पछिल्लो केही वर्षयता नेपाली फुटबल संकटको अवस्थामा छ । खेलाडीले पर्याप्त प्रतियोगिता पाएका छैनन्, घरेलु लिगको अवस्था लथालिङ्ग छ । खेलाडी विदेश पलायन हुनेक्रम रोकिएको छैन । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाएको छ ।
अहिलेको अवस्था हेरेर आकलन गर्ने हो भने नेपाली फुटबलको भविष्य अँध्यारो देखिन्छ । यही अन्योलका बीच खेलाडीले देशमा फुटबलप्रतिको क्रेज फर्काउन भने कुनै कसर बाँकी राखेका छैनन् । यही संकटपूर्ण समयमा राष्ट्रिय महिला फुटबल टिमले भारतलाई हराएर सकारात्मक सन्देश दिएको छ ।

सोमबार भएको त्रिदेशीय च्याम्पियनसिपअन्तर्गत भारतविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै नेपालले आशा जगाएको हो । महिला फुटबलमा भारतविरुद्ध नेपालको यो ऐतिहासिक उपलब्धि हो । यसअघि नेपालले भारतलाई उसकै घरेलु मैदानमा हराएको थिएन । यसपालि भने त्यो क्रम तोड्दै इतिहास रच्यो ।
भारतविरुद्ध नेपालको यो लगातार तेस्रो जित हो । सन् २०२२ यता भारतविरुद्ध नेपाल अपराजित छ । र, त्यो यात्रा नेपालले यसपालि पनि कायमै राख्यो । नेपाललाई ऐतिहासिक सफलता दिलाउनेक्रममा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले निर्णायक प्रदर्शन गरिन् ।
उनले खेलको दोस्रो र ६३औँ मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाइन् । सावित्राको दोस्रो गोल निकै आकर्षक थियो । करिब २५ यार्ड परबाट उनले गरेको प्रहारले जाली चुम्यो ।

भारतीय खेलाडीले नेपाली मिडफिल्डर प्रीति राईलाई फउल गरेपछि नेपालले फ्रि–किक प्राप्त गरेको थियो, जहाँ सावित्रा चुकिनन् । योसँगै अन्तर्राष्ट्रिय फुटबलमा उनको गोल संख्या ६६ पुगेको छ ।
कप्तान साम्बासहित प्रिती राई तथा अञ्जिला तुम्बापो सुम्बा भारतविरुद्ध खेलिने बुधबारको अनौपचारिक म्याचमा भने उपलब्ध हुने छैनन् । उनीहरू व्यावसायिक फुटबलका लागि क्लबमा जोडिसकेका छन् ।
सावित्रा न्यूजिल्याण्डको वेलिङ्टन फिनेक्स एफसी, प्रिती जोर्डनको अल–इत्तिहाद तथा अञ्जिला भारतको सेतु एफीमा आबद्ध छिन् । उनीहरूबिना खेल्ने नेपाली टिमसामु बुधबारको म्याचमा भारतविरुद्ध जित निकाल्न चुनौती देखिन्छ ।
सावित्राले युवा खेलाडीका लागि भारतविरुद्धको खेल राम्रो अवसर हुने बताएकी छन् ।

‘राष्ट्रिय टोलीसँग यो साता मिश्रित नतिजा आयो । तर, भारतको चुनौतीलाई फेरि पार गर्नु यो महत्त्वपूर्ण थियो । एसियाली कप गुमाउनुको पीडा अझै छ, किनकी हामीलाई थाहा छ कि हामी अझ उचाइमा पुग्न सक्षम छौँ । अन्तिम अनौपचारिक मैत्रीपूर्ण खेलको लागि टोलीलाई शुभकामना । किनकि यसले हाम्रो गहिराइ परीक्षण गर्न मद्दत गर्नेछ,’ सावित्राले फेसबुकमा लेखेकी छन् ।
नेपाल र भारतबीचको खेल सिक्किममा हुनेछ । भारतमा विलय भएको ५० वर्षपछि सिक्किमले पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्न लागेको हो ।
हालसम्म नेपाल र भारतले १९ वटा अन्तर्राष्ट्रिय म्याचमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले भारतलाई तीन खेलमा हराएको इतिहास छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।