नेपालका केही युवाहरू नक्कली कागजात प्रयोग गरेर वैदेशिक अध्ययन अनुमति (एनओसी) लिई बेलायतको बिपिपी विश्वविद्यालयमा अध्ययन गर्न पुगेको खुलासा भएको छ ।
एनओसी लिनै नपाइने ‘बिएससी (हन्स) हेल्थ एण्ड केयर (टपअप)’ कार्यक्रमका लागि कागजातमा हेरफेर गरेर अनुमति लिने र मन्त्रालयका कर्मचारीको लापरबाहीमा त्यसको दुरुपयोग भइरहेको तथ्य फरकधारले फेला परेको हो । यस प्रकरणले विद्यार्थीदेखि कन्सल्टेन्सी र सरकारी संयन्त्रसम्मको कमजोर नियमन र बेथितिपूर्ण अभ्यासको यथार्थ उजागर गरेको छ ।
शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार मन्त्रालयले टपअप कार्यक्रमका लागि विद्यार्थीलाई एनओसी दिने गरेको छैन । तर विद्यार्थीहरुले नक्कली कागजात पेस गरेर धमाधम एनओसी लिएर विदेश जाने गरेको पाइएको हो ।
एनओसी बिना उच्च शिक्षा अध्ययनका लागि विदेश जान नपाइने भएका कारण कन्सल्टेन्सीहरुको सहयोगमा विद्यार्थीहरुले नक्कली डकुमेन्ट बनाएर एनओसी पत्र लिने गरेको पाइएको हो ।
बिपिपी विश्वविद्यालयले जारी गरेको ‘अफर लेटर’मा हेल्थ एण्ड केयर (टपअप)’ कार्यक्रम १२ महिनाको कोर्स भएको उल्लेख गरिएको छ । तर एनओसी लिँदा विद्यार्थी र कन्सल्टेन्सीहरुले अफर लेटरमा छेडखानी गरेर उक्त कोर्सको नाम ‘हेल्थ एण्ड केयर’ बनाई तीन वर्षीय स्नातक तहको कोर्स भएको नक्कली कागजात बनाएर एनओसी लिने गरेको तथ्य फेला परेको हो ।
नेपालमा बिपिपी विश्वविद्यालयसँग साझेदारी गरेरर फ्याक्लिन एजुकेशन कन्सल्टेन्सीले यो कोर्स नेपालमा भित्र्याएको हो, अहिले यो कन्सल्टेन्सीको नाम परिवर्तन गरेर ‘दी अफिसियल रिप्रेन्जेटिभ एलएलसी’ बनाइएको छ । जसका सञ्चालक दीपक खड्का हुन् । खड्काले बीपीपी विश्वविद्यालयबाट एक्सक्ल्युसिप एग्रिमेन्ट गरेर अन्य एजेन्सीलाई गलत सूचना दिएर विद्यार्थी लग्ने काम गरिरहेका छन् ।
१२ महिनाको यो कोर्स अध्ययन गर्न विश्वविद्यालयले १३ हजार ५०० स्टर्लिङ पाउन्ड अर्थात करिब २५ लाख रूपैयाँ निर्धारण गरेको छ । ‘बिएससी (हन्स) हेल्थ एण्ड केयर (टपअप)’ कार्यक्रम स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कोर्स भनिएपनि यो कोर्समा राखिएका अध्ययन समाग्री हेर्दा यो कार्यक्रम स्वास्थ्य क्षेत्रको नभई व्यवस्थापन तर्फको जस्तो देखिन्छ ।
नेपालका डिप्लोमा कोर्स कक्षा १२ सम्म सरहका हुने भएकाले त्यसलाई टपअप गरेर विदेशमा १२ महिना अध्ययन गर्दैमा त्यसले समकक्षता प्राप्त गर्न नसक्ने त्रिवि पाठ्यक्रम विकास केन्द्रका निमित्त प्रमुख राजेन्द्र कुँवरले जानकारी दिए ।
केही कन्सल्टेन्सीहरुले बीपीपी विश्वविद्यालयको ‘हेल्थ एण्ड केयर’ कार्यक्रमबारे एक वर्षमै ब्याचलर गर्न सकिन भ्रम फैलाउने काम गरिरहेका छन् । नेपालको डिप्लोमा कक्षा १२ सहर हुने भएका कारण कुनै पनि हालतम एक वर्षे कोर्स अध्ययन गरेर स्नातक तह पूरा गर्न सकिँदैन ।
बिपिपी विश्वविद्यालयको ‘हेल्थ एण्ड केयर’ टपअप प्रोग्राम अध्ययन गर्न जाने विद्यार्थीलाई धमाधम एनओसी दिइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि यसमा लापरबाही गरेको देखिन्छ । यो कार्यक्रममा एनओसी दिन मिल्दैन भन्ने विषयमा एनओसी शाखाका कर्मचारी जानकार छन् । तर पनि विद्यार्थीले भने धमाधम एनओसी लिइरहेका छन् ।
मन्त्रालयको एनओसी शाखाले कुनै पनि विद्यार्थीले एनओसी लिन सही कागजात पेस गरेको छ वा छैन भनेर त्यसको तथ्य जाँच नै नगरी एनओसी दिने गरेको छ । एनओसी शाखा प्रमुख वीरेन्द्रजंग थापाले विद्यार्थी र कन्सल्टेन्सीले एनओसी लिन पेस गर्ने विश्वविद्यालयको अफर लेटरमा गरेको छेडखानी (बदमासी) जाँच गर्ने ठाउँ नभएका कारण नक्कली एनओसी बनाएर बीपीपी विश्वविद्यालयमा विद्यार्थी गएको कुरा स्वीकार गरेका गर्छन् । उनका अनुसार अहिले भने बीपीपीको ‘हेल्थ एण्ड केयर’ कार्यक्रम एनओसी दिन बन्द गरिएको छ ।
हेल्थ एण्ड केयर डिप्लोमा कोर्समा एनओसी दिन बन्द गरेपछि विश्वविद्यालयले अहिले त्यही कोर्सलाई तीन वर्षे बनाउन थालेको छ । जसको पुष्टि बीपीपी विश्वविद्यालयका म्यानेजर शिव केसीले गरेका छन् । केसीले सामाजिक सञ्जाल फेसबुकमा अब ‘हेल्थ एण्ड केयर’ कार्यक्रम तीन वर्षे कार्यक्रम भएर आउन लागेको उल्लेख गरेका छन् ।
यो पनि : नक्कली अफर लेटरमा शिक्षा मन्त्रालयको लालमोहर, ‘मानव तस्करी’ को नयाँ शैली
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का महासचिव दीपकराज भुसालले कुनै पनि कन्सल्टेन्सीले विदेशमा अध्ययन गर्न जानका लागि एनओसी नपाउने र विदेशमा अध्ययन गरिसकेपछि नेपालमा समकक्षता नपाउने कार्यक्रमबारे प्रचारप्रसार गर्न नहुने बताउँछन् ।
त्यस्ता विषयमा गलत प्रचारप्रसार गर्ने इक्यानका सदस्य कन्सल्टेन्सीहरु संलग्न रहेको पाइएमा उनीहरुलाई इक्यानले अनुशासनको दायराभित्र ल्याउने पनि उनले बताए ।
‘हेल्थ एण्ड केयर’ कार्यक्रम र त्यसको औचित्यबारे फरकधारले बीपीपी विश्वविद्यालयका नेपालका कन्ट्री म्यानेजर शिव केसीले यो कार्यक्रममा अहिले एनओसी बन्द भएर विद्यार्थी जान बन्द भइसकेको बताए । उनले बीपीपी विश्वविद्यालयमा मात्र नभएर अहिले विभिन्न देशका विभिन्न विश्वविद्यालयमा टपअप कोर्स अध्ययन गर्न गइरहेको उल्लेख गर्दै आफ्नो गल्ती ढाक्न खोजिरेका छन् ।
बिपिपी विश्वविद्यालय एक उदाहरण मात्र हो । यसरी नक्कली कागजातको सहारामा एनओसी लिएर विदेश अध्ययनका नाममा पलायन हुने प्रवृत्ति बढ्नु दुर्भाग्य हो । विद्यार्थीलाई लोभ देखाउने विदेशी विश्वविद्यालय, उनीहरूलाई पठाउने कन्सल्टेन्सी र जाँचबिन नगरी एनओसी दिने सरकारी निकाय — तीनै पक्षको गैरजिम्मेवारीले युवाहरूको भविष्य अनिश्चित बन्दै गएको छ । वैदेशिक अध्ययन नियमन गर्ने संरचना कागजमै सीमित रहँदा शिक्षा अब अवसर होइन, व्यापारको रूप लिन थालेको छ । यसको अन्त्य गर्न राज्य संयन्त्रले कडाइका साथ अनुसन्धान र कारबाहीको सुरुआत गर्नुपर्ने आवश्यकता झनै बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।