‘स्टान्ड अप कमेडियन’ सिम्रन भन्छिन्ः  महिलाले ननभेज जोक भन्न हुँदैन भन्नेलाई मेरो भिडियो पेचिलो जवाफ हो

स्टान्ड अप कमेडीको नाममा दुई चार ‘अश्लिल’ शब्द भनेर अहिले चर्चामा आएकी विराटनगरकी सिम्रन पाण्डे केही समयपछि अमेरिकामा हुनेछिन् । उनले अंग्रेजी भाषा परिक्षा आइइएलटिएसमा सात स्कोर गरेकी छिन् र दुई कलेजको अफर लेटर पनि पाइसकेकी छिन् । 

त्यही आइइएलटिएसको तयारीका लागि काठमाडौंमा कोठामा एक्लै बस्दा सिम्रनले जीवनमा ठूलाठूला युटर्न भोगिन् । उनको ‘ब्रेकअप’ भयो र त्यही ब्रेकअपका कारण उनी युट्युबमामात्र होइन, सामाजिक सन्जालमा पनि भाइरल भइरहेकी छिन् । 

उनको नाममा बनिरहेका छन्, दर्जनौँ ट्रोलहरु । 

र, यसको कारण हो, उनको स्टान्ड अप कमेडीको भिडियो छोटो समयमा नै निकै धेरै हेरिनु । 

कामको सिलसिलामा झापामा रहेकी सिम्रनसँग हामीले पहिलो प्रश्न गर्यौँ, ‘खासमा तपाईंको भिडियोमा कमेडी चाहिँ कहाँनेर छ ?’

एकैछिन अकमकाइन् सिम्रन । यो प्रश्नलाई थाँती राखेर हामीले उनलाई सहज होस् भन्नका लागि अर्को प्रश्न गरिहाल्यौँ, ‘अहिले त भाइरल हुनु भएको छ, कस्तो लागिरहेको छ ?’



‘मैले सोचेको त थिइनँ, यस्तो हुन्छ भनेर,’ उनी हाँसिन्, ‘मान्छेले मन पराउँदा त खुसी लागेको छ, तर त्यही कुरामा क्यारेक्टरलाई जज गरेका छन्, त्यसले चाहिँ दुखी बनाएको छ ।’ 

त्यसपछि उनले जोडिन्, ‘म आफैंलाई अचम्म लागिरहेको छ, भिडियोको सन्दर्भ लिएर नकारात्मक आलोचना भइरहेको छ । मान्छेहरु त मेरो आलोचना पो गरिरहेका छन् ।’ तर, आलोचना भयो भनेर सिम्रन चिन्तित छैनन् । ‘समर्थन गर्ने पनि त छन्,’ उनले भनिन् ।



तर, के कमेडी भनेको त्यस्ता शब्द बोल्नु हो ? हामीले फेरि यो प्रश्न दोहोर्यायौँ । 

‘साथीभाइबीच सेयर हुने सामान्य कुरालाई त मैले बोलेकी छु,’ उनले भनिन्, ‘यो समाज दुई शब्दमा अल्झिएर यति ठूलो इस्यु बनाइन्छ होला भन्ने मैले सोचेकी पनि थिइनँ ।’

भिडियोमा जुन कन्फिडेन्सका साथ सिम्रनले कमेडी गरेको दाबी गरिरहेकी छिन्, त्यो कन्फिडेन्स उनको पहिलो भिडियो भएकाले होइन । ‘त्यसअघि पनि ५ वटा अरु पर्फमेन्स गरिसकेकी थिएँ,’ उनले भनिन् । 

खासमा सिम्रन ब्रेकअपको पीडा बोकेर काठमाडौंमा बसिरहेकी थिइन् । त्यहीबीच उनलाई सुरक्षा मल्लले सुझाइन्, ‘गएर कमेडी सर्कलमा अडिसन दिनु नि ।’ सिम्रन गइन्, छानिइन् । त्यसपछि उनको छैटौँ प्रस्तुति कमेडी सर्कलले युट्युबमा राख्यो ।

सायद योबीच उनको कन्फिडेन्स निकै बढेको थियो, अहिले भाइरल भइरहेको उनको भिडियोमा उनले सहजै पचाउन नसकिने अनेक शब्द प्रयोग गरेकी छिन्, रिलेसनसिप र ब्रेकअपको नाममा । 

‘हेर्नुस्, त्यस्तो कुरा अन्तर्राष्ट्रिय सोहरुमा पनि प्रयोग हुन्छ, यहाँ मैले प्रयोग गरेकाले मात्र इस्यु बनाइएको हो,’ उनले भनिन्, ‘यही कुरा केटाले भनेको भए हाँस्ने, मैले भन्दा आलोचना गर्नु पर्ने भन्ने होइन ।’ उनले नेपाली घरघरमा भारतीय कमेडियन कपिल शर्माको सो सहजै हेरिन् तर एउटा ग्रुपलाई टार्गेट गरेर आफूले गरेको कमेडीमा आलोचना गर्नु पर्ने कुनै कारण नरहेको बताइन् । 

‘यो कमेडी मैले मेरो बुबाआमालाई सुनाउन त पक्कै गरेको होइन,’ उनले भनिन्, ‘हामी साथीभाइबीच जुन शब्द प्रयोग गर्छौँ, त्यही शब्द कमेडीमा भन्दा किन आपत्ति हुनु पर्यो र ?’

‘त्यस्ता शब्द प्रयोग नगरेका कमेडी नै छैनन्,’ उनले भन्दाभन्दै यो वाक्यलाई सच्चाइन्, ‘हो, सबैले त्यही आशयका कुरा र शब्द प्रयोग गर्छन्, सबैको आआफ्नै शैली हुन्छ । कसैले घुमाएर प्रयोग गर्छन्, कसैले सोझै ।’ उनी आफूले भोगेको कुरा र आफूले जनरलाइज गरेर त्यो कुरा ल्याएकाले त्यसलाई कसैले पनि अन्यथा लिन नहुने तर्कमा अडिग भइन्, ‘अब मैले भनेका कुरा कसैले आफ्नो जीवनसँग रिलेट गर्यो भने त्यो कमेडी भइहाल्यो नि, त्यति बेला जो पनि हाँस्छ ।’ अनि आफूले पर्फम गर्दा पनि ‘मास’बाट राम्रै हाँसो पाएको उनले जिकिर गरिन् । 

सिम्रनलाई आफूले गर्नै नहुने कुरा भएको भए कमेडी सर्कलले भिडियो नै अपलोड नगर्ने तर्कमा विश्वास छ । तर, कमेडी सर्कलका प्रायः भिडियोमा कमेडीको नाममा यस्तै उच्छृङ्खल बोलीलाई प्रश्रय हुन्छ, अरु स्टान्ड अप कमेडीका नाममा पनि कमेडी कम उच्छृङ्खलता ज्यादा हुन्छ नि भन्ने प्रश्नलाई सिम्रनले यत्तिकै टारिन् । ‘त्यस्तो होइन, हामी साथीसाथीबीच बोलिरहँदा जे बोल्छौँ,’ उनले बारम्बार भनिन्, ‘त्यही कुरा कमेडीका लागि भन्न किन नहुने ?’

तर, सिम्रनले जसरी अनावश्यक शब्द र प्रसङ्ग जोडेर उनको सोमामा हँसाउन खोजेकी छिन्, त्यसलाई परिवारमा पनि प्रस्तुत गर्न सक्लिन् ?

‘मैले त्यो सो मेरो बुबाममीले हेर्नुहोला भनेर बनाएको होइन, परिवार बसेर हेरोस् भनेर पनि होइन,’ उनले भनिन्, ‘टिनएजर्सलाई लक्षित कार्यक्रम हो त्यो, मेरो परिवारको चिन्ता अरुले नलिदिए हुन्थ्यो । मेरो परिवारसँग म आफैं डिल गरौँला ।’ उनी आफ्ना बाबुआमालाई आफूले नै कन्भिन्स गर्ने भएकाले अरुले यसमा चिन्ता लिनु नपर्ने पनि बताउँछिन् ।

उनको परिवारको कुरा त छोडौँ, तर के सिम्रनलाई लाग्छ यो भिडियोले समाजमा युथहरुबीच राम्रो सन्देश छोड्ला ?

‘सकारात्मक लिनेहरुलाई लाग्नु पर्छ, महिला भएर पनि सिम्रनले क्या निशंकोच बोलेकी छे,’ उनले भनिन्, ‘त्यहाँ मैले प्रयोग गरेका शब्द अहिलेका सबै केटीहरुले प्रयोग गर्छन्, त्यस्तै काम गर्छन् । जसले गर्दिनँ भन्छन्, उनीहरुले ढाँटिरहेकी छन् ।’

फेरि आफूले पर्फम गरेको क्राउडले जे डिमान्ड गरिरहेको छ, त्यसलाई नै आफूहरुले प्राथमिकता दिनु पर्ने सिम्रनको तर्क छ । उनी भन्छिन्, ‘मासले के चाहेको छ, त्यो त दिनै पर्छ नि, मासले चाहेको कुरा दियो भने कसैले पनि आलोचना गर्न त पाउँदैन ।’

यतिमात्र होइन, सिम्रनलाई त लाग्छ, उनको यो भिडियोले महिला सशक्तिकरणको अभियानलाई पनि सहयोग गर्छ । ‘महिला भनेको घरमा मात्र बस्नु पर्ने, केटाहरुले दिनदिनै प्रयोग गरेका शब्द पनि प्रयोग गर्न नहुने प्राणीका रुपमा हेरिन्छ,’ उनको आवाज अझ चर्को सुनियो, ‘महिलाले नन भेज जोक भन्न हुँदैन भन्नेलाई मेरो भिडियो पेचिलो उत्तर हो ।’

अहिले युट्युबमा नै फिल्मको समीक्षा गरेको आरोपमा प्रनेश गौतम प्रहरी हिरासतमा छन् । प्रनेशको प्रसङ्ग पनि जोडिन्, सिम्रनले । भनिन्, ‘समीक्षा गर्दा त जेल लगिने यहाँ मैले भनेका सहज कुरालाई आलोचना गर्दा मलाई कुनै अप्ठ्यारो लागेको छैन ।’

अनि अन्त्यमा उनले जोडिन्, ‘मेरो पनि त अभिव्यक्ति स्वतन्त्रता छ, के मैले चाहेको कुरा बोल्न नपाउने ?’

(कमेडी कम उच्छृङ्खलता बढी लागेकाले हामीले सिम्रनकाे भिडियाे यहाँ राख्न सकेनाैँ ।)

  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १२:४६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया