आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्समा नेपालले तेस्रो खेलमा आयोजक ओमानको सामना गर्दैछ । यी दुई टिमबीचको खेल बुधबार राति ८ः४५ देखि सुरु हुनेछ ।
सुपर सिक्समा नेपाल र ओमान लगातार तेस्रो जितको खोजीमा छन् । नेपालले सुपर सिक्सको पहिलो र दोस्रो खेलमा क्रमशः यूएईविरुद्ध एक तथा कतारविरुद्ध पाँच रनको रोमाञ्चक जित निकाल्यो ।
समूह चरणमा पनि नेपालले लगातार दुई खेलमा जित दर्ता गरेको थियो, जहाँ नेपालले कुवेतविरुद्ध ५८ रन तथा जापानविरुद्ध ५ विकेटको जित निकाल्यो ।

उता ओमान पनि जारी प्रतियोगितामा अपराजित छ । उसले समूह चरणमा सामोआविरुद्ध ५ विकेट तथा पपुवा न्यूगिनीविरुद्ध ५२ रनको जित निकाल्यो । उसले सुपर सिक्समा कतारलाई ३४ रन तथा यूएईलाई ५ विकेटले हरायो । ओमान अहिले अंक तालिकाको शीर्ष स्थानमा छ । ऊ बुधबार नेपाललाई पनि हराएर तालिकाको शीर्ष स्थानमा कायमै रहन चाहन्छ ।
यता तालिकाको दोस्रो स्थानमा रहेको नेपाली टिम ओमानलाई हराएर एक खेलअगावै विश्वकपमा स्थान सुरक्षित गर्ने योजनामा छ । बुधबारको खेल विश्वकपमा स्थान बनाउनुका साथै छनोट प्रतियोगिताको उपाधि जित्ने मामलामा पनि महत्वपूर्ण छ ।
यो म्याच जित्ने टोली नै प्रतियोगिताको च्याम्पियन बन्ने सम्भावना छ । त्यसकारण नेपाली टिम ओमानविरुद्ध अनिवार्य जितको खोजीमा हुनेछ । र, नेपाल सन् २०२३ को विश्वकप छनोटमा सुपर ओभरमा बेहोरेको हारको बदला पनि लिन चाहन्छ ।
यद्यपि त्यो रोमाञ्चक खेलपछि नेपालले ओमानलाई दुई म्याचमा लगातार हराएको छ । नेपाली टिम बुधबार ओमानविरुद्ध जितमा ह्याट्रिक गर्न चाहन्छ । जारी प्रतियोगिताअघिको वार्मअप म्याचमा ६ विकेटको सहज जित निकालेकाले पनि ओमानविरुद्ध नेपाली टिम खुलेर खेल्ने सम्भावना छ ।
हालसम्म टी–२० आईमा नेपाल र ओमान आठ खेलमा आमनेसामने भएका छन्, जसमा नेपालले पाँच र ओमानले एक खेल जितेको इतिहास छ । यसरी हेर्दा हेड टु हेड नतिजामा ओमानविरुद्ध नेपाल हाबी देखिन्छ ।

आइसिसी टी–२० वरीयतामा पनि ओमानभन्दा नेपाल माथि छ । ताजा आइसिसी वरीयतामा नेपाल १७औँ तथा ओमान २०औँ स्थानमा छ । नेपाल जारी प्रतियोगिता जितेर वरीयतामा थप सुधार गर्ने योजनामा छ ।
यस प्रतियोगितामा नेपालका लागि ब्याटिङमा आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल र गुलशन झा ठिकठाक लयमा छन् । उनीहरूमध्ये कुशल, रोहित र आसिफ सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष १० भित्र छन् । उनीहरू ओमानविरुद्धको खेलमा थप उत्कृष्ट प्रदर्शन गरेर टप स्कोररको सूचीमा सुधार गर्न चाहन्छन् ।
जारी विश्वकप छनोटमा बलिङतर्फ लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी अहिलेसम्म सर्वाधिक विकेटकर्ताको सूचीको दोस्रो स्थानमा छन् । सन्दीपले चार खेलमा ५.९३ को इकोनमीमा १० विकेट लिएका छन् ।
उनी बुधबार शीर्ष स्थानमा उक्लिन पूरा कोसिस गर्ने छन् । अलराउन्डर दीपेन्द्र सिंह ऐरीले पनि राम्रो बलिङ गरिरहेका छन् । उनले चार खेलमा ४.८० को सानदार इकोनमीमा चार विकेट लिएका छन् । दीपेन्द्रले फिल्डिङबाट पनि प्रत्येक खेलमा नेपालको जितमा महत्वपूर्ण योगदान दिइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।