२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

पहिलो सुरुङ मार्ग सञ्चालनको जिम्मा विदेशीलाई दिने तयारी

बहुप्रतीक्षित नागढुंगा सुरुङ मार्ग यस दसैँमा सञ्चालनमा आउने चर्चा थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पनि दसैँअघि सञ्चालन गर्न निर्देशन दिइएका थिए । सडक विभाग र निर्माण कम्पनीबिच सुरुङ सञ्चालन गर्नेबारे छलफल पनि भएको थियो । उपत्यकाबाट बाहिरिँदा सुरुङ मार्ग खुला गर्न सुरुङ मार्ग, फ्लाइओभरको परीक्षणसमेत गरिएको थियो । तर हालसम्म सवारी सञ्चालनका लागि खुला गरिएको छैन । 


आइतबार मात्रै सडक विभागअन्तर्गतको नागढुंगा सुरुङ निर्माण आयोजनाले सेवा प्रदायक कम्पनी छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले २ पुस (२५ डिसेम्बर)सम्म बोलपत्र पेस गर्न सक्नेछन् । छनोट हुने कम्पनीले पाँच वर्षसम्म सुरुङ मार्ग सञ्चालन तथा मर्मतसम्बन्धी सम्पूर्ण काम गर्नुपर्नेछ । 



नेपालको पहिलो आधुनिक ‘सिस्नेखोला–नागढुंगा’ सुरुङ मार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिइने तयारी गरिएको छ । हाल सुरुङ मार्ग तयार भए पनि परियोजनाका अन्य केही भौतिक काम भने बाँकी नै छ । विशेष गरी सुरुङ मार्गको पश्चिम प्रवेशद्वार जोड्ने सडकमा पहिरो नियन्त्रणको काम गर्न बाँकी छ । पश्चिम सडकको माथिल्लो साइटमा भिरालो पहाड छ, जहाँ पटक–पटक पहिरो जाने समस्या छ । त्यहाँ पहिरो नियन्त्रणको काम गर्न बाँकी छ । 

निर्माण कम्पनीले पहिरो नियन्त्रणको काम गर्न सडक विभागको डिजाइन पेस गरिसकेको छ । विभागले त्यो स्वीकृति गरेपछि पहिरो नियन्त्रणको काम अघि बढ्नेछ । पहिलो नियन्त्रणसँगै पश्चिम क्षेत्रको सडक चौडा गर्ने, टोलबुथ बनाउन सुरु गरिने छ । यो सुरुङ मार्ग सञ्चालनमा आउन करिब ३/४ महिना लाग्ने छ । 



नेपालमा सञ्चालनमा आउन लागेको यो पहिलो आधुनिक सुरुङ मार्ग हो । तर, सुरुङ मार्ग सञ्चालन गरेको अनुभव नेपालका कुनै पनि निकाय तथा कम्पनीसँग छैन । सुरुङ मार्गको सुरक्षा (सेफ्टी) पाटोमा देखिएका केही प्राविधिक समस्या र तयारी नपुगेका कारण हालसम्म सञ्चालनमा नआएको बताउँछन्, सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता श्याम बहादुर खड्का । 

‘यो सुरुङ मार्ग निर्माण नेपालमा पहिलो हो । नेपाली कम्पनीसँग सुरुङ मार्ग सञ्चालन गरेको अनुभव छैन’ उनी भन्छन्, ‘सुरुङभित्र कुनै दुर्घटना वा आगलागी भएमा हताहती बढी हुने र तत्काल जोखिम व्यवस्थापन गर्नुपर्ने भएकाले हामीसँग दक्ष जनशक्ति नभएकाले अहिलेसम्म सञ्चालनमा ल्याएका छैनौँ ।’

सुरुङ मार्ग सञ्चालन गर्न २४ सैँ घण्टा निगरानी राख्नुपर्ने हुन्छ । अत्याधुनिक प्रणाली समावेश रहेको सुरुङमा विभागको हाल उपलब्ध जनशक्तिबाट सञ्चालन एवं मर्मत कठिन हुने भएकाले विशेष तालिमप्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको उनको भनाइ छ । बोलपत्रमार्फत कम्पनी छनोट भएपछि सञ्चालनमा आउने प्रवक्ता खड्का बताउँछन् । 

सुरुङ मार्ग निर्माणका लागि विभाग र निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनबिच २३ सेप्टेम्बर २०१९ मा सम्झौता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २२ अक्टोबर २०१९ मा शिलान्यास गरेको यो आयोजनाको कामको थालनी भने १४ नोभेम्बर २०१९ बाट भएको हो । 



जापानको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब गरी जम्मा २२ अर्ब लागतमा सो सुरुङ मार्ग निर्माण सम्पन्न भएको हो । साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क सो सुरुङ प्रयोग गरेबापत शुल्क पनि निर्धारण गरेको छ । 

सवारीअनुसार ६५ रुपैयाँदेखि ६ सय रुपैयाँ निर्धारण गरिएको छ । नागढुंगा सुरुङ मार्ग उपभोग दस्तुरअनुसार कार/भ्यानले काठमाडौं आउँदा ६५ र काठमाडौंबाट बाहिर जाँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । 

यस्तै, मिनी बस/ट्रकको काठमाडौं भित्रिँदा १ सय १५ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क लाग्ने छ । यस्तै, बस/ट्रकको काठमाडौं आउँदा २ सय ६० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्नेछ । यस्तै, भारी सवारीसाधनको हकमा सुरुङ मार्ग प्रयोग गरी काठमाडौं आगमन गर्न ६ सय रुपैयाँ र काठमाडौंबाट बाहिर जाँदा २ सय ५० रुपैयाँ शुल्क तिर्नुपर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

नागढुंगा नाका काठमाडौं प्रवेशको मुख्य सडक हो । धादिङको सिस्ने खोलादेखि चन्द्रागिरिको बलम्बुको सट्टा सुरुङ मार्ग प्रयोग गर्दा सडक २.५ किलोमिटर छोटो हुन्छ । काठमाडौंमा दैनिक आवश्यकताका वस्तु उक्त सडक खण्डबाटै भित्रिन्छन् । लोड बोकेका ट्रक उकालोमा बिग्रिने समस्याले कहिलेकाहीँ सडक नै अवरोध हुने गरेको छ । तर नागढुंगा सुरुङ मार्ग निर्माण भएसँगै ढुवानीका साधन र यात्रुवाहक बसलाई सबैभन्दा बढी फाइदा पुग्नेछ ।

यस्तै, नेपालको सबैभन्दा धेरै आयात निर्यात हुने भारतसँग हो । वैदेशिक व्यापार गर्नका लागि पनि यो सुरुङ महत्त्वपूर्ण हुन्छ । यसले भारतसँगको व्यापारमा योगदान गर्ने र देशको आर्थिक वृद्धि गर्न सहयोग पुग्ने अध्ययनले देखाएको छ । सुरुङ मार्ग सञ्चालन पछि यात्रा समय बचत हुने र स्पेयर पार्टसमा बचत हुँदा ढुवानी लागत घट्ने हुँदा पनि यो सुरुङ मार्ग उपयुक्त छ ।

त्यसैले यो आयोजना नेपालका लागि निकै महत्त्वपूर्ण छ । यो नै नेपालको गाडी गुडाउन मिल्ने यस्तो खालको पहिलो सुरूङमार्ग हुनेछ । नेपाल जस्तो पहाडै पहाड भएको देशमा सुरुङको विकल्प छैन । यसले नेपाललाई सुरुङ युगमा प्रवेश गराउनेछ । 

  • प्रकाशित मिति : १८ कात्तिक, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया