६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ ।
काठमाडौं जिल्ला अदालतमा दायर मुद्दामार्फत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चलाउनेमाथि ‘दुई अर्ब सात करोड ६२ लाख रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन र त्यसको शुद्धीकरण गरेको आरोप’ लगाएको हो ।
विभागका अनुसार मष्टा ग्रुप प्रालिका सञ्चालकसमेत रहेका चलाउनेले सुन तस्करीबाट कमाएको रकम विभिन्न जिल्लामा जग्गा खरिदमा लगानी गरेका थिए ।
अनुसन्धानका क्रममा उनले झापा, काठमाडौं, रौतहट र काभ्रेपलाञ्चोक जिल्लामा ३२ कित्ता जग्गा किनेको प्रमाण फेला परेको छ, जसको अनुमानित मूल्य करिब १५ करोड ३० लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।
त्यसैगरी, काठमाडौंको गोठाटारस्थित एक घर–जग्गासमेत चलाउनेले अन्य व्यक्तिको नाममार्फत खरिद गरेको पाइएको विभागको भनाइ छ ।
अभियोगपत्रअनुसार चलाउनेले अवैध सुन कारोबार र त्यसबाट प्राप्त रकममार्फत कुल २ अर्ब ७ करोड ६२ लाख १३ हजार रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण गरेको पुष्टि भएको छ ।
उक्त रकममा जग्गा खरिदका लागत मूल्य, विदेशी सुन कारोबारबाट प्राप्त रकम र बैंक खातामार्फत कारोबार गरिएका रकमसमेत समावेश छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।