आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्समा आज नेपाली टिम यूएइसँग भिड्दै छ । खेल अपरान्ह ४ः१५ देखि अलअमरात क्रिकेट ग्राउन्डमा सुरु हुनेछ ।
नेपाल र यूएई दुवै टोली लागि यो खेल अत्यन्तै महत्वपूर्ण छ, किनभने जितसँगै विश्वकपको यात्रा अझ नजिक पुग्नेछ । ग्रुप स्टेजमा दुवै टिम अपराजित रहँदै समूह विजेताको रूपमा सुपर सिक्समा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
नेपालले समूह चरणमा कुवेतलाई ५८ रन र जापानलाई ५ विकेटले हरायो । उता यूएईले कतारविरुद्ध ७ विकेट र मलेसियाविरुद्ध ६ विकेटको जित निकाल्यो । पछिल्लो समय नेपाल उत्कृष्ट लयमा छ ।

विश्वकप छनोटअघि नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिज २–१ ले जित्यो । त्यसपछि नेपालले विश्वकप छनोटको वार्मअप म्याचमा पनि लगातार जित निकाल्यो ।
उता यूएई पनि उत्तिकै आत्मविश्वासमा छ । उसले हालै एसिया कप खेलेको थियो । र, यूएईले ओमान भ्रमणमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच सधैं कडा प्रतिस्पर्धा देखिँदै आएको छ ।
अंक, प्रदर्शन र दबाब तीनै पक्षबाट यी दुई टोलीबीचका खेल प्रायः रोमाञ्चक हुने गरेका छन् । ‘हेड टु हेड’ रेकर्डमा पनि नेपाल र यूएई बराबरीमो स्थितिमा छन् । हालसम्म नेपाल र यूएईबीच १० टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा दुवै टोलीले पाँच–पाँच खेलमा जित दर्ता गरेका छन् । यो तथ्यांकले पनि नेपाल र यूएईबीचको विगत कति प्रतिस्पर्धात्मक थियो भन्ने प्रष्ट पार्छ ।
पछिल्लो पाँच खेलमा भने यूएईविरुद्ध नेपाल केही अगाडि छ । नेपालले ती पाँच खेलमध्ये तीनमा यूएईलाई हराउँदै हालको फर्ममा आफू बलियो प्रतिद्वन्द्वी रहेको सन्देश दिएको छ ।
यूएई उत्कृष्ट प्रदर्शन गर्ने पाँच नेपाली खेलाडी
यूएईविरुद्ध टी–२० आईमा उपकप्तान दीपेन्द्र सिंह ऐरी सर्वाधिक सफल नेपाली ब्याटर हुन् । उनले हालसम्म यूएईविरुद्ध ९ इनिङ्स खेलेका छन्, जसमा दीपेन्द्रले १२९.७७ को स्ट्राइक रेटमा २३१ रन बनाएका छन् ।

उनी नेपालकोतर्फबाट यूएईविरुद्ध सबैभन्दा बढी रन बनाउने सूचीको शीर्ष स्थानमा छन् । दीपेन्द्र आइतबारको खेलमा पनि यूएईविरुद्ध विगत प्रदर्शन दोहोर्याउन पूरा कोसिस गर्ने छन् ।
यस्तै, यूएईविरुद्ध टी–२० आईमा उत्कृष्ट विगत भएका अर्का नेपाली ब्याटर हुन्, आसिफ शेख । उनले हालसम्म यूएईविरुद्ध सात इनिङ्स खेलेका छन्, जसमा आसिफले दुई अर्धशतकको मद्दतमा १९८ रन बनाएका छन् ।
यूएईविरुद्ध उनको उच्च स्कोर अविजित ६४ रन हो । आसिफ यूएईविरुद्ध टी–२० आईमा सर्वाधिक अर्धतकीय पारी खेल्ने नेपाली ब्याटरसमेत हुन् । हालसम्म यूएईविरुद्ध उनले दुई अर्धशतकीय इनिङ खेलेका छन् ।
बलिङतर्फ यूएईविरुद्ध सर्वाधिक उत्कृष्ट रकेर्ड तीव्र गतिका बलर अविनाश बोहराको नाममा छ । उनले हालसम्म यूएईविरुद्ध आठ इनिङ्समा ८.५१ को इकोनमीमा १४ विकेट लिएका छन् ।

यूएईविरुद्ध अविनाशको उत्कृष्ट बलिङ २० रन दिएर तीन विकेट लिनु हो । उनी हाल भने टिममा छैनन् । यूएईविरुद्ध सर्वाधिक विकेट लिने सूचीमा स्पिनर सन्दीप लामिछाने दोस्रो स्थानमा छन् ।
उनले हालसम्म यूएईविरुद्ध ६ इनिङ्स खेलेका छन्, जसमा सन्दीपले ५.८१ को इकोनमीमा ९ विकेट लिएका छन् । यूएईविरुद्ध उनको उत्कृष्ट बलिङ १४ रन दिएर २ विकेट लिनु हो ।
सन्दीपले यूएईविरुद्ध अन्तिमपटक सन् २०२३ मा खेलेका थिए । उनी २ वर्षपछि यूएईविरुद्ध थप सुधारिएको प्रदर्शन गर्दै नेपाललाई विश्वकप नजिक पुर्याउन चाहन्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।