दैनिक रूपमा हजारौँ मानिस राजधानी आउजाउ गर्ने नारायणगढ–मुग्लिन सडक, कहिले पहिरोले अवरुद्ध हुन्छ त कहिले ढुंगामाटोले खतरा सिर्जना गर्छ । चिनको सहयोगमा निर्माण भएको यो सडक अहिले आधुनिक रूपमा विस्तार भए पनि, प्रकृतिको जोखिमबाट अझै सुरक्षित हुन सकेको छैन ।
सडक डिभिजन भरतपुरका सूचना अधिकारी ई. कृष्णप्रसाद आचार्यका अनुसार नारायणगढ–मुग्लिन सडक वि.सं. २०३२÷३३ सालतिर चिन सरकारको सहयोगमा निर्माण गरिएको हो । सुरुवाती चरणमा यो सडक मिडियम लेनमा ५ दशमलव ५ मिटर चौडाइमा बनेको थियो ।
राजधानी काठमाडौं जाने प्रमुख मार्गको रूपमा विकसित यो सडकमा दैनिक हजारौँ सवारीसाधनहरू गुड्ने गरेका छन् । बढ्दो यातायातलाई मध्यनजर गर्दै बि.सं. २०७०÷७१ सालदेखि सडकलाई डेडिकेटेड डबल लेनमा विस्तार गर्ने कार्य सुरु गरी बि.सं. २०७५ सालमा विस्तार कार्य सम्पन्न गरिएको आचार्यले जानकारी दिए । यससँगै सडकमा रहेका १९ वटा पुलहरूलाई पनि डबल लेनमा रुपान्तरण गरिएको छ ।
सूचना अधिकारी आचार्यका अनुसार दासडुङ्गा देखि मुग्लिनसम्मको भू–बनोट पहिरो जाने प्रकारको भएकाले यो सडक खण्ड जोखिमयुक्त मानिन्छ । अधिकांश स्थानमा फ्याक्चर्ड रक (भाँचिएको ढुंगा)का पहाड भएकाले पहिरोको जोखिम बढी रहेको छ । हरेक वर्ष सक्रिय पहिरोका स्थानहरू परिवर्तन हुँदै जाने गरेको पनि बताइएको छ ।
विगतका वर्षहरूमा मौरी खोला र सेती दोभानखोला क्षेत्रमा बढी समस्या हुने गरेको भए पनि हालका वर्षहरूमा तुइन खोला, काली खोला र नाम्सी खोलामा पहिरोको जोखिम बढी रहेको आचार्यले बताए । जोखिम न्यूनिकरणका लागि सडक डिभिजन कार्यालयले विभिन्न प्राविधिक उपायहरू अवलम्बन गर्दै पहिरो हटाउने उपकरणहरू तयारी अवस्थामा राखेको र नियमित रूपमा काम भइरहेको आचार्यले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।