यतिबेला नेपाली कांग्रेस भित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने विषयमा बहस चर्किएको छ । महामन्त्री गगन थापाले नियमित महाधिवेशनको कार्यतालिकासमेत पेस गरिसकेका छन् ।
२१ फागुनमा प्रतिनिधि सभाको चुनाव पनि नजिकिँदै गएकाले फागुनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले दबाब बढाइरहेका छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूह वैशाखमा नियमित महाधिवेशन गर्ने पक्षमा देखिएको छ ।
यतिबेला कांग्रेसभित्र महाधिवेशनको वहस पेचिलो बनिरहेको छ । तर, कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य महाधिवेशनबारे ठूलो समस्या नरहेको बताउँछन् ।
उनले निर्वाचनअघि विशेष महाधिवेशन भएता पनि निर्वाचनपछि भने नियमित महाधिवेशन हुने पनि बताए । उनले १५औँ महाधिवेशन निर्वाचनपछि गर्ने पनि जानकारी दिए ।
उनले जेनजी आन्दोलनपछि नयाँ आशा पलाएको बताउँदै नीति, नेता र कार्यक्रमका हिसाबले पनि नयाँ कांग्रेस आगामी चुनावमा लिएर जान चाहेकाले पनि महाधिवेशन जरुरी रहेको बताए । उनले अहिले नियमित महाधिवेशन गर्न समयका हिसाबले सम्भव नभएका कारण हाल विशेष महाधिवेशनको तयारी गर्नुपर्ने औंल्याए ।
‘महाधिवेशनबारे चाँडै टुंगो लाग्छ । किनभने धेरै समय छैन, समस्या पनि धेरै छैन निर्वाचन अघि विशेष महाधिवेशन हुन्छ । निर्वाचन पछि भने नियमित महाधिवेशन हुन्छ । दुईवटै महाधिवेशन हुन्छ । १५ औँ महाधिवेशन चुनावपछि गर्छौँ र त्यो त्यो नियमित अधिवेशनमा हुनेछ । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नयाँ आशाहरू सञ्चार भएको छ । त्यसलाई कांग्रेस सम्बोधन गर्न चाहन्छ,’ उनले भने ।
नीति, नेता र कार्यक्रमका हिसाबले पनि नयाँ कांग्रेस चुनावमा लिएर जान चाहन्छौं । त्यसका लागि महाधिवेशन जरुरी भयो । नियमित गर्न समयको सम्भव नभएकाले विशेष गर्न लागेको हो । नियमित भने चुनाव पछाडि हुन्छ,’ उनले भने ।
महाधिवेशनका कारण निर्वाचनलाई केही पनि असर नगर्ने भन्दै विशेष महाधिवेशनको तयारी निर्वाचनकै लागि गरेको समेत उल्लेख गरे । उनले विशेष महाधिवेशन नै निर्वाचनको तयारी रहेको बताए । केन्द्रीय समितिको बैठकले विशेष महाधिवेशनको निर्णय लिने समेत बताए ।
त्यस्तै, उनले विशेष महाधिवेशनमा नयाँ पुस्तालाई पनि भव्य रुपमा स्वागत गर्ने दाबी गरे । विशेष महाधिवेशनमा जेनजी पुस्तालाई वा नयाँ पुस्तालाई भित्र्याउने नीति पनि पारित हुने भन्दै उनीहरूलाई नेतृत्वमा ल्याउन आफूहरू तयार रहेको बताए ।
त्यस्तै, नेपाली कांग्रेसका लुम्बिनी प्रदेशको उपसभापति भुवन प्रसाद श्रेष्ठले अहिले बहुमत संख्यामा महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरिरहेका कारणले पनि जतिसक्दो छिटो महाधिवेशन गरिसक्नुपर्ने बताए । यदि अहिलेको कार्य समितिले महाधिवेशन गर्न नसक्ने हो भने आफू विदा लिएर मार्ग प्रशस्त गर्नका लागि पनि आग्रह गरे । उनले विशेष महाधिवेशनलाई नकार्ने अधिकार अहिलेको केन्द्रीय समितिलाई नभएको बताए ।
‘वास्तवमा जतिसक्दो छिटो अधिवेशन हुनु जरुरी छ । महाधिवेशन हुनुपर्छ । वास्तवमा विशेष वा नियमित अधिवेशन हुनैपर्छ । मंसिरभित्रै अधिवेशन होस् भन्ने चाहना हो । त्यो यदि हुन सकेन भने अहिले बहुमत संख्या महाधिवेशनका साथीहरूले विशेष महाधिवेशनको माग गरिसकेको अवस्था छ त्यसकारण जतिसक्दो छिटो महाधिवेशन होस्,’ उनले भने ।
त्यस्तै, नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले अहिलेको समयमा महाधिवेशन अनिवार्य रहेको बताएका छन् । उनले जेनजी आन्दोलनपछि नयाँ सोच र नयाँ नीति आउनुपर्छ भन्ने सन्देश फैलिएका कारणले पनि अहिले त्यसै सन्देशको पक्षमा उभिएको पनि बताए । उनले अब सच्चिएर र सुधारिएर, नयाँ नीति अथवा जनतालाई पच्ने नीति लिएर आउ भन्नेमा सन्देशमा साथ रहेको पनि बताए । ‘यो महाधिवेशन अनिवार्य छ । जेनजी प्रोटेस्टले मागेको नयाँ नेतृत्व हो,’ उनले भने ।
त्यस्तै, नेपाली कांग्रेस चितवनको निवर्तमान सभापति जितनारायण श्रेष्ठले जेनजीको नाममा जुन आन्दोलन भएको छ त्यो जेन–अल्फा मतदाता भएर आउन लागेको बताए । उनले स्वाभाविक रूपमा प्रकृतिको नियमलाई पनि बुझ्नुपर्ने औंल्याए ।
‘अहिले पनि कांग्रेसमा प्रशस्त युवाहरू कांग्रेसको राजनीतिमा जोडिएका छन् र जोड्न चाहन्छन् । विशेष अधिवेशनले पनि विशेष व्यवस्था गर्न सक्छ । अहिले विषम परिस्थितिमा विशेष अधिवेशन केन्द्रीय नेतृत्व जिम्मेवार भएनन् भने फेरि विशेष अधिवेशनमा जान्छ । अहिले जुन जेनेरेशन छ, जेनजीको नाममा आन्दोलन भएको छ त्यसबाट जेन अल्फा मतदाता भएर आउँदैछन् । स्वाभाविक रूपमा प्रकृतिको नियमलाई पनि बुझ्नुपर्यो नि,’ उनले भने ।
नेपाल लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधव चौलागाईंले यतिबेला पार्टी र देशमा परिवर्तन चाहिएको र पुनर्जागरण एवं पुनर्संरचना चाहिएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्ने बताए । उनले आम कार्यकर्ताहरूको भावनाअनुसार सबै परिवर्तन हुन आवश्यक रहेको बताए ।
‘विशेष र नियमित महाधिवेशनको कुराहरू चलिरहेको छ । खासमा अहिले परिवर्तन चाहिएको छ । यो कुन पक्षमा भन्दा पनि अहिले महाधिवेशन चाहिएको हो । पार्टीभित्र पुनर्जागरण एवं पुनर्संरचना चाहिएको हो । पार्टीलाई एक ढिक्का बनाएर अगाडि पर्नेछ । आम कार्यकर्ताहरूको भावनाअनुसार तलदेखि माथिसम्म सबै परिवर्तन हुन जरुरी छ,’ उनले भने ।
त्यस्तै, नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रेणुका काउचा मगरले परिवर्तनको लागि भए पनि महाधिवेशन हुनुपर्ने बताइन् । उनले नेपाल सरकारले निर्वाचनको मिति तोकिएका कारणले पनि समयमै महाधिवेशन गरिसक्नुपर्ने बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।