गत वर्षको दसैँ नेपाली फिल्म उद्योगका लागि साँच्चिकै ऐतिहासिक बन्यो । केवल चाडपर्वको रौनक मात्र होइन, चलचित्र क्षेत्रमा पनि दर्शकहरूको भीडले हलहरू भरिए, एकपछि अर्को फिल्म ‘हाउस फुल’ भएपछि टिकट पाउनसमेत मुस्किल भयो ।
फिल्मकर्मीहरूबीच करोडौंको व्यापार गर्ने प्रतिस्पर्धा सुरु भयो । दर्शकहरू गाउँबाट फर्कँदै गर्दा फिल्म हेर्न हलसम्म तानिए, र त्यो समयमा प्रदर्शनमा आएका तीन वटा फिल्मले राम्रो कमाइ मात्र गरेनन्, नेपाली सिनेमाको आत्मविश्वास पनि बढाए ।
तर यस वर्षको दसैँमा भने फिल्म उद्योगमा उत्साह देखिएन । घटस्थापना र फूलपाती आउनु केही दिन अघि मात्रै देशमा ठूलो राजनीतिक घटना घट्न पुग्यो । बढ्दो प्रविधिको उपयोगको बेला फिल्मका लागि प्रचारको मुख्य माध्यम बनिसकेको सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धले चलचित्रकर्मीलाई झनै अप्ठेरोमा पार्यो। दर्शकको ध्यान राजनीतिमा केन्द्रित भइरहँदा चलचित्रको चर्चा सुस्त रहन पुग्यो ।
यद्यपि, दसैँको लामो बिदाको फाइदा उठाउँदै केही चलचित्र भने प्रदर्शनमा आएका छन्। समीर भट्ट, धिरज मगरजस्ता नयाँ पुस्ताका कलाकारदेखि लिएर हरिवंश आचार्यको फिल्मसम्म हलमा प्रदर्शनरत छन् । बाढीपछिको जनजीवन सामान्य हुँदै गएसँगै हलमा दर्शक पनि देखा पर्न भने थालेका छन् ।
यस वर्ष दसैँको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३ गतेदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका हुन । चलचित्र विकास बोर्डको अनुसार चलचित्र ‘बलिदान’ ले असोज २० सम्मको रेकर्ड हेर्दा तीन करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ व्यापार ग्रस कलेक्सन गरेको हो भने उक्त चलचित्रले एक लाख १९ हजार ५६१ टिकट बिक्री भएको थियो । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारको अभिनय रहेको छ ।
यस्तै अभिनेता हरिवंश आचार्यको शीर्ष भूमिका निर्वाह रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले तीन करोड २१ लाख ७० हजार १६० रुपैयाँ व्यापार ग्रस कलेक्सन गरेको छ । यस चलचित्रको ९० हजार ९४७ टिकट बिक्री भएका छन । दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
फूलपातीकै अवसरमा प्रदर्शन भएको चलचित्र ‘माइतीघर’ ले ती दुई फिल्मभन्दा कम अर्थात् दुई करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ व्यापार ग्रस कलेक्सन गरेको छ । उक्त चलचित्रको ६८ हजार ३२ टिकट बिक्री भयबापत सो व्यापार भएको हो । रोहित अधिकारीले निर्माण तथा मिलन तामाङ निर्देशनमा बनेको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धिरज मगर, प्रकाश सपुतलगायत कलाकारको अभिनय छ ।
सरसरती हेर्दा चलचित्र माइतीघरमा फिल्म ‘माइतीघर’को मूल समस्या प्रेममै केन्द्रित देखिन्छ । जहाँ दुई पात्रबीचको प्रेमलाई गहिरो रूपमा स्थापित गर्न नसक्दा उनीहरूले भोगेको पीडा, तड्पन र आँसुले दर्शकमा खासै प्रभाव पार्न सकेन । यस चलचित्रमा तामाङ संस्कृतिको लवजभन्दा किराँती प्रभाव बढी देखिन्छ। यदि तामाङ भाषाशैली, संस्कृति र सौन्दर्यलाई राम्ररी मिसाउन सकिएको भए, फिल्म ‘मासिन्या’ जातिको हराउँदै गएको पहिचानको सशक्त दस्ताबेज बन्न सक्थ्यो कि भन्ने आशा देखिएको थियो ।
यस्तै धेरै आशा गरिएको चलचित्र ‘बलिदान’मा निर्देशक सेनले यस पटक फेरि निकै ठूलो क्यानभासमा ‘बलिदान’को चित्र कोर्ने कोसिस गरेका छन् । तर, फिल्मको क्यानभास मात्रै ठूलो देखिन्छ, त्यसमा रङ लगाउने भाँती भने मिलेको देखिन्न । फिल्ममा भिल्लमगढ भन्ने ठाउँको कल्पना गरिएको छ । भिल्लमगढमा बस्दै आएको आमा छोराको कथा फिल्ममा समेटिएको छ । तर, फिल्ममा एकसाथ थुप्रै विषय समेट्ने प्रयास गरिएको देखिन्छ । यहाँ आमा छोराको सम्बन्ध मात्रै होइन, राजनीति र पहिचानको लडाइँ छ । भिल्लमगढका मानिसहरूमाथिको शोषण छ, सत्ताको लोभ अनि धरती माताको विषय छ । तर, यी सबै विषयलाई कथामा उन्न नजान्दा कता कता ‘बलिदान’को यो ठूलो क्यानभासको सौन्दर्य हराएको हो कि भन्ने बुझ्न सकिन्छ ।
त्यस्तै हरिवंश आचार्य स्टारर सोसल–कमेडी ड्रामा ‘हरिबहादुरको जुत्ता’ले भने स्वदेश मात्र होइन, विदेशमा पनि सुखद कमाइ गरिरहेको देखिएको छ । नेपालको वर्तमान परिस्थितिसँग फिल्म एकदमै सान्दर्भिक छ । जेनजी आन्दोलनको सन्दर्भ पनि त्यहाँ छ ।
दीपेन्द्र के खनाल निर्देशित यो फिल्मले नेपालमा पनि राम्रो कमाइ गरिरहेको देखिएको छ । रिलिजको सातौँ दिनसम्म शीर्ष स्थानमा रहेको यो फिल्मलाई दसौँ दिनसम्म भने बलिदानले उछिनेको छ । सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो फिल्म यसको कथावस्तु, गीतसंगीत र सशक्त अभिनयले चर्चामा छ ।
पछिल्ला वर्षमा दसैँमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएपछि यो दसैँमा यी तीन चलचित्र प्रदर्शनमा आएका हुन् । तर, पोहोरको दसैँको तुलनामा यस पटक चलचित्रहरूको व्यापार निकै निराशाजनक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।