२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

‘वरिष्ठ बलराम’मा आमने-सामने दयाहाङ र विजय

नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा प्रिय जोडीहरू मध्ये एक हुन्– दयाहाङ राई र विजय बराल । ‘मण्डला थिएटर’को संघर्ष कालदेखि सँगै अभिनय यात्रा सुरु गरेका यी दुईले ‘कबड्डी’ सिरिजदेखि ‘जारी’सम्म दर्जनौँ सफल फिल्ममा घनिष्ठ मित्रका रूपमा दर्शकको मन जितिसकेका छन् ।


तर, यसपटक कथा फरक छ, फरक देखिँदै छ दृश्य पनि । तिहारको अवसरमा आउँदो ६ कात्तिकदेखि प्रदर्शनमा आउने चलचित्र‘वरिष्ठ बलराम’मा दयाहाङ र विजय एक–अर्काको विपक्षी भूमिकामा देखिन लागेका हुन् ।



उक्त फिल्मको ‘न्यौली बनैमा’ बोलको गीत केहीअघि सार्वजनिक भएको थियो, जसमा विजय बराल अभिनेत्री समृद्धि अर्यालसँग जोडी बाँधिरहेका देखिन्छन्, भने दयाहाङ त्यस गीतमा देखिँदैनन् । अनि, ट्रेलरमा भने दयाहाङको उपस्थिति बलियो देखिएको छ । यसले  दर्शकमाझ एउटा प्रश्न पनि उठाएको छ– फिल्मको मुख्य नायक को हो ?

दयाहाङको स्थापित छवि र भूमिकाको गहिराई हेर्दा यो फिल्ममा उनलाई मुख्य पात्र मान्ने सम्भावना धेरै छ । तर, पछिल्ला वर्षमा ‘पूर्ण बहादुरको सारङ्गी’बाट सफल मुख्य भूमिकामा उदाएका विजय बराल पनि अब दयाहाङकै बराबरीमा उभिसकेका छन् ।



फिल्मको शीर्षक पात्र ‘बलराम’ नामले पनि जिज्ञासा थपेको छ । यो नाम मंगोल समुदायमा विरलै पाइन्छ, तर क्षेत्री–ब्राह्मण समुदायमा सामान्य छ । त्यसैले ‘बलराम’ को भूमिका कसले निभाएको होला भन्ने विषयमा दर्शक उत्सुक भने बनेका छन् ।

निर्माण पक्षले विजय र दयाहाङबीचको द्वन्द्वलाई सस्पेन्समा राखे पनि फिल्ममा उनीहरूबीचको नोकझोक र टकराव आकर्षणको मुख्य केन्द्र बन्ने निश्चित छ । दर्शकका लागि यो मित्रता र प्रतिस्पर्धा बीचको भिडाई हेर्न रोमाञ्चक हुनेछ ।

हुन पनि पर्दामा सधैं घनिष्ठ साथीका रूपमा प्रस्तुत हुने यी कलाकारहरू यसपटक भावनात्मक टकराव, विचारगत विरोध र व्यक्तिगत अहंकारको द्वन्द्वमा देखिँदैछन् । फिल्मले उनीहरूबीचको मित्रतालाई कसरी एक–अर्काविरुद्ध उभ्याउँछ भन्ने प्रतीक्षा दर्शकमाझ चुलिएको हो ।

अब यी दुई बीचको नोक झोकसँगै संवाद र प्रदर्शनले हास्य, नाट्य र भावनात्मक तिक्तताको समिश्रण ल्याउने पक्का छ ।  ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । फिल्ममा दयाहाङ र विजयसँगै, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारहरूको अभिनय छ ।



पटकथा महेश दवाडीले लेखेका हुन् भने कथा र सम्पादन निर्देशक पौडेलले नै गरेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा र आन्भी फिल्म्सको सहकार्यमा बनेको यो फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् ।

फिल्ममा मनकृष्ण महर्जनको छायाङ्कन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामोको नृत्य निर्देशन रहेको छ । काठमाडौं उपत्यकामा फिल्मको वितरण डीसीएनले र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले गर्ने छन् ।

 

  • प्रकाशित मिति : २५ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया