नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन १ मंसिरदेखि आयोजना हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान) लिगलाई भव्य बनाउन अहिले तीव्र तयारीमा छ । यता एनपिएलको आठवटै टिम विदेशी खेलाडी भित्र्याउन व्यस्त छन् ।
उनीहरूबीच स्टार खेलाडी अनुबन्ध का लागि तीव्र प्रतिस्पर्धा देखिन्छ । र, धेरै टिमले विदेशी कोटाबाट खेलाडी अनुबन्ध गरिसकेका छन् ।

दोस्रो संस्करण खेल्ने १० विदेशी स्टार :
आसन्न सिजनको एनपिएलमा देखिने सर्वाधिक चर्चित नाम हो, फाफ डुप्लेसिस । दक्षिण अफ्रिकाका पूर्वकप्तान डुप्लेसिसले विराटनगर किंग्सबाट एनपिएल खेल्ने छन् । फाफ दक्षिण अफ्रिकाका उत्कृष्ट ब्याटरमध्ये एक हुन् ।
उनको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजारभन्दा बढी रन छ । उमेरले ४१ वर्ष पुगे पनि फाफ अहिले पनि शारिरिकरूपमा फिट छन् । उनले आइपिएल, पिएसएल, बिबिएल, सिपिएललगायत कयौँ चर्चित लिग खेलिसकेका छन् ।
त्यस्तै, एनपिएल २०२५ खेल्ने अर्का विदेशी स्टार हुन्, मार्टिन गप्टिल । उनी पनि विराटनगर किंग्समा अनुबन्धित भइसकेका छन् । गप्टिलले गत सिजनमा पनि विराटनगरका लागि खेलेका थिए । उनी न्यूजिल्याण्ड टिमका उत्कृष्ट खेलाडीमध्ये एक हुन् ।

३९ वर्षीय गप्टिल न्यूजिल्याण्डका टी–२०आईमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले ११८ टी–२०आईमा २० अर्धशतक र दुई शतकीय पारीको मद्दतमा ३ हजार ५३१ रन बनाएका छन् ।
यस्तै, गप्टिल न्यूजिल्याण्डका लागि ओडिआईमा सर्वाधिक रन बनाउने सूचीमा तेस्रो स्थानमा छन् । उनले १९८ ओडिआईमा १८ शतक र ३९ अर्धशतकको मद्दतमा ७ हजार ३४६ रन बनाएका छन् ।
न्यूजिल्याण्डका यिनै महान क्रिकेटरलाई नेपाली समर्थकले फेरि टियू मैदानमा देख्न पाउने छन् । गप्टिलले पनि आइपिएल, सिपिएल, बिबिएललगायत धेरै चर्चित लिग खेलिसकेका छन् ।
त्यस्तै, एनपिएल २०२५ खेल्ने अर्का चर्चित विदेशी खेलाडी हुन्, डेविड मलान । उनी पहिलोपटक एनपिएल खेल्न लागेका हुन् । मलान इंग्ल्याण्डका लागि टी–२०आईमा उत्कृष्ट विगत बनाएका ब्याटर हुन् ।

उनले इंग्ल्याण्डका लागि तीनै प्रारूप गरी कुल १२४ म्याच खेले, जसमा मलानले चार हजारभन्दा बढी रन बनाएका छन् । उनी आइसिसीको टी–२० ब्याटिङमा वरीयताको शीर्ष स्थान हासिल गरिसकेका खेलाडी हुन् ।
मलान आसन्न संस्करणको एनपिएलमा चितवन राइनोजको जर्सीमा देखिने छन् ।
यस्तै, चितवनबाट नै एनपिएल खेल्ने अर्का स्टार हुन्, इंग्ल्याण्डकै रवि बोपारा । उनले गत सिजन पनि चितवनका लागि खेलेका थिए, जहाँ रविले ८ इनिङमा २८६ रन बनाए ।
उनले पनि विश्वका कयौँ चर्चित लिग खेलिसकेका छन् । एनपिएल २०२५ मा देख्न पाइने अर्का विदेशी स्टार हुन्, अस्ट्रेलियाका आक्रामक ब्याटर क्रिस लिन ।

उनले सुदूरपश्चिम रोयल्सबाट पहिलोपटक एनपिएल खेल्न लागेका हुन् । विश्वका दर्जनभन्दा बढी व्यावसायिक लिग खेलिसकेका लिनको आगमनले एनपिएलको चर्चा थप शिखरमा पुगेको छ ।
उनी बिग बास लिग (बिबिएल) का सर्वाधिक सफल ब्याटर हुन् । अस्ट्रेलियाको यस प्रतिष्ठित लिगमा उनले १२५ इनिङ्समा ३१ अर्धशतक र एक शतकको सहयोगमा ३ हजार ९५५ रन बनाएका छन् ।
यस्तै, एनपिएलको दोस्रो संस्करण खेल्ने अर्का चर्चित विदेशी खेलाडी हुन्, अस्ट्रेलियाकै डार्सी सर्ट । उनी पनि विश्वका कयौँ चर्चित लिग खेलिसकेका स्टार हुन् । र, अब यी अस्ट्रेलियन ब्याटर एनपिएलमा देखिने छन् । डार्सीले लुम्बिनी लायन्सबाट एनपिएल खेल्ने भएका हुन् ।
आसन्न संस्करणको एनपिएलमा देख्न पाइने अर्का विदेशी स्टार हुन्, पाकिस्तानका फास्ट बलर सोहेल तनवीर । उनी दोस्रोपटक चितवन राइनोजबाट एनपिएल खेल्न लागेका हुन् ।

गत सिजनमा सोहेलले उत्कृष्ट बलिङ गरेका थिए, जहाँ उनले ८ इनिङमा १४ विकेट लिए । पाकिस्तानका लागि एक सयभन्दा बढी अन्तर्राष्ट्रिय म्याच खेलिसकेका तनवीरले विश्वका कयौँ चर्चित लिगमा सहभागिता जनाइसकेका छन् ।
एनपिएल २०२५ खेल्ने अर्का विदेशी स्टार हुन्, दक्षिण अफ्रिका तीव्र गतिका बलर वेन पार्नेल । उनी पहिलोपटक एनपिएलमा देखिन लागेका हुन् । विश्वका दर्जनभन्दा बढी लिग खेलिसकेका पार्नेल पहिलोपटक नेपाल आउने छन् ।
उनले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने छन् । पार्नेलले दक्षिण अफ्रिकाका लागि एक सयभन्दा बढी अन्तर्राष्ट्रिय म्याच खेलेका छन् ।
एनपिएलको दोस्रो संस्करण खेल्ने अर्का विदेशी स्टार हुन्, न्यूजिल्याण्डका अलराउन्डर स्कट कुग्लाइन । उनी सुदूरपश्चिम रोयल्सबाट फेरि एनपिएल खेल्न लागेका हुन् ।

कुग्लाइनले गत सिजनमा ९ खेलमा सर्वाधिक १७ विकेट लिएका थिए । सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याउन उनको भूमिका अहम् थियो । कुग्लाइनले पनि आइपिएल, सिपिएलजस्ता चर्चित लिग खेलिसकेका छन् ।
एनपिएलको दोस्रो सिजन खेल्ने अर्का चर्चित विदेशी खेलाडी हुन्, स्कटल्याण्डका जर्ज मुन्से । उनी आक्रामक ब्याटिङका लागि परिचित छन् । मुन्से एसोसियट राष्ट्रका सर्वाधिक सफल ब्याटरमध्ये एक हुन् ।
उनले हालसम्म ८१ टी–२० र ७० ओडिआई खेलेका छन्, जसमा मुन्सेले करिब ५ हजार रन बनाएका छन्, त्यसक्रममा उनले ३१ अर्धशतक र पाँच शतकीय पारी खेलेका छन् । मुन्से अब पहिलोपटक विराटनगरबाट एनपिएल खेल्ने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।