२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

रौतहटमा म्याद नाघेको खोप भेटियो

रौतहटको चन्द्रपुर नगरपालिक–९ को डुमरिया स्वास्थ्य केन्द्रमा जापनिज इन्सेफ्लाइटिसको खोपको भ्याक्सिन म्याद नाघेको भेटिएको छ । 


कात्तिकको १७, १८ र १९ गते १२ महिनादेखि २३ महिना भित्रका बालबालिकाहरुको लागि दिन तयारी परिएको भ्याक्सिन म्याद नाघेको भेटिएको हो । 



चन्द्रपुर अस्पतालबाट ल्याइएको  भ्याक्सिन म्याद गुज्रिएको भेटिएकाले तत्काल सो खोप दिन रोकिएको चन्द्रपुर नगरपालिकका स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुरले बताए । उनले कर्मचारी तहबाट त्रुटी भएको स्वीकार गरे । ‘यस्तो लापरबाही गर्नु हुँदैन उनले भने, ‘यस विषयमा छानबिन हुन्छ । अस्पतालमा म्याद भएको भ्याक्सिन हुँदा पनि सकिएको ल्याउनु कर्मचारीको गल्ती भएको उनको जिकिर छ ।’ 

जापनिज इन्सेफ्लाइटिसको भ्याक्सिनको म्याद अंग्रेजी मिति अनुसार सन २०२५ नोभेम्बर १ तारिखमा सकिएको छ । भ्याक्सीनको म्याद सकिएको चार दिन पछि दिन लागेको भन्दै  यसले बालबालिकाहरु गम्भीर असर पार्ने चन्द्रपुर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष नवराज देवकोटाले बताए । यो विषय गम्भीर भएकाले कार्यपालिकाको बैठक राख्ने र दोषी कर्मचारीलाई  कारवाही गरिने उनले बताए ।



चन्द्रपुर, बृन्दावन, गरुडा र गुजरा नगरपालिका भित्रका बालबालिकाहरू खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप अधिकृत अनिल कर्णले बताए । 

उनका अनुसार  प्रदेश कार्यालयबाट हालै आएको यो भ्याक्सिनको मिति २०२६ अप्रिलसम्म म्याद छ । तर, चन्द्रपुर नगरपालिका–९ मा भेटिएको  म्याद नाघेको भ्याक्सिनको विषय गम्भीर रहेको उनको भनाइ छ । 

यस विषयमा आफ्नो ध्यानाकर्षण भएको चन्द्रपुर नगरपालिका नगर प्रमुख सञ्जय काफ्ले बताए ।



  • प्रकाशित मिति : १८ कात्तिक, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया