२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

ओडिआईमा कुशल भुर्तेलको विकल्प को ?

क्रिकेटमा ओपनिङ ब्याटरको भूमिका टिमको सफलतासँग प्रत्यक्षरूपमा जोडिएको हुन्छ ।


प्रारम्भिक ब्याटरले राम्रो सुरुवात दिलाए खेलको आधार बलियो बन्ने र जितको सम्भावना उच्च हुने इतिहास रहँदै आएको छ ।



नेपालले पनि धेरै खेलमा ओपनरको उत्कृष्ट प्रदर्शनका कारण सानदार जित हात पारेको उदाहरण प्रशस्त छन् ।

तर, पछिल्ला खेलहरूमा नेपाली ओपनरहरू ठूला इनिङ्स खेल्न नसक्दा टोलीलाई स्थिर सुरुवात दिलाउन कठिन भइरहेको छ ।



केही वर्षयता नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले निरन्तर ओपनिङ गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय करियरको सुरुवातमा ओपनिङमा सफल देखिए पनि पछिल्लो समय भने उनीहरू संघर्ष गरिरहेका छन् । कुशल र आसिफबीच पहिलो विकेटका लागि ठूलो साझेदारी देख्न नपाएको महिनौँ भयो । 

उनीहरूमध्ये अहिले ओडिआईमा कुशल बढी खराब लयमा छन् । उनले पछिल्लो १५ ओडिआईमा २९८ रन मात्र बनाएका छन्, त्यसक्रममा कुशलको ब्याटबाट एक अर्धशतक मात्र निस्किएको छ ।



ओपनिङमा उनी निरन्तर सस्तैमा आउट हुँदा नेपालले अपेक्षाअनुसारको नतिजा निकाल्न सकेको छैन । हालसम्म कुशलले ओडिआईमा ६१ इनिङ्स खेलेका छन्, जसमा उनले ९ अर्धशतक र एक शतकीय पारीको मद्दतमा १ हजार ३९८ रन बनाएका छन् ।

कुशलले ती नौमध्ये आठवटा अर्धशतक ४६ इनिङ्समा बनाएका थिए । तर, त्यसपछिको १५ पारीमा भने उनले एउटा मात्र अर्धशतक बनाएका छन् ।

कुशल ओडिआईमा लगातार फ्लप हुँदा पनि नयाँ खेलाडीलाई मौका नदिएको भन्दै समर्थकले प्रशिक्षकको आलोचना गर्न थालेका छन् । र, उनीहरूले  ओपनिङमा कुशलको विकल्प खोज्नुपर्ने आवाज उठाउन पनि थालेका छन् । 

कुशलको विकल्प को ? 

ताजा स्थितिमा नेपालको टिममा ओपनिङ ब्याटरको विकल्पमा अनिलकुमार साह छन् । उनले यस भूमिकामा ब्याटिङसमेत गरिसकेका छन् । तर, अनिलमाथि प्रशिक्षकले त्यति विश्वास गरेका छैनन्, जति कुशलप्रति गरिएको छ ।

अनिलले अहिलेसम्म जम्मा १७ इनिङ्स खेल्न पाएका छन्, जसमा उनले चार अर्धशतक र एक शतकीय पारीको मद्दतमा ४ सय ३ रन बनाएका छन् । राम्रो ओडिआई करियरका बाबजुद अनिललाई कमै अवसर दिइएको छ ।

एक/दुई खेलमा रन नबन्नेबित्तकै उनलाई बाहिर राखिन्छ । तर, अब भने अनिलले कुशलको स्थानमा मौका पाउन सक्छन् । नेपालले आइसिसी विश्वकप लिग–२ मा अझै १८ म्याच खेल्न बाँकी छ । र, नेपाली टोली अहिले यही लिग–२ सिरिजका लागि यूएईमा छ ।

नेपालले श्रृंखलाको दुई म्याच खेलिसकेको छ । ती खेलमा कुशल भुर्तेल क्रमशः शून्य र सात रनमै आउट भए । अब तेस्रो खेलमा उनको स्थानमा अनिलले मौका पाउन सक्छन् ।

यस्तै, ओडिआईमा ओपनिङ ब्याटरको अर्को विकल्प हुन सक्छन्, अर्जुन कुमाल । उनले उमेर समूहदेखि घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

साथै, अर्जुनले नेपाल ‘ए’ बाट आयरल्याण्डविरुद्ध शतकीय पारीसमेत खेलिसकेका छन् । तर, पछिल्लो समय उनले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समेत मौका पाइरहेका छैनन् । अर्जुन यस वर्ष पनि राम्रो लयमा छन् । उनले पछिल्लो पाँच घरेलु म्याचमा २४० रन बनाएका छन्, त्यसक्रममा अर्जुनले एक शतकीय पारी खेलेका छन् ।

लगातार रन बनाए पनि उनी मुख्य प्रशिक्षकको नजरमा भने परेका छैनन् । राष्ट्रिय टिमका ओपनर लगातार ठूलो पारी खेल्न असफल भएपछि भने अर्जुनजस्ता युवा स्टारको खोजी हुन थालेको छ । 

  • प्रकाशित मिति : १५ कात्तिक, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया