दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को मिति नजिकिएसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको निर्माण कार्यले पनि तीव्रता पाएको छ ।
फ्लडलाइट जडान र प्याराफिटको कामले तीव्रता पाएको हो । निर्माण कम्पनीका अनुसार प्याराफिटको सबै काम एक साताभित्र सकिनेछ । यस्तै, ६ वटा फ्लडलाइट एक महिनाभित्र जडान गरिसक्ने योजना छ । एनपिएल सुरु हुने मितिसम्म मैदानको सबै काम सकिने शहरी विकासमन्त्री कुलमान घिसिङको दाबी छ ।
त्रिवि मैदानमा अहिले १० हजार दर्शकलाई अटाउन सक्ने प्याराफिट निर्माण भइसकेको छ । टियू नेपालको एक मात्र क्रिकेट रंगशाला हो । हालसम्म अरू स्थानमा निर्माण भएका मैदानले रंगशालाको आकार लिन सकेका छैनन् ।

त्रिवि रंगशालालाई थप विस्तार गर्न दोस्रो फेजको काम एकैपटक गर्ने सरकारको तयारी छ । सबै काम सक्दा ३० हजार दर्शक अट्ने रंगशाला बन्नेछ । नेपालले अन्तर्राष्ट्रियस्तरमा क्रिकेटमा लगातार राम्रो गरिरहेकाले सरकारलाई रंगशालाको काम छिटो सक्नुपर्ने दबाब बढेको छ । दोस्रो चरणको कामको लागि पनि छिट्टै टेन्डर प्रक्रियामा जाने मन्त्री घिसिङले जानकारी दिए ।
त्रिवि रंगशालाको काम गत असार मसान्तमा सक्ने योजना थियो । तर, निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै निर्धारित समयमा रंगशालाको काम सकेन । एक महिनाभित्र भने जसरी पनि रंगशालाको काम सम्पन्न गर्न सरकारले निर्देशन दिएको छ । यता नेपाल क्रिकेट संघ (क्यान) पनि रंगशालाको काम छिटो दबाब दिन थालेको छ ।

क्यानले आयोजना गर्ने एनपिएल मंसिर १ देखि सुरु हुने तालिका छ । यद्यपि रंगशाला निर्माणको काम सकिन अझै एक महिना लाग्ने भएकाले निर्धारित समयमै एनपिएल सुरु हुनेमा अन्योल कायमै छ ।
यदि लिग सुरु हुँदासम्म फ्लड लाइटको काम सकिएमा राति पनि म्याच खेलाउने क्यानको योजना छ । आसन्न संस्करणको एनपिएलमा पनि ८ टिमले सहभागिता जनाउने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।