१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

आइसिसी विश्वकप लिग-२ नेपालले खराब प्रदर्शन गर्नुको कारण

हालै आइसिसी टी–२० विश्वकप छनोटमा ६ खेलसम्म अपराजित रहेको नेपाली टिमले लिग–२ एकदिवसीय श्रृंखलामा पनि सोही लय कायम राख्नेमा समर्थक आशावादी थिए । तर, विश्वकप लिग–२ मा भने नेपालको प्रदर्शन अपेक्षाभन्दा विपरीत रह्यो ।


अर्थात् नेपालले जारी सिरिजमा लगातार तीन खेलमा हार बेहोरेको छ । नेपालले अमेरिकाविरुद्ध १ सय ६ रनको फराकिलो पराजयका साथ श्रृंखलाको सुरुवात गर्‍यो ।



यस्तै, नेपालले दोस्रो म्याचमा यूएईसँग चार विकेट तथा तेस्रो खेलमा अमेरिकाविरुद्ध पाँच विकेटको हार बेहोर्‍यो । टी–२०आईमा अपराजित यात्रा जारी राखेको नेपाली टिम ओडिआईमा चाहिँ किन यति खराब लयमा छ त ? 



जारी लिग–२ संस्करणमा नेपाल खराब लयमा रहनुको प्रमुख कारण हो, पर्याप्त अभ्यासको कमी । नेपालले यस श्रृंखलाअघि टी–२० विश्वकप छनोट खेलेको थियो । क्रिकेटमा ओडिआई र टी–२०आई विधाको विशेषता नै फरक छन् ।

लगातार टी–२० खेलिरहेका खेलाडीलाई ओडिआईको फर्म्याटमा घुलमिल हुन समय लाग्छ । र, टोलीको ताजा प्रदर्शन हेर्दा नेपाली खेलाडीलाई पनि त्यही भएको देखिन्छ ।

अहिले टिममा रहेका अनिलकुमार साह र भीम सार्कीबाहेक बाँकी खेलाडीले हालै छोटो प्रारूपको टी–२० प्रतियोगिता खेलेका थिए, जहाँ उनीहरूले राम्रो प्रदर्शन गरे । तर, ओडिआई सिरिजमा भने नेपाली खेलाडीको प्रदर्शन कमजोर देखियो ।

श्रृंखलाको सुरुवाती दुई खेलमा त नेपाली ब्याटरले निकै संघर्ष गरे । तेस्रो खेलमा भने उनीहरू ओडिआई प्रारूपमा घुलमिल भइरहेको संकेत देखियो । तर, तीनवटा म्याचसम्म आइपुग्दा नेपाली ब्याटर पूरा ५० ओभरसम्म भने मैदानमा टिक्न सकेनन् । यसले पुष्टि हुन्छ, पर्याप्त अभ्यासबिना खेलाडीले ओडिआई सिरिज खेलिरहेका छन् ।



नेपाल क्रिकेट संघ (क्यान) को ध्यान पनि पछिल्लो समय ओडिआईभन्दा टी–२०आईमा केन्द्रित देखियो । सोहीकारण नेपालले अहिले खराब नतिजा हात पारिरहेको छ ।

यदि एकदिवसीय अन्तर्राष्ट्रिय सकारात्मक नतिजा हासिल गर्ने हो भने क्यानले सोहीअनुरूप खेलाडी चयन र घरेलु प्रतियोगिताको ढाँचा बनाउनुपर्छ । क्यानले अब बहुदिवसीय म्याचलाई थप व्यवस्थित र प्रभावकारी बनाउन ध्यान दिन जरुरी छ ।

यस्तै, ओडिआईमा नेपालले खराब नतिजा हासिल गर्नुको अर्को कारण हो, विदेशमा सिरिज हुनु । क्रिकेट इतिहासमा नेपाली टोली विदेशी मैदानमा खासै सफल भएको छैन ।

नेपालले ओडिआईमा सानदार उपलब्धि घरेलु मैदानकै भरमा गरेको छ । घर बाहिर पर्याप्त लामो ढाँचाको क्रिकेट खेल्ने अवसर नपाएकाले विदेशी मैदानमा नेपालले संघर्ष गर्नु परिरहेको छ ।

विगतमा टी–२०आईमा पनि नेपालले त्यस्तै खराब नतिजा दिइरहेको थियो । तर, पछिल्लो समय राम्रो अभ्यास पाउँदा विदेशी भूमिमा पनि नेपालले टी–२०आईमा अपेक्षाकृत प्रदर्शन गरिरहेको छ ।

त्यसकारण नेपालले ओडिआईमा पनि प्रदर्शनमा सुधार गर्ने हो भने खेलाडीलाई विदेशी मैदानमा पर्याप्त एकदिवसीय फर्म्याटअनुसारको प्रशिक्षण दिनुपर्छ ।  

हारमा ह्याट्रिक गरेको नेपाली टिम अहिले लिग–२ श्रृंखलामा दबाबमा छ । १९ म्याच खेलिसकेको नेपालले १२ मा हार, पाँचमा जित र दुई खेलमा अंक बाँडेको छ ।

लगातारको हारले शीर्ष चारको सम्भावना कमजोर बनाएको नेपालले जारी श्रृंखलाको चौथो खेलमा बुधबार यूएईको सामना गर्ने तालिका छ । नेपाली टिम त्यो खेल जितेर यूएई भ्रमणको अन्त्य गर्ने योजना बनाएको छ ।  

  • प्रकाशित मिति : १६ कात्तिक, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया