१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

बालेनको बखेडा
बालेनको स्ट्याटस प्रकरणः अभिव्यक्ति स्वतन्त्रता कि असंयमताको चरम रूप?

काठमाडौं महानगरका मेयर बालेन शाह फेरि विवादको केन्द्रमा छन् । शनिबार मध्य राति उनले फेसबुकमा लेखेको अश्लील स्ट्याटस अहिले राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म बहसको मुख्य विषय बन्न पुगेको हो । 


उक्त स्ट्याटसमा उनले नेपालका प्रमुख राजनीतिक दलहरू- कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपाप्रतिमात्रै होइन, छिमेकी मुलुक भारत, चीन र अमेरिकाको नामसमेत उल्लेख गर्दै एउटै अपमानजनक शब्द प्रयोग गरेका थिए । केही मिनेटमै पोस्ट हटाए पनि त्यसको स्क्रिन सट अहिले भाइरल भइसकेको छ।



अन्तर्राष्ट्रिय शक्तिसँग साठगाँठ गरेको आरोपसमेत पछिल्लो पटक बालेनले खेपी रहेका छन् । यहिबेला उनले चीन, भारत र अमेरिकासहितको नाम जोडेर आपत्तिजनक अभिव्यक्तिमाथि दिएपछि उनको चर्को आलोचना भइरहेको हो । सर्वसाधारणदेखि नेता र मन्त्रीसम्मेले उनको अभिव्यक्तिमाथि टिप्पणी गरिरहेका छन् । 

शिक्षामन्त्री महावीर पुनले सर्को तानेको बेला नलेख्न अनुरोध गरेका छन् । बालेनलक्षित टिप्पणीमा उनले सर्को ताने पनि सर्को तानेको बेला केही नबोल्न र नलेख्न अनुरोध गरेका हुन् । मन्त्री पुनले लेखेका छन्, ‘केही केही आशालाग्दा अभियन्ताहरू र अगुवाहरूले बेलाबेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो–जस्तो लाग्छ। सर्को ताने पनि केही छैन। तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ।’



एमाले नेता महेश बस्नेतले त बालेनको स्ट्याटसले उनको ‘स्तर’ नै देखाएको भन्दै अब जनता झुक्याउनेदिन गएको भनेका छन् । उनले बालेनको स्ट्याटसले उनी कस्ता हुन भन्ने देखाएको टिप्पणी गरेका छन् ।  त्यस्तै, एमालेकै पोलिटब्युरो सदस्य सूर्य थापाले अझ चर्को रूपमा बालेन गाँजाको अम्मली नै भएको आरोप लगाएका छन् । 

बालेनको कदमलाई समर्थन गर्नेहरू पनि छन् । कमेडिएन हिमेश पन्तले बालेनबाट थुप्रै युवाहरूमा आशा भरोसा जीवित रहेको प्रतिक्रिया दिएका छन् । उनले पुराना नेताहरूले जिम्मेवारीको नाटक गरेको समेत यही मौकामा आरोप लगाएका छन् ।

बालेनको लोकप्रियता र विवाद दुवै पुनः उत्कर्षमा पुगेको छ । एकातिर उनी सत्तारूढहरूसँगै दलको पनि निशानामा छन्, अर्कातिर सामाजिक सञ्जालमा युवा पुस्ताले आशाको केन्द्र भनिरहेका छन् । बालेन मेयरमात्रै होइनन्, जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकार निर्माणमा अदृश्य शक्ति बनेर सक्रिय भूमिकामा रहेको पनि बताइन्छ । 

यस्तोबेला दिएको अभिव्यक्तिले जनप्रतिनिधिले भावनाको चापमा असंयमित शब्द प्रयोग गर्नु लोकतान्त्रिक संस्कृति र जिम्मेवार पदको मर्यादासँग मेल नखाने टिप्पणी भइरहेको छ । बालेनको यो स्ट्याटस केवल एउटा फेसबुक पोस्ट मात्रै होइन, यो समसामयिक राजनीति र सामाजिक मनोविज्ञानको सङ्केत पनि हो । 



अभिव्यक्ति स्वतन्त्रता महत्त्वपूर्ण हुन्छ, तर त्यसले सीमाना नाघ्दा स्वतन्त्रता होइन, अराजकता जन्मिन्छ । बालेनको पछिल्लो स्ट्याटसले पनि त्यही वास्तविक जोखिम देखाइदिएको छ । 

  • प्रकाशित मिति : १६ कात्तिक, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया