२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

पर्यटक लोभ्याउने मुस्ताङको मार्फा गल्ली : थकाली सभ्यतासँग जोडिएको जीवित सङ्ग्रहालय

अचेल मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि मार्फा गाउँ निकै चर्चित छ । मार्फा गाउँ धमाङपछिको स्थान्तरित प्राचिन वस्ती हो। जहाँ अलौकिक धार्मिक, सांस्कृतिक, सामाजिक र परम्परागत मौलिकता लुकेर बसेको छ । यही लुकेको अपार सम्पदालाई पर्यटन प्रवर्द्धनमा जोड्न चाहन्थे मार्फाली समुदाय । पछिल्लो समय आफ्नो गाउँ भित्र लुकेको अपार सांस्कृतिक मौलिक सम्पदालाई जोगाएर राख्न सके ।


एक अजङ्गको पहाड । त्यसको फेदैमा क्या राम्रो चिटिक्क मिलेको मार्फा गाउँ । त्यही बस्ती हो, जहाँ गाउँ भित्रको अद्भुत सांस्कृतिक सम्पदा लुकेका  छन् । एक सय बढी घरधुरीको बसोबास रहेको मार्फामा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको छ ।  बगैचामा लटरम्म स्याउ फलाउनु मार्फालीको दैनिकी थियो । तर, अचेल कृषि कर्मसँगै पर्यटनसँग समेत जोडिन थालेका छन् । स्याउ खेतीको पुर्ख्यौली व्यवसाय अचेल पर्यटनमा जोडिन थालेको हो ।



मुस्ताङमा पर्यटन क्षेत्रमा आएको उभार मुख्य सडक मार्ग सहज पहुँच नै हो । मुक्तिनाथ मन्दिर,कागबेनीधाम,लोमान्थाङ दरबार,कोरलानाका,छोसेर गुफा र ढुम्बातालसंगै थासाङ क्षेत्रमा थुप्रै पर्यटकीय गन्तव्य मध्ये मार्फा गाउँ पनि यहाँको मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको मार्फाका स्थानीयवासी आइतप्रसाद हिराचन बताउँछन् । 

यहाँको मार्फा गाउँ भित्र सदियौं वर्ष पुराना ढुंगा र माटोले निर्मित एकआपसमा जोडिएका घरहरू जीवन्त छन् । राष्ट्रिय राजमार्गको बेनी—जोमसोम सडक नजिकै रहेको मार्फा गाउँको भित्री बस्ती हेर्न, फोटो, भिडियो र टिकटक बनाउँन पर्यटकहरूको भीडकै लाग्ने गरेको पाईएको छ । मुक्तिनाथको दर्शन र कोरलानाका पुगेर फर्किएका पर्यटकहरू गाडी रोकेर दुई तीन घण्टा सम्म बिताउने गरेको पाइएको छ ।



चितवनबाट मुस्ताङ भ्रमण गर्न आएका पर्यटक विनोद ढकालले सडकको सहज पहुँच भइरहेकाले पर्यटकहरू मुस्ताङ घुम्न रुचाउने गरेको बताए । यहाँका धार्मिक पावन भूमि मुक्तिनाथको दर्शन गरी मार्फाको सौन्दर्यता अवलोकन गर्न पाउँदा गौरवान्वित भएको प्रतिक्रिया जनाए । 

मार्फा गाउँ पहाडको भिरालो सतहमा अवस्थित छ । बस्तीका सबै घरहरू एकआपसमा गुजमुच्च जोडिएका छन् ।  गल्ली भित्र दर्जनौँ  शाखा गल्लीहरू रहेका छन् । मुख्य राजमार्ग सडकको उत्तर÷दक्षिणसम्म मार्फा गाउँको लम्बाई करिब पाँच सय मिटर भन्दा बढी छ । उक्त दुरीमा रहेको मुख्य गल्ली भित्र चाहर्दै जाँदा दर्जनौँ साँघुरा शाखा गल्लीहरू भेटिन्छन् । जुन पर्यटकका लागि फरक अनुभूति दिलाउँछ ।

ठाउँ ठाउँबाट शिक्षक–विद्यार्थीहरूपनि मुस्ताङ भ्रमणमा पुग्छन् । मकवानपुरबाट घुमफिरको लागि पुगेकी विद्यार्थी सीमा तामाङ र अनुस्का तामाङलाई रमाइलो लागि रहेको छ । 

यहाँको मार्फा गाउँ भित्र सम्तेन ध्योलिङ बुद्धिस गुम्बा छ । गाउँ भित्रको बिजुलीका तारहरू समेत पुरै भूमिगत गरिएको  छ भने गाउँ भित्रका घरहरूमा लस्करै लुङ्ता झुन्डाइएका पनि मार्फा गाउँ भित्रको सौन्दर्यता बढाईदिएको छ । स्याउ बगानमा लटरम्म स्याउ फल्ने सिजनमा पर्यटकहरू स्याउ बगैचा अवलोकन गरे बेग्लै अनुभूति लिन सक्ने सुविधा छ । पछिल्लो समय घरपझोङ गाउँपालिकाले गाउँ नजिकैको थुम्को स्टेट फ्रि टावर निर्माण गरेको छ । टावरमा पुगेका पर्यटकले मार्फा गाउँको सौन्दयैता अवलोकन गर्न पाउँछन् । 



मार्फामा आधा दर्जन भन्दा बेसी स्याउको प्रशोधित डिस्टिलरी सञ्चालनमा छन् । डिस्टिलरीमा पर्यटकले ब्रान्डी बनाएको समेत हेर्न सकिने सुविधा छ । यसैगरी मुस्ताङमा स्याउ उत्पादन तथा स्याउ प्रविधि प्रसारणका लागि स्थापित ५० वर्ष पुरानो शीतोष्ण बागवानी विकास केन्द्र छ । जहाँ पर्यटकहरूले कृषि सम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सक्छन् । पर्वतका नितेन श्रेष्ठ, पोखराकी सोनी गुरुङ र भक्तपुर सुदर्शन न्यौपाने पनि मार्फामा रमाइरहेका छन् । 

यहाँको मार्फा गाउँमा सडक सञ्जालको पहुँच राम्रो नहुँदा आकल झुकल विदेशी पर्यटकहरू पुग्थे, तर अचेल मार्फा गाउँमा आन्तरिक पर्यटकहरू आईरिन थालेका छन् । मार्फा गाउँ भित्रको गल्लीमा दर्जनौँ पर्यटक लक्षित होटलहरु सञ्चालनमा छन् ।

पछिल्लो समय सडक सहज भएसंगै कतिपय मार्फाली समुदाय सडकमार्गसंगै जोडिएका स्याउ बगैचा मासेर आधुनिक प्रकारका कंक्रिट ठुला पर्यटक लक्षित होटलहरु निर्माण गर्ने  होटबाजीनै चलेको छ । घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले मार्फा गाउँभित्र कसैले पनि पुराना घरहरू मासेर आधुनिक घरहरू निर्माण गर्न नपाइने गाउँलेहरूले नियम बनाएको बताए । 

मार्फा गाउँ पर्यटकीय गन्तव्यका रूपमा मात्रै होइन स्वदेशी तथा विदेशी चलचित्र स्पटको रूपमा समेत विकास हुन थालेको छ । मार्फामा नेपाली चलचित्र जेरी,कबड्डी,प्रेम गीत लगायतका दर्जनौँ चलचित्र छायाङ्कन भइसकेको छ । यहाँको परम्परागत धर्म संस्कृति र रीतिरिवाज र थकाली सभ्यता र यहाँको प्राकृतिक सौन्दर्यताका कारण मुस्ताङको मार्फा चलचित्र स्पटको रूपमा समेत चिनिन थालेको हो । 

  • प्रकाशित मिति : ११ कात्तिक, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया