दोलखाको गौरीशंकर गाउँपालिका–९ अन्तर्गत रोल्वालिङ हिमश्रृंखलामा पर्ने यलुङ रि हिमालको बेसक्याम्प क्षेत्रमा हिमपहिरो खस्दा सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।
मृत्यु हुनेमध्ये पाँचजना विदेशी र दुईजना नेपाली आरोही रहेका छन् । घटनामा थप चारजना बेपत्ता र चारजना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने विदेशी नागरिकमध्ये अमेरिकाका तीन, क्यानडाका एक र इटालीका एक रहेका छन् । उनीहरूसँगै रहेका दुई जना नेपाली पथप्रदर्शकको पनि मृत्यु भएको हो ।
करिब ५ हजार ६३० मिटर उचाइको यलुङ रि हिमाल आरोहणका लागि सोमबार बिहान पाँचजना विदेशी र १० जना नेपाली गाइडसहितको टोली बाटो लागेको थियो । बिहान करिब साढे ८ बजे हिमपहिरो खस्दा सम्पूर्ण टोली सोही क्षेत्रमा पुरिएको बताइएको छ ।
घटनापछि जीवित रहेका केही घाइतेहरूले ना गाउँमा रहेका सहयात्रीहरूलाई उद्धारका लागि सूचना पठाए पनि मौसम प्रतिकूलताका कारण तत्काल सहयोग पुग्न नसकेको जानकारी दिएका छन् ।
एक घाइते आरोहीका अनुसार उनीहरू ६ हजार ३३४ मिटर अग्लो डोल्मा खाङ हिमाल आरोहण अभियानमा सहभागी हुनुअघि अभ्यासका रूपमा यलुङ रि चढ्ने तयारीमा थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।