नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले सत्ता गठबन्धनसँग सहकार्य गर्दै प्रदेश सभाको सभामुख पदमा आफ्नो दाबी गर्ने निर्णय गरेको छ ।
इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो ।
गत २३ भदौमा राप्रपाबाट निर्वाचित तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।
रिक्त पदमा नेपाली कांग्रेसले गठबन्धनसँगको सहकार्यलाई आधार बनाएर सभामुख पदमा अधिकार पूर्वक दाबी गर्ने रणनीति लिएको हो । बैठकमा विपद् व्यवस्थापनसम्बन्धी विषयमा पनि महत्वपूर्ण निर्णय गरिएको छ ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउँदै स्थानीय सरकारसँग समन्वय गरेर तत्काल कार्यान्वयन गर्ने सहमति भएको छ । साथै, आउँदो पूरक बजेटसम्बन्धी विषयमा थप छलफल गरी संसदीय दलले साझा धारणा बनाउने निर्णय पनि बैठकमा गरिएको छ ।
यस निर्णयलाई बागमती प्रदेशको आगामी राजनीतिक समीकरणमा महत्वपूर्ण संकेतको रूपमा हेरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।