नेपालमा चलचित्रकर्मीलाई प्रोत्साहन र सम्मान गर्ने परम्परा २०४३ सालमा लायन्स क्लब काठमाडौंले आयोजना गरेको पहिलो चलचित्र–अवार्डबाट सुरु भएको मानिन्छ ।
‘कान्छी’ चलचित्रका शिव श्रेष्ठ र शर्मिला मल्लले त्यतिबेला सर्वोत्कृष्टको उपाधि पाएका थिए । त्यसयता नेपाली चलचित्र उद्योग विस्तारसँगै विभिन्न नाम र विधाका अवार्डहरू पनि तीव्र गतिमा बढ्दै गए । तर, संख्या बढे पनि प्रतिष्ठा र विश्वसनीयता भने घट्दै गएको गुनासो उठ्दै आएको छ ।
चलचित्र निर्देशक पुर्नेन्दु झा ‘अवार्ड’ हुनु सकारात्मक भए पनि संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिन्छन् । प्रतिष्ठा कायम नगरे अवार्ड व्यावसायिक उपलब्धिमा परिणत नहुने उनको तर्क छ । अवार्डहरूले मनोरञ्जनसँगै कला, संस्कृति, समाज र अर्थतन्त्रमा पनि योगदान पु¥याउने भएकाले यसको विश्वसनीयता अत्यावश्यक पनि ठहरिन्छ ।
त्यसैले यससँग सम्बन्धित गतिविधिको चर्चा हुने गर्छ । नेपालमा आयोजना हुने अवार्डहरूमा नेपाल सरकारद्वारा प्रदान गरिने राष्ट्रिय दीर्घसाधना सम्मान, नेपाल चलचित्र प्राविधिक संघको ‘नेफ्टा अवार्ड’, ‘डिजिटल सिने अवार्ड’, कामना फिल्म अवार्ड, एलजी सिने सर्कल अवार्ड, बक्स अफिस फिल्म अवार्ड लगायत छन् ।
प्रायः अवार्ड नेपालमै आयोजना हुने गरेका छन् भने केही विदेशमा पनि हुन्छन् । नेपाली चलचित्रको बजार विस्तारका लागि केही अवार्ड विदेशमा आयोजना गर्ने गरिन्छ । पछिल्लो वर्षदेखि बेलायतको लन्डन सहरमा नेपाली चलचित्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा)’ आयोजना भइरहेको छ । यस्ता, अवार्डले नेपाली चलचित्रको गतिविधि देखाउनुका साथै आकर्षण बढाउने विश्वास गरिएको हुन्छ ।
काठमाडौंबाहेक अन्य सहरमा यस्ता कार्यक्रम उल्लेख्य रूपमा भने भइरहेका छैनन् । विशेषतः तराईका सहरहरूमा भोजपुरी फिल्मको वर्चस्वले नेपाली चलचित्रको बजार कमजोर भइरहँदा तीनै तहका सरकारलाई सहयोगी भूमिका खेल्न पनि चलचित्रकर्मीहरूले आग्रह गरिरहेका छन् ।
नेपालमा अवार्डको संख्या बढ्नु चलचित्र उद्योगको सक्रियता देखाउने संकेत भए पनि पारदर्शी मापदण्ड, निष्पक्ष निर्णायक मण्डल र विश्वसनीय आयोजनाको अभावले यसको मर्यादा कमजोर बन्न थालेको छ ।
विश्वका ओस्कार र कान्सजस्ता अवार्डले पारदर्शितामार्फत प्रतिष्ठा कमाएका छन् । त्यसैले नेपाली अवार्डहरूलाई पनि गुणस्तर र निष्पक्षताको आधारमा सबल बनाउनुपर्ने आवश्यकता बढ्दो छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।