गृहमन्त्री ओमप्रकाश अर्याल र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको सम्बन्धमा दरार आएको छ । एक समय बालेनको नजिकका विश्वासिला पात्रमात्रै होइन, उनकै कानुनी सल्लाहकार समेत रहेका अर्याल अहिले गृहमन्त्री छन् । जब अर्याल गृहमन्त्री बने त्यसयता दुवैबिचको सम्बन्ध पानी बाराबारको स्थितिमा पुगेको छ ।
कतिसम्म भने यहिबेला बालेनकै इसारामा सामाजिक सञ्जालमा फैलिएको ‘गृहमन्त्री तुरुन्त राजीनामा गर’ भन्ने ह्यासट्याग ट्रेन्डले मेयर बालेन र उनको टोलीकै सक्रियता देखाएको बताइन्छ ।
मेयर बालेनले पछिल्लोपटक बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका थिए । उक्त भेटमा बालेनले गृहमन्त्री अर्याललाई तत्काल हटाउन प्रधानमन्त्री कार्कीमाथि दबाब दिएको बताइएको छ । जेनजी आन्दोलनको क्रममा तत्कालिन सरकारप्रमुख रहेका केपी ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलगायतले चरम दमन गरेको भन्दै उनीहरूलाई पक्राउ गर्नुपर्ने माग बालेनसहित जेनजी अगुवाहरूको छ । तर, हालका गृहमन्त्रीले उनीहरूकै चाहनाअनुसार कदम नचाल्दा बालेन असन्तुष्ट छन् ।
जेनजीको बलमा सरकार बन्दा पनि कुनै बेला मेयर बालेनका कानुनी सल्लाहकार रहेका अर्याललाई बालेनले नै गृहमन्त्री बनाएको बताइएको थियो । तर, आफूले भनेबमोजिम अहिले ओलीलगायतलाई पक्राउ नगरेपछि बालेन चिढिन थालेका हुन् । यो बिचमा प्रधानमन्त्रीले पनि कानुनी प्रक्रिया पूरा नभई गिरफ्तारी सम्भव नभएको भन्दै बालेनको प्रस्ताव अस्वीकार गरेपछि बालेनसमर्थकहरूले सामाजिक सञ्जालमै आक्रोश पोख्न थालेका हुन् ।
अर्याल भने आफूलाई योजनाबद्ध रूपमा सामाजिक सञ्जालबाट बदनाम गर्न खोजिएको बताइरहेका छन् । बालेनकै पक्षधर समूहबाट त्यो भइरहेको उनको संकेत छ । कानुनी सुधारका अभियन्ता भनेर चिनिएका अर्याल र स्वतन्त्र जनमतका प्रतीक बनेका बालेनबीचको यो असमझदारी अब केवल व्यक्तिगत होइन, संस्थागत र राजनीतिक शक्ति संघर्षमा बदलिँदै गएको छ ।
बालेन र अर्यालबीचको दरारले दुई पात्रको राजनीतिक यात्रालाई मात्र होइन,समग्र अन्तरिम सरकारकै जग हल्लाइरहेको छ । यी दुईबीचको टक्करले अब सरकार कसरी अघि बढ्छ भन्ने पनि चासोको विषय बनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।