१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

हरिबोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो

हरिबोधिनी एकादशीका अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हाम्रा स्थानीय समाचारदाताले जनाएका छन् ।


काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंका शेष नारायण र इचङ्गुनारायणस्थानका साथै काठमाडौं उपत्यका र बाहिरका अन्य साना ठूला नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो बढेको हो ।



यी मन्दिरमा आज विशेष मेला लागेको छ । साथै नागार्जुन नगरपालिका-७ रामकोटस्थित  बद्रीनारायण धाममा पनि मेला लागेको छ । यसैगरी तनहुँको व्यास नगरपालिका–९ स्थित सिद्धेश्वर राजापानी महादेव मन्दिरमा एकादशी मेला लागेको छ ।



काठमाडौं उपत्यकाका चार नारायणस्थानमा जान नसक्नेले काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थान र नारायणहिटीस्थित चातुर्व्युह नारायण मन्दिरको दर्शन गर्दा चार नारायणको दर्शन एवं पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । यी दुवै मन्दिर शेषशायी भगवान् नारायण विराजमान छन् ।

बूढानीलकण्ठको नारायणस्थानमा ठूलो ढुङ्गामा निर्मित हर र हरि भगवानको यस्तो मूर्ति विश्वमा अन्यत्र कतै नभएको बताइन्छ । वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

यसैगरी, बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लागेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।



आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको दिनलाई हरिबोधिनी एकादशी भनिन्छ ।  हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोादरसँग तुलसीको विवाह गर्ने प्रचलन छ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाका लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

  • प्रकाशित मिति : १५ कात्तिक, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया