कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा अर्थात् महेन्द्र तालसम्मको हवाई र सडक मार्ग सुधार भएपछि त्यहाँ पुग्ने पर्यटकको चहलपहल पनि बढेको छ ।
पर्यटकको आगमन बढेसँगै राराका घोडा व्यवसायी पनि उत्साहित छन् । पछिल्ला महिनामा मौसम खुलेसँगै सप्तरङ्गी राराको दृश्य हेर्न, घुम्न, अध्ययन–अनुसन्धान गर्न पर्यटकहरूको चाप बढेपछि घोडा व्यवसाय सञ्चालन गर्दै आएका स्थानीयहरुका लागि राम्रो आम्दानीको स्रोत बनेको छ ।
रारा तालको वरिपरी घुम्न र चुचेमारा साथै मुर्मागाँउसम्म घोड सवार गर्दा निकै आनन्द महसुस हुने गर्छ । हालै काठमाडौंबाट आएका २५ जना भन्दा बढीको टोलीले घोडामा यात्रा गरे । काठमाडौं बुढानिकण्ठ–१० घर भई रारा घुम्न आएकी आशा अधिकारीले घोडचढीले रारा घुम्नुको बेग्लै आनन्द आएको प्रतिक्रिया दिइन् ।
‘हामी पनि मुर्मा टप पुग्दा त्यहाँबाट सैपाल हिमाल, छायानाथ ,चंखेली हिमाल, चुचेमारा हिमाललगायत अन्य धार्मिक तीर्थस्थल सहित बाजुरा, हुम्ला, जुम्ला, बाजुरा, अछामलगायत सात जिल्लाको अवलोकन गरेर फर्किँदा निकै आनन्द आयो,’ उनले भनिन् ।
बिगतका भन्दा पछिल्ला वर्षहरूमा कर्णाली राजमार्गको सडक निर्माण कार्यमा दैनिक सुधार हुँदै जान थालेपछि कर्णाली प्रदेशलगायत देशका मुख्य सहर पोखरा, काठमाडौं, नेपालगञ्ज, विराटनगर, चितवनलगायतका ठाउँबाट नेपाली भाषाको उद्गम थलो जुम्लाको कनका सुन्दरी हुँदै रारा आउने पर्यटकहरूको संख्या बढेको स्थानीय होटल व्यवसायीहरूको भनाइ छ ।
दसैं तिहार सकिएपछि रारामा दैनिक दैनिक ५० देखि १ सय ५० जना सम्म स्थानीय पर्यटक रारा घुम्न आउने गरेका गरेका छन् । घोडा व्यवसाय समितिको निर्णय अनुसार पालैपालो गरेर घोडाको प्रयोग हुने गरेको छ । रारा घुम्न आएका पर्यटकहरू तालको किनारमा फोटो खिच्ने, टिकटक बनाउने, घोडा चढेर फोटो सुट गर्ने गरेका छन् ।
सल्लेरीबाट रारा हुटु, माझघट्, मुर्माटप, महादेब मन्दिर, लागुडा मन्दिरसम्म घोडाबाट पर्यटकहरू रमाउँदै जाने गरेका छन् । घोडा चालकले दैनिक २५ सयदेखि ८ हजार रूपैयाँसम्म कमाउने गरेका छन् । तर घोडा व्यवसायीहरूबाट उठाएको कर सदूपयोग नभएकोमा गुनासो बढेको छ ।
पर्यटकहरूबाट घोडा व्यवसायीले उठाएको रकमबाट मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति मुगुले २० प्रतिशत र १० प्रतिशत रकम घोडा चालक समितिमा जम्मा गर्ने र पर्यटन भरिया शुल्क बापत कार्यालयमा जम्मा भएको १० प्रतिशत कार्यालयमा जम्मा भएको रकम पर्यटकहरू र घोडा चालकहरू बिरामी हुँदा र केही समस्या पर्दा खर्च गर्नका लागि जम्मा गर्ने गरेका छन् ।
तर घोडा हिडाउने बाटो नै खराब हुँदा व्यवसायी चिन्तित भएका छन् । विशेष गरी रारामा बन्दै गरेका साइकिलिङ रुटका कारण समस्या हुने गरेको छ । घोडाका लागि सहज बाटोका लागि घोडा चालक समिति र कार्यालयको सहकार्यमा बाटो सुधार गर्ने मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति राराका अध्यक्ष बिष्णु रावलले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।