सरकार गाली गर्न योग्य पनि छैन, चार गते बबाल हुँदैछ, २ सय फूल किन्दैछुः योगेश्वर अमात्य

काठमाडौं–

आउँछु भन्थ्यौँ, तिमी आइनौँ, कुरिरहेँ, क्या बोर भयो....

गायक योगेश्वर अमात्यको यो गीत कुनै समय नेपाली युवाहरुको जिब्रोमा झुन्डिएको थियो । अहिले उनको अर्को शैली निकै चर्चामा छ । उनको त्यो शैली हो– आन्दोलनमा गएर प्रहरीलाई फूल दिनु । 

प्रसङ्ग हो, सरकारले ल्याएको गुठी विधेयकको । सरकारले गुठी विधेयक ल्याएको विरोधमा काठमाडौं उपत्यकामा दैनिक विभिन्न विरोध भइरहेका छन् । अहिलेको जस्तो गुठी विधेयक ल्याए नेपालका संस्कृति मासिने आरोप छ । 

त्यही विधेयकको विरोधमा केही दिनअघि भएको विरोध कार्यक्रममा पुगेका थिए, गायक योगेश्वर अमात्य । र, उनले त्यहाँ तैनाथ प्रहरी जवानलाई फूल दिए ।

तपाईं किन गुठी विधेयकको कार्यक्रममा पुग्नु भयो ? योगेश्वर अमात्यले यो प्रश्नको जवाफमा भने, ‘हामीले गुठी विधेयकको शान्तिपूर्ण विरोध गर्ने योजना बनाएका थियौँ, किनकि यो विधेयक कुनै पनि हालतमा ठिक छैन ।’



तर, विरोध कार्यक्रममा पुगेका योगेश्वरले त्यहाँ प्रहरीलाई फूल दिए । आखिर किन ?

‘ती प्रहरी र हामी एउटै ड्याङको मुला हो,’ उनले भने, ‘उनीहरुलाई पनि त्यस्तो चर्को घाममा बस्दा निकै टेन्सन भएको होला भनेर फूल दिएर मैले मल्हम लगाइदिएको हो । हामी त साथीभाइ हौँ नि, सिम्बोलिक होस् भनेर मैले फूल दिएँ ।’



खासमा यसरी विरोध कार्यक्रममा प्रहरीलाई नै फूल दिने कुरा चाहिँ योगेश्वरलाई रुसको एउटा घटनाले प्रभावित पारेको हो । 

त्यो घटना हो सन् १९९१ को । रुसमा विद्रोह हुँदा त्यति बेला प्रदर्शनकारीलाई दबाउन पुगेका ट्यांकरमा चढेर विरोधीहरुले फूल दिएका थिए । ‘त्यो घटना मलाई धुमिल सम्झना थियो,’ योगेश्वरले भने, ‘मैले फोटो देखेको थिएँ, सायद म त्यहीबाट प्रभावित भएँ, मैले पनि प्रहरी दाजुभाइलाई फूल दिएँ ।’

सुरुमा योगेश्वरले फूल दिँदा दुई प्रहरीले त लिन पनि मानेका थिएनन् । तर, तेस्रो प्रहरीले उनले दिएको फूल लिए । 

‘सुरुमा त हाँसे नि,’ उनले भने, ‘त्यसपछि धन्यवाद भन्न भ्याए ।’

प्रहरीको त्यही मुस्कान र खुसीले योगेश्वरलाई पनि खुसी बनायो । ‘मैले त आन्दोलनमा हुने हिट वा टेम्परेचरलाई तल झार्न मात्र खोजेको हो,’ योगेश्वरले भने, ‘हामी त भाइचारा गर्ने हो नि, रेलिङ फुटाउने भनेर आन्दोलनमा आएको होइन नि ।’ 

बिहिबार योगेश्वरले सय वटा फूल किनेका थिए, प्रहरीलाई बाँड्न । ‘पहिले फूल पसलेले ३५ रुपैयाँ गोटा भनेको थियो,’ उनले हाँस्दै भने, ‘पछि २३ रुपैयाँ गोटामा दियो । २३ सयको फूल बाँडे, त्यसले लठ्ठी लिएर बसेका प्रहरी दाजुभाइलाई रिल्याक्स बनायो नि । पैसाभन्दा त्यो रिल्याक्स गर्न दिएको फूलको महत्व बढी भयो ।’

अब योगेश्वर चार गतेको आन्दोलनको तयारीमा छन् । उनी पनि त्यति बेला फूल बाँड्ने योजनामा छन् । ‘मैले त अरु साथीभाइलाई पनि फूल किनेर ल्याउनु भनेको छु,’ उनले भने, ‘म आफैं चाहिँ २ सय वटा फूल किन्दै छु ।’

बिहिबार प्लास्टिकबाट फूल निकाले बाँड्न समय लागेकाले यसपटक योगेश्वर त्यसलाई अलिक सिस्टमेटिक बनाउने तयारीमा पनि छन् । ‘पहिले नै अलिक छोटो बनाएर लैजाँदै छु,’ उनले भने, ‘आन्दोलन भने पनि रिल्याक्स गर्न जाने हो, बेलुन देखाउने हो, सरकारलाई हाम्रो मास देखाउने हो ।’

त्यसो त योगेश्वर अमात्य यसपटक आन्दोलनमा आफ्नो ब्यान्ड पनि लैजाँदै छन्, विरोध कार्यक्रममा गीत सुनाउने योजनामा छन् । 

‘चार गते बबाल हुन्छ,’ फरक धारसँग कुरा गर्दै उनले भने, ‘गुठी भनेको जग्गा होइन नि, भूमि सुधार मन्त्रालयले ल्याउने हो त यो विधेयक ? यो त संस्कृति मन्त्रालयले पो ल्याउनु पर्ने ?’

यतिमात्र होइन, योगेश्वरले यो सरकार कम्युनिस्टको भनिए पनि कम्युनकै विरोधमा लागेकोमा आश्चर्य व्यक्त गरे । ‘यो सरकार गाली गर्न पनि योग्य छैन,’ उनले भने, ‘उनीहरु चाहिँ तोडफोड गरेर सरकारमा पुग्ने, हामीले शान्तिपूर्वक प्रदर्शन गर्दा प्रहरी खटाउने ?’

आफूले धर्म र संस्कृतिमा ख्याल गर्ने भएकाले यसमा विशेष चासो दिएको योगेश्वरको भनाइ छ । उनी भन्छन्, ‘म हिन्दु हुँ, क्रिश्चिय स्कुलमा पढेँ, भगवान भनेर क्राइस्टलाई पनि धेरै पटक नमस्कार गरेँ,’ उनले भने, ‘म त रमादान पनि मानिदिन्छु, बुद्ध जयन्ती पनि मान्छु, तर यी नेताहरु किन यस्तो भएका ?’

देशको धर्म हुँदैन भनेर गलत प्रचार त गर्ने तर सँस्कृति बचाउन यो सरकार गैरजिम्मेवार भएकोमा योगेश्वरको चित्त दुखेको छ ।

  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १४:४२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया