काठमाडौं– राष्ट्रिय सभामा नेकपाका तर्फबाट सांसद् बनेका खेमराज नेपालीले आदित्य दाहालमाथि प्रश्न उठाएका छन् । आदित्यलाई भगवानका रुपमा प्रस्तुत गरिएकोमा उनले चिन्ता व्यक्त गरेका हुन् ।
नेपालीले विश्वका विभिन्न ठाउँमा विभिन्न प्रकृतिका व्यक्तिको जन्म हुने भएकाले आदित्यलाई भगवान बनाउन नहुने तर्क गरेका हुन् । फरक क्षमता हुँदैमा आदित्य दाहाललाई देवत्वकरण गर्न नहुने उनले बताए । ‘केही समयदेखि आदित्य दाहाललाई सुरुमा गुगल ब्वाय, ऋषि भन्दै अहिले देवताका रुपमा प्रस्तुत गर्न थालिएको छ,’ उनले भने, ‘यो कुरा सुन्दा सानो लागे पनि वास्तवमा सानो विषय होइन ।’
उनले प्रकृतिमा आश्चर्र्यजनक घटना भइरहेका र विचित्र चरित्र र हाउभाउ लिएर फरक शारीरिक बनोट भएका, अतिरिक्त अंग भएका बालबालिकाको जन्म भइरहेको उनले बताए । ‘दुई वटा मुटु भएका, चार हात, चार खुट्टा भएका, दुई योनी भएका व्यक्ति जन्मिइरहेका छन्,’ उनले भने, ‘आदित्य पनि फरक छन् तर उनी देवता होइनन् ।’
नेपालीले दक्षिण कोरियाका किम योङको उदाहरण दिए । ८ मार्च १९६२ मा जन्मिएका किमले एक वर्षमा कोरियन भाषामा निबन्ध लेखेको, २ वर्षमा विश्वको सबैभन्दा धेरै सामान्य ज्ञान जानेको कुरा लेखे, ६ वर्षमा कोरियाको विश्वविद्यालयमा अथिति प्राध्यापक बने, ७ वर्षमा नासाको वैज्ञानिक बनेको कुरा नेपालीले बताए । अहिले यी व्यक्ति कोरियाको विश्वविद्यालयका प्रोफेसर छन् । नेपालीले प्रश्न गरे, ‘उनी किन भगवान भएनन् ?’
नेपालीले भारतमा जन्मिएका आकृत जैसवालको पनि प्रसङ्ग निकाले । सन् २००० मा सात वर्षमा उनले १८ वर्षीय युवतीको जटिल अपरेसन सम्पन्न गरेको, १२ वर्षदेखि उनी क्यान्सरको औषधि पत्ता लगाउन जुट्दा पनि उनलाई भगवान नमानिएको प्रसङ्ग पनि नेपालीले निकाले । त्यस्तै, उनले अन्य फरक क्षमताका व्यक्तिहरुको उदाहरण दिए ।
भारतमा जन्मिएकी चार हात र चार खुट्टा भएकी बालिकाको जन्म भएको र उनको अन्धभक्तहरुले पूजा गरेको बताइन् । पछि उनको अपरेसन गरिएको सामान्य उनी पनि सामान्य मानिस भएको उनले बताइन् ।
यी प्रसङ्ग जोड्दै नेपालीले भने, ‘उनलाई देवत्वकरण गर्नु भनेको उनको बालअधिकारको हनन हो, मानवअधिकारको हनन हो । उनलाई भविष्यवाणी गर्न लगाउनु विज्ञानको अपमान, अन्धविश्वासले सरकारी समर्थन प्राप्त गराउनु हो भन्ने लाग्छ ।’
नेपालीले त आदित्यको उचित उपचार तत्काल गराउनु पर्ने आवाज पनि राष्ट्रिय सभामा उठाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।