिल बन्दै गएको छ । यदि यस्तो अवस्था दीर्घकालसम्म जारी रहेमा एमाले केवल व्यक्तिकेन्द्रित संरचना बनेर नयाँ पुस्ता र जनभावनाबाट थप टाढिँदै जाने खतरा प्रस्ट देखिन्छ, जसको असर निकट भविष्यको राजनीतिमा गम्भीर हुन सक्छ ।

  • प्रकाशित मिति : २४ असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया