नेपाली विद्यार्थी नक्कली एनओसीपत्र बनाएर बेलायतको बीपीपी विश्वविद्यालयमा जाने गरेको तथ्य फेला परेको छ । एनओसी लिनै नमिल्ने शैक्षिक कार्यक्रममा विद्यार्थी धमाधम एनओसी बनाएर उक्त विश्वविद्यालयमा ‘बिएससी (हन्स) हेल्थ एण्ड केयर (टपअप)’ कार्यक्रममा अध्ययन गर्न जाने गरेको तथ्य फरकधारले फेला पारेको हो ।
शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा कार्यरत एक कर्मचारीका अनुसार मन्त्रालयले टपअप कार्यक्रमका लागि एनओसी नै दिन मिल्दैन । तर, विद्यार्थी भने नक्कली कागजात पेस गरेर धमाधम एनओसी लिइरहेका छन् । एनओसीबिना उच्च शिक्षा अध्ययन गर्न विदेश जान नमिल्ने भएका कारण केही कन्सल्टेन्सीको सहयोगमा विद्यार्थीले नक्कली डकुमेन्ट बनाएर एनओसीपत्र लिने गरेको पाइएको हो ।
विश्वविद्यालयले विद्यार्थीलाई अध्ययनका लागि दिएको ‘अफर लेटर’ मा स्पष्टसँग ‘बिएससी (हन्स) हेल्थ एण्ड केयर (टपअप)’ कार्यक्रम १२ महिनाको टपअप कोर्स रहेको उल्लेख गरिएको छ । तर, एनओसी लिँदा विद्यार्थी र कन्सल्टेन्सीहरूले उक्त अफर लेटरमा छेडखानी गरेर उक्त कोर्सको नाम ‘हेल्थ एन्ड केयर’ बनाई तीन वर्षीय ब्याचलर कोर्स भएको भनी नक्कली डकुमेन्ट तयार गरेर पेस गर्ने गरेको तथ्य फरकधारले प्राप्त गरेको हो ।

नक्कली कागजात बनाएर विद्यार्थीले धमाधम एनओसी लिइरहँदा शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको पनि मिलेमतो रहेको आशंका गर्न सकिन्छ । किनभने एनओसी शाखाको मिलेमतोबिना नक्कली डकुमेन्ट पेस गरेर विद्यार्थीले सहजै एनओसी लिने सम्भावना न्यून हुन्छ ।
एनओसी जारी हुने विश्वविद्यालय र कार्यक्रम एनओसी शाखामा सूचीबद्ध भएका हुन्छन् । विश्वविद्यालयको वेबसाइट हेर्दा पनि विद्यार्थी जान खोजेको कार्यक्रमबारे सहजै थाहा पाउन सकिन्छ । तर, एनओसी शाखाका कर्मचारीले विभिन्न बहाना देखाएर सहजै पत्ता लाग्ने विषयलाई पनि बेवास्ता गरेको देख्दा यसमा उनीहरूको पनि मिलेमतो रहेको हुनसक्ने आशंका गर्न सकिन्छ ।
नेपाली विद्यार्थीलाई लक्षित गरेर विश्वविद्यालयले तयार गर्यो टपअप कार्यक्रम
बीपीपी विश्वविद्यालयले विशेषगरी नेपाली विद्यार्थीलाई नै लक्षित गरेर हेल्थ एण्ड केयर (टपअप) कार्यक्रम निर्माण गरेको कन्सल्टेन्सी सञ्चालक बताउँछन् । जुनसुकै मूल्य चुकाएर पनि विदेश जान तयार हुने नेपाली विद्यार्थी र त्यही विद्यार्थीको कमजोरीलाई आम्दानीको स्रोत बनाएका नेपालका केही कन्सल्टेन्सीहरूसँगको मिलेमतोमा विश्वविद्यालयले उक्त कोर्स निर्माण गरेको कन्सल्टेन्सी व्यवसायी बताउँछन् ।
नेपालमा बीपीपी विश्वविद्यालयसँग साझेदारी गरेर फ्याक्लिन एजुकेसन कन्सल्टेन्सीले यो कोर्स नेपालमा भित्र्याएको हो, अहिले यो कन्सल्टेन्सीको नाम परिवर्तन गरेर ‘दी अफिसियल रिप्रेन्जेटिभ एलएलसी’ बनाइएको छ, जसका सञ्चालक दीपक खड्का हुन् । खड्काले बीपीपी विश्वविद्यालयबाट एक्सक्ल्युसिप एग्रिमेन्ट गरेर अन्य एजेन्सीलाई गलत सूचना दिएर विद्यार्थी लग्ने काम गरिरहेका छन् ।
पैसा कमाउने मनसायले नै विश्वविद्यालय र कन्सल्टेन्सीको मिलेमतोमा यो कोर्स निर्माण गरी नेपालबाट विद्यार्थी लग्ने गरेको जानका बताउँछन् । उक्त कोर्स अध्ययन गर्न निर्धारण गरिएको शुल्कले पनि यो कोर्स विश्वविद्यालयले पैसा कमाउनकै लागि बनाएको हो भन्ने पुष्टि गर्छ । १२ महिनाको यो कोर्स अध्ययन गर्न विश्वविद्यालयले १३ हजार ५०० स्टर्लिङ पाउन्ड अर्थात् करिब २५ लाख रुपैयाँ निर्धारण गरेको छ ।
यो कोर्स अध्ययन गर्न जाने सबैभन्दा धेरै नेपाली र भारतीय विद्यार्थी छन्, जो अध्ययनको नाममा विदेश जान जुनसुकै कदम चाल्न सक्छन् । र, जति पनि रकम खर्च गर्न सक्छन्, त्यस्ता विद्यार्थीलाई लक्षित गरेर यो कोर्स निर्माण गरिएकोजस्तो देखिन्छ ।
बेकामको हावादारी कोर्स
‘बिएससी (हन्स) हेल्थ एण्ड केयर (टपअप)’ कार्यक्रम स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कोर्स भनिए पनि कोर्समा राखिएका अध्ययन सामग्री हेर्दा यो कार्यक्रम स्वास्थ्य क्षेत्रको नभइ व्यवस्थापनतर्फको जस्तो देखिन्छ । यो कोर्स नै अनौठो किसिमको छ । स्वास्थ्य क्षेत्रलाई लक्षित गरेर कोर्सको नाम राखिए पनि कोर्समा विद्यार्थीलाई अध्यापन गराइने कन्टेन्ट स्वास्थ्य क्षेत्रसँग मेल नखाने खालका छन् ।
यो कार्यक्रम विशेषगरी स्वास्थ्यसम्बन्धी विषयमा डिप्लोमा अध्ययन गरेका विद्यार्थीलाई लक्षित गरेर निर्माण गरिएको भनिएको छ । तर, यो कोर्सले क्लिनिकल वा प्राविधिक स्वास्थ्यसम्बन्धी विस्तृत तालिम प्रदान गर्ने नभइ सतही खालको पाठ्यक्रम निर्माण गरेको छ, जसले विद्यार्थीलाई स्वास्थ्यसँग सम्बन्धित विषयका ज्ञानभन्दा पनि सामान्य हेरचाह नीति, नेतृत्व र प्रशासनिक पक्ष बुझाउने र स्वास्थ्य प्रणालीमा लागू हुने कानुन, नियमन र नीति–निर्माण प्रक्रियाबारे जानकारी दिने गर्छ ।
विश्वविद्यालयले तयार गरेका पाठ्यक्रम स्वास्थ्य क्षेत्रसँग मेलखाने खालका देखिँदैनन् । त्यस्तै, अध्ययनपछि विद्यार्थीको बाँकी उच्च शिक्षाबारे पनि यो कार्यक्रमले कुनै बाटो देखाउँदैन । त्यस्तै, यो कार्यक्रम अध्ययनपछि रोजगारीको विषयमा पनि कुनै कुरा उल्लेख गरिएको छैन ।

यसैगरी यो कार्यक्रम अध्ययनले बेलायतमा स्थायी बसोबास अर्थात् ‘पर्मानेन्ट रेसिडेन्सी’ (पीआर) लिने बाटो पनि खुलाउँदैन । त्यसैले पनि यो कार्यक्रम शैक्षिक भविष्य निर्माण गर्न नभइ विद्यार्थीलाई अध्ययनको नाममा बेलायतसम्म पुर्याउने माध्ययका लागि निर्माण गरिएको जस्तो देखिन्छ । अर्थात् यो कार्यक्रममार्फत कन्सल्टेन्सी र विश्वविद्यालयको मिलेमतोमा ‘मानव बेचबिखन’ भइरहेको छभन्दा फरक पर्दैन । किनभने कुनै औचित्य र भविष्य नै नभएको कोर्स विश्वविद्यालय आफैंले निर्माण गरेर विद्यार्थी ओसार्ने काम गरिरहेको छ । स्वास्थ्यसम्बन्धी भनिएको उक्त कोर्स बेलायत सरकारका कुनै आधिकारिक नर्सिङ काउन्सिल वा चिकित्सा शिक्षा आयोगजस्ता त्यहाँका सरकारी संस्थाबाट मान्यता प्राप्त गरेको पनि देखिँदैन ।
यसरी विद्यार्थीलाई विभिन्न विकसित देशमा पुर्याउन अर्थहीन शैक्षिक कार्यक्रम बनाएर नेपाली विद्यार्थी ओसार्ने बीपीपी विश्वविद्यालय एक उदाहरण हो । पछिल्लो समय यस्ता खालका डिप्लोमा कार्यक्रम ल्याएर नेपाली विद्यार्थी विदेश लैजाने विश्वविद्यालय र कन्सल्टेन्सीको कमी छैन । यसरी पैसा कमाउने उद्देश्यले नै नेपाली विद्यार्थीलाई विदेश लैजाने कार्यक्रममा कन्सल्टेन्सी र विदेशी विद्यार्थीले खुल्लमखुल्ला काम गरिरहँदा पनि सरकारले नजरअन्दाज गर्नु आफैंमा शङ्कास्पद विषय हो ।
सरकारले उच्च शिक्षाको नाममा विभिन्न बहानामा विदेश पलायन हुने जनशक्तिलाई रोकेर यस्ता गलत क्रियाकलापमा सक्रिय कन्सल्टेन्सी र विदेशी विश्वविद्यालयलाई कानुनी कारबाहीमा ल्याउनुपर्छ ।
नेपालमा पाइँदैन समकक्षता
विदेशका कुनै पनि विश्वविद्यालयमा अध्ययन गरिसकेपछि नेपालमा त्यसको आधिकारिकता पुष्टि गर्न समकक्षता लिनुपर्छ । अहिले नेपालमा त्रिभुवन विश्वविद्यालयले समकक्षता दिँदै आएको छ । तर, डिप्लोमा कोर्सलाई त्रिभुवन विश्वविद्यालयले समकक्षता दिँदैन ।
नेपालका डिप्लोमा कोर्स कक्षा १२ सम्म सरहका हुने भएकाले त्यसलाई टपअप गरेर विदेशमा १२ महिना अध्ययन गर्दैमा त्यसले समकक्षता प्राप्त गर्न नसक्ने त्रिवि पाठ्यक्रम विकास केन्द्रका निमित्त प्रमुख राजेन्द्र कुँवरले फरकधारलाई बताए । उनका अनुसार १२ महिनाको कोर्सलाई ब्याचलरको समकक्षता दिन मिल्दैन ।
‘नेपालको डिप्लोमालाई हामी ब्याचलरमा टपअप गरेको मान्दैनौँ । डिप्लोमालाई पहिला कक्षा १२ को समकक्षता लिनुपर्छ’ कुँवरको कथन छ, ‘डिप्लोमा तीन वर्ष भनेको १२ कक्षा बराबर हो । जति डिप्लोमा गरेपनि त्यो १२ नै हुन्छ । १२ लाई ब्याचलरमा लिएर जोड्न मिल्दैन ।’
नेपालबाट ब्याचलर टु ब्याचलर वा मास्टर्स टु मास्टर्समा टपअप गरेर विदेशमा अध्ययन गर्न जाँदा समकक्षता प्राप्त गर्न सकिन्छ । तर, एकवर्षे डिप्लोमा अध्ययन गरेर ब्याचलरको समकक्षता भने पाइँदैन ।
कन्सल्टेसीको भ्रमपूर्ण विज्ञापनको खेलो, सहजै फस्दै विद्यार्थी
अवैध काम गर्ने र गलत मनसायले खुलेका कन्सल्टेन्सीबाट पछिल्लो समय विद्यार्थी ठगीनेक्रम बढ्दै गएको छ । अहिले केही कन्सल्टेन्सीहरूले बीपीपी विश्वविद्यालयको ‘हेल्थ एण्ड केयर’ कार्यक्रमबारे एक वर्षमै ब्याचलर गर्न सकिन भ्रम फैलाउने काम गरिरहेका छन् । नेपालको डिप्लोमा कक्षा १२ सहर हुने भएका कारण कुनै पनि हालतमा एकवर्षे कोर्स अध्ययन गरेर स्नातक तह पूरा गर्न सकिँदैन ।
पिटिई, आइएलटिएसबिना नै उक्त कोर्स अध्ययन गर्न बेलायत जान सकिने भन्दै ती कन्सल्टेन्सीले विद्यार्थीलाई प्रलोभनमा पर्ने गरेका छन् । सहजै बेलायत गएर एक वर्षमै ब्याचलर सक्ने भ्रम फैलाउने कन्सल्टेन्सीमा फ्र्याक्लिन एजुकेसन कन्सल्टेन्सी अग्र स्थानमा छ ।
फ्र्याक्लिन एजुकेसन कन्सल्टेन्सी बीपीपी विश्वविद्यालयको नेपालका लागि एक मात्र पार्टनर कन्सल्टेन्सी हो । यो कन्सल्टेन्सी आफैँमा नेपालमा बसेर काम गर्ने विदेशी कम्पनी हो । यो कन्सल्टेन्सीको मुख्य कार्यालय बेलायतमै रहेको छ । नेपालमा यसको शाखा कार्यालय मात्र रहेको छ ।
शिक्षा मन्त्रालयलयको लापरबाही
बीपीपी विश्वविद्यालयको ‘हेल्थ एण्ड केयर’ टपअप प्रोग्राम अध्ययन गर्न जाने विद्यार्थीलाई धमाधम एनओसी दिइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि यसमा लापरबाही गरेको देखिन्छ । यो कार्यक्रममा एनओसी दिन मिल्दैन भन्ने विषयमा एनओसी शाखाका कर्मचारी जानकार छन् । तर, पनि विद्यार्थीले भने धमाधम एनओसी लिइरहेका छन् ।
मन्त्रालयको एनओसी शाखाले कुनै पनि विद्यार्थीले एनओसी लिन सही कागजात पेस गरेको छ वा छैन भनेर त्यसको तथ्य जाँच नै नगरी एनओसी दिने गरेको पाइएको छ ।
बीपीपी विश्वविद्यालयको वेबसाइट खोलेर हेर्दा सामान्य जो कोही व्यक्तिले पनि विश्वविद्यालयको ‘हेल्थ एण्ड केयर’ कस्तो कार्यक्रम हो भनेर पनि सहजै जानकारी लिन सक्छ । तर, शिक्षा मन्त्रालयको वैदेशिक अनुमति शाखाका कर्मचारीले भने यति तथ्य जाँच गर्न पनि जागर चलाउन नखोज्नुको कारण के हो ? प्रश्न त उठ्छ नै ।
उनीहरू विद्यार्थी र कन्सल्टेन्सीले पेस गरेका कागजातलाई आँखा चिम्लिएर विश्वास गर्छन् र एनओसी दिन्छन् । जसका कारण उक्त शाखामा नक्कली कागजात बनाउने विद्यार्थी र कन्सल्टेन्सीको हालिमुहाली बढ्दै गएको छ ।
कतिपय अवस्थामा एनओसी लिन विद्यार्थी र कन्सल्टेन्सीले गरेको बदमासी थाहा हुँदाहुँदै पनि एनओसी दिनुपर्ने बाध्यता रहेको एनओसी शाखामा कार्यरत एक कर्मचारीले बताए । उनका अनुसार बीपीपीको ‘हेल्थ एण्ड केयर’मा अध्ययन गर्न जान विद्यार्थीले बदमासी गरेको विषयबारे जानकार भए पनि उनीहरूले एनओसीको फारम भर्दा सरकारलाई राजस्व तिरिसकेको हुने भएका कारण एनओसी दिनुपर्ने बाध्यता कर्मचारीलाई हुन्छ ।
विद्यार्थीले राजस्व तिरिसकेपछि एनओसी नदिँदा कुनै विद्यार्थी अदालती प्रक्रियामा गएको खण्डमा आफूहरू अप्ठ्यारोमा पर्ने अवस्था आउने सम्भावना रहेकोले बदमासी थाहा पाउँदा पाउँदै पनि कर्मचारीहरू एनओसी दिन बाध्य छन् ।
ती कर्मचारीका अनुसार एनओसीमा भएको यो बदमासी रोक्न विश्वविद्यालयले विद्यार्थीलाई दिने अफर लेटर सिधैँ शिक्षा मन्त्रालयमा आउने व्यवस्था गर्न सकेको खण्डमा यो समस्या समाधान हुन्छ ।
थोरै कर्मचारी धेरै काम
एनओसी शाखामा कर्मचारी थोरै र काम धेरै भएका कारण पनि समस्या हुने गरेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । एनओसी शाखामा अहिले जम्मा १२ जना कर्मचारी कार्यरत छन् । ती कर्मचारीले दैनिक ६ सयदेखि सात सय वटा एनओसी पत्र जारी गर्नुपर्ने हुन्छ । बिहानैदेखि एनओसी शाखामा विद्यार्थीको भीड पनि थामिनसक्नु हुन्छ ।
कर्मचारीलाई एनओसी पत्र दिनै चापाचाप हुने भएकाले पेस भएका कागजात नक्कली हुन वा सक्कली भनेर जाँच गर्ने समय नै नहुने गरेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । एनओसी शाखामा कार्यरत एक कर्मचारीले भने, ‘एनओसीका लागि दैनिक २/३ हजार निवेदन आउँछन् । ती मध्ये ६०० देखि ७०० जनालाई दैनिक एनओसी दिने गरेका छौँ । उनीहरुरूले पेस गरेको कागजात सक्कली वा नक्कली भनेर छुट्याउने समय नै हुँदैन । डकुमेन्ट जाँच गर्न थाल्यो भने दैनिक ५० जनालाई पनि एनओसी दिन सकिँदैन ।’
ती कर्मचारीका अनुसार एनओसी शाखालाई विद्यार्थीले पेस गरेका सबै कागजात हेर्न सक्ने सुविधासमेत छैन । अहिले एनओसी शाखालाई विद्यार्थीको कक्षा १२ को मार्कसिट, नागरिकता र पासपोर्ट मात्र हेर्न सक्ने सुविधा छ ।
कन्सल्टेन्सी र विद्यार्थीको बदमासीमा शिक्षा मन्त्रालयको लालमोहर
एनओसी लिन विद्यार्थी र कन्सल्टेन्सीले बुझाउने नक्कली कागजातमा शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले लालमोहर लगाउने पाइएको छ ।
एनओसी शाखा प्रमुख वीरेन्द्रजंग थापा विद्यार्थी र कन्सल्टेन्सीले एनओसी लिन पेस गर्ने विश्वविद्यालयको अफर लेटरमा गरेको छेडखानी (बदमासी) जाँच गर्ने ठाउँ नभएका कारण नक्कली एनओसी बनाएर बीपीपी विश्वविद्यालयमा विद्यार्थी गएको कुरा स्वीकार गर्छन् ।
उनका अनुसार अहिले भने बीपीपीको ‘हेल्थ एण्ड केयर’ कार्यक्रम एनओसी दिन बन्द गरिएको छ । करिब दुई महिनादेखि उक्त कार्यक्रममा एनओसी दिन बन्द गरिएको उनले जानकारी दिए ।
थापाले भने, ‘अहिले रोकिएको छ त्यो । पहिला गएको सत्य हो । करिब दुई महिना पहिला म आएपछि रोकिएको हो । तीन वर्षेमा गइरहेका छन् । डिप्लोमा एकवर्षे रोकिएको छ ।’ उनी यसमा आफ्नो शाखाको कमजोरी भएको स्वीकार गर्छन् ।
उक्त कार्यक्रममा धेरै जान थालेपछि केही गुनासो पनि आयो । तथ्य जाँच गर्दा गलत भएको देखिएपछि बन्द गरिएको शाखा प्रमुख थापा बताउँछन् । अफर लेटर जाँच गर्ने ठाउँ नहुने भएका कारण पेस गरेकै कागजातका आधारमा एनओसी दिने गरेको उनी बताउँछन् ।
उनले भने, ‘अब के गर्ने, अफर लेटर भेरिफाई गर्ने ठाउँ हुँदैन । कुन अफर लेटरको म्याद कति हो भन्ने कुरा अफर लेटरमा जे लेखेर आयो त्यही हो । शंका लागेपछिमात्र खोजी हुने हो ।’
नक्कली कागजात देखाएर विद्यार्थीले धमाधम एनओसी लगिरहँदा यसमा एनओसी शाखाको पनि मिलेमतो रहेको आशंका गर्ने ठाउँ देखिन्छ भन्ने प्रश्नमा उनले शंका गर्ने ठाउँ रहेको स्वीकार गरे ।
शाखा प्रमुख थापाले भने, ‘हामीले यो कुरा शिक्षा मन्त्रालयलाई पनि भनेका छौँ । विश्वविद्यालयलाई हामीले सिधैँ सोध्न पनि मिल्दैन । विश्वविद्यालयसँग सोधपुछ गरेर भेरिफाई गरेर एनओसी दिँदा धेरै समय लाग्छ, विद्यार्थीलाई छिट्टो चाहिएको हुन्छ ।’
अहिले पनि कुनै विद्यार्थी वा कन्सल्टेन्सीले अफर लेटरमा छेडखानी गरेर एनओसी लियो भने पनि त्यसलाई सहजै भेरिफाई गर्न सक्ने अवस्था नरहेको उनले बताए ।
एकवर्षे डिप्लोमा एनओसी दिन बन्द भएपछि त्यही कोर्सलाई तीनवर्षे बनाउँदै बीपीपी
शिक्षा मन्त्रालयअन्तर्गतको एनओसी शाखाले बीपीपीको एकवर्षे हेल्थ एण्ड केयर डिप्लोमा कोर्समा एनओसी दिन बन्द गरेपछि विश्वविद्यालयले अहिले त्यही कोर्सलाई तीनवर्षे बनाउन थालेको छ । पहिले एकवर्षे डिप्लोमा कोर्समा विद्यार्थी पठाएका कन्सल्टेन्सीहरूले अब बीपीपीको उक्त कोर्स तीनवर्षे भएर आउन लागेको भन्दै सामाजिक सञ्जालमा प्रचार–प्रसार गर्न थालिसकेका छन् ।
एकवर्षे डिप्लोमा कोर्समा एनओसी दिन बन्द गरेपछि त्यही कोर्सलाई तीनवर्षे बनाउन आफूहरूले विश्वविद्यालयलाई भनिसकेको भन्दै कन्सल्टेन्सी व्यवसायीहरू आउने गरेको एनओसी शाखाका एक कर्मचारीले बताए । उनका अनुसार अब कन्सल्टेन्सीकै मिलेमतोमा विश्वविद्यालयले त्यही एकवर्षे डिप्लोमा कोर्सलाई तीनवर्षे कार्यक्रम बनाउँदैछ ।

नेपालका लागि बीपीपी विश्वविद्यालयका म्यानेजर शिव केसीले सामाजिक सञ्जालमा राखेको पोष्टले पनि उक्त कुरालाई पुष्टि गर्छ । उनले फेसबुकमा अब ‘हेल्थ एण्ड केयर’ कार्यक्रम तीनवर्षे कार्यक्रम भएर आउन लागेको उल्लेख गरेका छन् ।
कुनै पनि कन्सल्टेन्सीले गलत प्रचार, प्रसार गर्नुहुँदैन : महासचिव भुसाल
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का महासचिव दीपकराज भुसाल कुनै पनि कन्सल्टेन्सीले विदेशमा अध्ययन गर्न जानका लागि एनओसी नपाउने र विदेशमा अध्ययन गरिसकेपछि नेपालमा समकक्षता नपाउने कार्यक्रमबारे प्रचार–प्रसार गर्न नहुने बताउँछन् । त्यस्ता विषयमा गलत प्रचार–प्रसार गर्ने इक्यानका सदस्य कन्सल्टेन्सीहरू संलग्न रहेको पाइएमा उनीहरूलाई इक्यानले अनुशासनको दायराभित्र ल्याउने पनि उनले बताए ।

उच्च शिक्षा अध्ययन,तालिम वा अन्य कुनै पनि विद्यार्थीले लिन चाहेको र कानुनीरूपमा सही रहेको विषयमा कन्सल्टेन्सीले एकवर्ष, ६ महिना वा ब्याचलर लेभलका कोर्सका लागि विदेश जान सही परामर्श दिन सक्ने जनाउँदै महासचिव भुसालले गलत ढंगले नेपालमा समकक्षता नपाउने विषयमा एक वर्षमै ब्याचलर सकिन्छ भनेर गलत ढंगले काम गर्न नहुने बताए ।
जुनसुकै लेभल वा कोर्स अध्ययन गर्न विद्यार्थीलाई अध्ययनका लागि विदेश जान पाइन्न भन्न नमिल्ने उल्लेख गर्दै भुसालले डिप्लोमा अध्ययन गरेर ब्याचलरको सर्टिफिकेट प्राप्त गर्न सकिन्छ भन्ने खालका गलत ढंगका क्रियाकलाप भने गर्न नहुने बताए ।
‘गलत ढंगले कुनै कन्सल्टेन्सीले प्रचार–प्रसार गरेका छन् भने इक्यानको अनुशासन डिपार्टमेन्टमार्फत इक्यानले ती संस्था विरुद्ध कारबाही चलाउँछ । तर, विद्यार्थी बुझेर ट्रेङिग कोर्स, ६ महिना, एक वर्ष वा दुई वर्षका कुनै पनि कोर्समा सही ढंगले जान्छ भने पढ्न जान पाइन्न भन्न मिल्दैन । तर डिप्लोमामा गएर तैले ब्याचलरको डिग्री पाउँछस् भन्नु गलत हुन्छ,’ भुसालले फरकधारसँग भने ।
उनका अनुसार विश्वका विभिन्न विश्वविद्यालयले विभिन्न खालका शैक्षिक कार्यक्रमका प्याकेजहरू निर्माण गरेका हुन्छन् । तर, ती कार्यक्रमले नेपालमा समकक्षता प्राप्त गर्छन कि गर्दैन भन्ने कुरामा स्पष्ट भएर कन्सल्टेन्सी र विद्यार्थी दुवैले काम गर्नुपर्ने उनी बताउँछन् ।
कन्ट्री म्यानेजर केसी भन्छन्– अरू विश्वविद्यालयले पनि गरेका छन्
‘हेल्थ एण्ड केयर’ कार्यक्रम र त्यसको औचित्यबारे बीपीपी विश्वविद्यालयका नेपालका कन्ट्री म्यानेजर शिव केसीले यो कार्यक्रममा अहिले एनओसी बन्द भएर विद्यार्थी जान बन्द भइसकेको बताए ।

बीपीपी विश्वविद्यालयमा मात्र नभएर अहिले विभिन्न देशका विभिन्न विश्वविद्यालयमा टपअप कोर्स अध्ययन गर्न गइरहेको जनाउँदै केसीले विश्वविद्यालयले तयार गरेको कार्यक्रममा विद्यार्थी इच्छुक भए अध्ययन गर्न पाइने तर्क गरे । आफूहरूले गलत काम नगरेको उनको भनाइ छ । उक्त कोर्सले समकक्षता पाउँदैन भन्ने गुनासो आएपछि अहिले उक्त कोर्समा विद्यार्थी जान बन्द भएको केसी बताउँछन् ।
यस्ता कोर्समा अष्ट्रेलिया, न्यूजिल्याण्ड,अष्ट्रेलियालगायत देशमा विद्यार्थी गइरहेको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।