आइसिसी विश्वकप लिग–२ एकदिवसीय सिरिजमा नेपालले चौथो खेलमा यूएईविरुद्ध खेल्ने तालिका छ । यी दुई टोलीबीचको खेल बुधबार बिहान ११ः१५ देखि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा सुरु हुनेछ ।
यस श्रृंखलामा नेपाल सान्त्वना जितको खोजीमा छ । तीन म्याचमा लगातार पराजय बेहोरेको नेपाली टिम बुधबार घरेलु टोली यूएईलाई हराएर लयमा फर्किन चाहन्छ । जारी श्रृंखलामा नेपाली खेलाडी टिमलाई जित दिलाउन संघर्ष गरिरहेका छन् ।

नेपालले सिरिजको पहिलो र तेस्रो खेलमा अमेरिका तथा दोस्रो म्याचमा यूएईसँग हार बेहोर्यो । श्रृंखलाको पहिलो खेलमा नेपाली टिम खराब ब्याटिङका कारण अमेरिकाविरुद्ध १ सय ६ रनले पराजित भयो ।
त्यस खेलमा अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १ सय ५६ रनमै अलआउट भयो । दोस्रो खेलमा यूएईविरुद्ध पनि नेपालको प्रदर्शन सन्तोषजनक रहन सकेन ।
त्यस खेलमा पहिला ब्याटिङ गरेको नेपाल २ सय ३३ रनमै अलआउट भयो । र, खेलमा नेपालले ५ विकेटको हार बेहोर्यो । तेस्रो म्याचमा केही सुधारिएको ब्याटिङ गरे पनि नेपालले खेल भने जित्न सकेन । उक्त म्याचमा पहिला ब्याटिङ गरेको नेपाल २ सय ७१ रनमा अलआउट भयो । प्रतिस्पर्धात्मक लक्ष्य दिँदा पनि नेपालले त्यस खेलमा चार विकेटको पराजय बेहोर्यो ।
नेपाली टिम अब चौथो खेलमा यूएईलाई हराउँदै २ अंक जोड्ने सोचमा छ । यूएई पनि उत्कृष्ट पुनरागमनको गर्ने योजनामा छ । उसले जारी सिरिजमा अमेरिकाविरुद्ध लगातार दुई खेलमा पराजय बेहोरेको छ । यूएईले नेपालविरुद्ध भने जित निकालेर २ अंक जोडिसकेको छ । अमेरिकाविरुद्ध भने उसको प्रदर्शन निकै खराब रह्यो ।

यूएईले अमेरिकासँग क्रमशः चार विकेट र २४३ रनको पराजय बेहोर्दा नेपाललाई ५ विकेटले हरायो । उसले पछिल्लो खेलमा अमेरिकाविरुद्ध इतिहासकै खराब प्रदर्शन गर्यो । त्यस खेलमा अमेरिकाले दिएको २ सय ९३ रनको लक्ष्य पछ्याएको यूएई २२.१ ओभरमा ४९ रनमै अलआउट भयो । ऊ अब सोमबारको हार बिर्सिँदै नेपालविरुद्ध जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ ।
यता नेपाली टिम यूएईविरुद्ध गत बिहीबारको हारको बदला लिँदै जित निकाल्ने योजनामा छ । यद्यपि घरेलु टिम यूएईविरुद्ध जित दर्ता गर्न नेपाललाई सहज हुने छैन । जारी श्रृंखलामा तीन म्याच खेल्दासम्म नेपालका दुई ब्याटरले मात्र ठूलो पारी खेलेका छन् ।
यस श्रृंखलामा कप्तान रोहितकुमार पौडेलले शतक र उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी पारी खेलेका हुन् । बलिङतर्फ स्पिनर सन्दीप लामिछाने राम्रो लयमा छन् । उनले तीन खेलमा सात विकेट लिएका छन् । नेपाली खेलाडी अब बुधबारको म्याचमा थप उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन पूरा कोसिस गर्ने छन् ।

हालसम्म नेपाल र यूएईले ओडिआईमा १६ वटा खेलमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले यूएईविरुद्ध ९ मा जित र सात खेलमा हारको सामना गरेको छ । यूएईसँगको पछिल्लो पाँच ओडिआईमा यूएईविरुद्ध नेपाल हाबी देखिएको छ ।
नेपालले ती पाँचमध्ये चार खेलमा यूएईलाई हराएको छ । नेपालले त्यो चार म्याच सन् २०२३ मा जितेको थियो । त्यसपछि भएको एउटा ओडिआईमा भने यूएईविरुद्ध नेपाल पराजित भएको छ ।
जारी लिग–२ तालिकाको कुरा गर्दा नेपाल सातौं र यूएई आठौँ स्थानमा छ । बुधबार तालिकाको पुछारमा रहेका यी दुई टिमबीचको प्रतिस्पर्धा हेर्नलायक हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।