नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको नेपाली कांग्रेस अहिले गम्भीर सङ्कटमा छ । नेताहरूको गुटगत स्वार्थ र व्यक्तिगत आकांक्षा र सत्ता मोहले पार्टीको मूल आत्मा । राष्ट्र र लोकतन्त्रप्रतिको निष्ठा,कमजोर बनाउँदै छ ।
अहिले चलिरहेको केन्द्रीय समिति बैठक केवल औपचारिक बैठक होइन,यो पार्टीको भविष्य र देशको लोकतान्त्रिक ढाँचासँग जोडिएको निर्णायक क्षण हो । नेतृत्वले सुधारको बाटो समाउने कि अहङ्कारमा डुबेर पार्टीलाई इतिहासको किनारमा पुर्याउने ? यो प्रश्न अब केवल कार्यकर्ताको मात्र होइन, राष्ट्रिय दृष्टिकोणले पनि महत्त्वपूर्ण छ ।
नेपाली कांग्रेस आज आफ्नो इतिहासकै निर्णायक मोडमा उभिएको छ । देशमा फैलिएको भ्रष्टाचार,सामाजिक असमानता र बेथिति जनताको विश्वास र आकाङ्क्षालाई गहिरो चोट पुर्याइरहेको छ । कांग्रेसको भूमिका केवल गुटगत स्वार्थ र व्यक्तिगत लाभमा सीमित रह्यो भने नेपालको लोकतन्त्र र राष्ट्रिय हित दुवै जोखिममा पर्न सक्छ ।
कांग्रेस केन्द्रीय समितिको आज केवल बैठक मात्र होइन । यो पार्टीको भविष्य र देशको लोकतान्त्रिक संरचनासँग जोडिएको निर्णायक क्षण हो । नेतृत्वले सुधारको बाटो समाउने कि अहङ्कार र गुटबन्दीको दलदलमा डुबेर पार्टीलाई इतिहासको किनारमा पुर्याउने ? यो प्रश्न अब केवल कार्यकर्ताको होइन, राष्ट्रभक्त नागरिकको अपेक्षा पनि हो ।
कांग्रेसको गौरवशाली इतिहासले देखाउँछ राष्ट्रप्रति निस्वार्थ सेवा, पार्टीप्रति निष्ठा र व्यक्तिगत स्वार्थभन्दा माथि विचारको प्राथमिकता हो । तर आजको यथार्थ भनेको त्यसको विपरीत छ । गुटगत स्वार्थ र व्यक्तिगत आकाङ्क्षाले पार्टीलाई भित्रैबाट कमजोर बनाइरहेको छ । जनताको विश्वास र लोकतान्त्रिक सिद्धान्तमा दरार पार्दै छ ।
नयाँ पुस्ता,विशेष गरी जेनजी अब मौन छैन । उनीहरूले स्पष्ट प्रश्न उठाएका छन् । ‘कांग्रेस सच्चिने कि सक्किने ?’ यो विरोध होइन,सुधारको आह्वान हो । उनीहरूले चाहन्छन् कांग्रेसले राष्ट्र र लोकतन्त्रप्रतिको आफ्नो निष्ठा पुनःस्थापित गरोस् । सत्ता र पद भन्दामाथि देशको हित राखोस् ।
गुट होइन, योग्यता र निष्ठालाई सम्मान गर्ने, राष्ट्र र जनताको हितलाई केन्द्रमा राख्ने पार्टी बन्नुपर्छ
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर केवल असन्तुष्टि होइन,यो सुधारको स्पष्ट सन्देश हो । अब नेतृत्वले सुन्ने, बुझ्ने र कदम चाल्ने साहस देखाउनुपर्छ । समयले कुर्दैन,जनता अब मौन बस्दैन । आउँदो दिनमा नेपाली कांग्रेस त्यही पार्टी हुनुपर्छ,जसले भ्रष्टाचारको विरुद्ध लड्ने, सामाजिक असमानता घटाउने र देशभरको न्याय र विकास सुनिश्चित गर्ने ।
लोकतन्त्रको विकल्पमा कांग्रेसलाई अझ सशक्त लोकतान्त्रिक पार्टीको रूपमा अघि बढाउने । गुट होइन, योग्यता र निष्ठालाई सम्मान गर्ने, राष्ट्र र जनताको हितलाई केन्द्रमा राख्ने पार्टी बन्नुपर्छ । हामी सबै विश्वास गर्छौँ,यदि कांग्रेसले अब सही मार्ग रोज्यो भने यो पार्टी केवल देशको राजनीति मात्र होइन,राष्ट्रिय चेतना र लोकतन्त्रको संरक्षकको रूपमा अगाडि बढ्न सक्छ ।
अन्त्यमा निर्णय तपाईँहरूको हातमा छ,सच्चिने कि अहङ्कारमा डुबेर सक्किने ?
लिम्बु कांग्रेसका युवा नेता हुन्
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।