१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

प्रदेशसभा भवन जलेपछि कर्णाली सरकार निर्णयविहीन, राजनीतिक गतिविधि सुस्त

भदौ २३ र २४ गते देशभर चर्केको जेनजी आन्दोलनका कारण कर्णाली प्रदेश सरकार अन्योलमा परेको छ ।


जेनजी आन्दोलनको बलबाट तत्कालीन सरकार विघटन भई नयाँ अन्तरिम सरकार बनेपछि संघीय सरकार र प्रदेश सरकारबीच समन्वयको पनि अभाव देखिएको छ । आन्दोलनपछि आवश्यक निर्देशन र निर्णय अभावमा सरकारी कामकाज लयमा फर्कन सकिरहेका छैनन् ।



कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले आन्दोलनका क्रममा आगजनी भएका भौतिक संरचना र कार्यालयको अनुगमन गरे पनि अन्य कुनै निर्णय लिन सकिरहेको छैन ।

जेनजी आन्दोलन भएको एक महिना बितिसक्दा पनि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकसमेत बस्न सकेको छैन । आन्दोलनमा प्रदेश सभामा आगजनी गरिएपछि प्रदेशसभा भवन ध्वस्त भएको छ ।  



बजेट अधिवेशन सकिएको प्रदेश सभाको बैठकसम्बन्धी छलफल नै अगाडि बढ्न सकेको छैन । दसैँमा घर गएका प्रदेश सभा सदस्यहरू पनि फर्किएका छैनन् । कतिपय मन्त्रीहरू पनि सुर्खेत बाहिर रहेको अवस्थामा प्रदेश सरकार मातहतका कार्यालयका प्रमुख र कर्मचारी पनि उपस्थित नहुँदा विकासका काम प्रभावित भइरहेका छन् । कतिपय कार्यालय मर्मत गरेर सेवा सञ्चालन गरिए पनि आवश्यक सेवा प्रवाह हुन सकिरहेको छैन ।

आन्दोलन भएको केही दिनपछि मुख्यमन्त्री यामलाल कँडेलले क्षतिग्रस्त संरचनाको अनुभव गर्दै क्षति भएका संरचनाको पुनर्निर्माणका लागि छुट्टै योजना अगाडि बढाइने बताएको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद् बैठक समेत बस्न सकेको छैन ।

सरकारका मन्त्रीहरूले भने सरकारले गर्नुपर्ने काम गरिरहेको बताएका छन् । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सरकारले आफ्नो लयमा आवश्यक कामकाज गरिरहेको बताए ।

‘औपचारिकरूपमा मन्त्रिपरिषद् बैठक नबसे पनि सरकार आफ्नो लयमा काम गरिरहेको छ,’ उनले भने, ‘मुख्यमन्त्री र मन्त्रीहरू, मन्त्रीहरू र सचिवहरूबीच बजेट तथा योजना कार्यान्वयनका लागि सरकार कसरी अगाडि बढ्ने भन्ने विषयमा निरन्तर छलफल हुने गरेको छ ।’



भदौ ४ गते यता कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बसेको छैन । आन्दोलनमा भएको क्षतिको विवरण संकलन भइसकेपछि अब त्यसको पुनर्निर्माण र सरकारको योजना कार्यान्वयनका लागि कसरी अगाडि भन्ने विषयमा मन्त्री परिषद् बैठक बस्ने तयारी भइरहेको सरकारका प्रवक्तासमेत रहेका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले जानकारी दिए । 

शनिबार कर्णाली सरकारका मुख्यमन्त्री कँडेलले प्रमुख सचिवसहित मन्त्रालयका सचिवसँग बैठक गरी आगामी दिनमा जेनजीको भावनाको सम्मान गर्दै अगाडि बढ्न सचिवलाई निर्देशन दिएका छन् ।  

  • प्रकाशित मिति : २७ असोज, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया