एक समय नेपाली चलचित्रका गीतहरूले दर्शक स्रोता माझ तहल्का पिट्थे । जनजनको मनमा मात्र होइन, पुस्तौँको सम्झनामा पनि आफ्नो स्थान बनाइदिन्थे ।
चलचित्र रिलिज हुनुअघि नै ती गीतहरूले जनमानसमा उत्सुकता जगाइदिन्थे । रेडियो र टेलिभिजनमा बज्ने ती गीतहरू आज पनि गाउँ–सहरका प्रत्येक कुनामा गुन्जिन्छन्, र मानिसहरूले ती गीतका शब्द र धुन आफ्नो जीवनसँग जोड्छन् ।
तर पछिल्लो समयमा भने ती जादुमयी गीत र धुनहरू हराउँदै गएको अनुभूति हुन थालेको छ । किनभने अहिलेका चलचित्रका गीतहरू बजारमा आउँछन्, केही दिन चर्चामा रहन्छन्, तर लामो समयसम्म स्थान जमाउन सक्दैनन्, मनमनमा आफ्नो गहिरो छाप र भाव छाड्न सक्दैनन् ।
पुराना गीतहरूमा जस्तो आत्मीयता, गहिराइ र स्मरणहरू हालका गीतहरूले बोकेका छैनन् भन्नेमा संगीतप्रेमीहरूसमेत एकमत छन् । पहिले गीत, शब्द, संगीत र भावनाको संगमबाट बन्थ्यो । रचनाकारले कथा, पात्र र परिस्थितिलाई महसुस गरेर गीत लेख्थे । अहिले भने गीतहरू अधिक तर प्रचारका लागि बनाइन्छन्, जसले चलचित्रको कथा भन्दा पनि ट्रेन्ड र भ्यूजको संख्या बढाउने उद्देश्य राखेको तिनैक्षेत्रमा काम गर्नेहरू बताउँछन् ।
जसकारणले गीतमा मौलिकता हराउन थालेको छ । विदेशी धुन र शैलीको प्रयोगले नेपाली गीत संगीतको स्वाद बिस्तारै हराउँदै गएको अनुभूति हुन थालेको हो । त्यस्तै डिजिटल युगले संगीत बनाउन सजिलो बनाएको छ, तर त्यही सहजताले मिहिनेत र समयको महत्त्व भने घटाएको छ ।
त्यसले गीतको भावनात्मक गहिराइमा असर पारिरहेको जानकारहरू बताउँछन् । गीतका शब्दहरू पनि काव्यमय र सन्देशयुक्त हुन छोडेका छन् । अहिलेका शब्दहरू आकर्षक र ट्रेन्डी भए पनि दीर्घकालीन प्रभाव पार्न भने असमर्थ भइरहेका छन् ।
चलचित्रमा गीतको भूमिका पनि समयसँगै बद्लिएको छ । अघिल्ला दशकमा गीतले कथा अगाडि बढाउने, पात्रको भावना प्रकट गर्ने र दर्शकलाई कथासँग जोड्ने काम गथ्र्यो । तर अहिले गीतहरू कथाको हिस्सा भन्दा पनि विज्ञापनको माध्यम बनेको आरोप खेपिरहेका छन् । चलचित्र रिलिज हुनुअघि नै गीत रिलिज हुँदै आए पनि अहिले त्यसले फिल्मसँग भावनात्मक सम्बन्ध गाँस्न भने सकिरहेका छैनन् ।
गीतकार कृष्णहरि बराल पनि अहिलेका गीत कालजयी बन्न नसकिरहेको संकेत गर्छन् । गीतमा यथार्थ, पीडा र प्रेम मिसाउन सकियो भने मात्रै गीत कालजयी र दर्शक स्रोताको मनमा बस्न सक्ने उनी बताउँछन् ।
उनी भन्छन्, ‘कसैले सिर्जना गरेको भावनाले अरूमा प्रभुत्व जमाउन सक्यो भने त्यो जीवन्त हुन्छ । गीत त्यही उत्कृष्ट र हिट हो, जुन एक पटक सुनेपछि कहिल्यै बिर्सिँदैनन् । जीवन भरी सुनेर पनि कहिल्यै याद नहुने गीतको कुनै मूल्य हुँदैन ।’
गीतमा प्रविधि भन्दा बढी भावना चाहिन्छ । जब गीतले हृदय छोइराख्छ, तब मात्रै त्यो अमर बन्छ। यही भावनाको कमीले अहिलेका गीतहरू अस्थायी बन्न थालेका जानकारहरू बताउँछन् ।
नेपालको चलचित्र उद्योगले अहिले गुणात्मक भन्दा परिमाणात्मक उत्पादनमा ध्यान दिइरहेको अवस्थामा, संगीतको आत्मा पुनः खोज्नु आवश्यक देखिन्छ । जब शब्द, धुन र भावना पुनः मिल्नेछन्, तब मात्रै नेपाली चलचित्रका गीतहरू पुनः कालजयी बन्न सक्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।