पौने एक लाख नगदका लागि युवतीको हत्या

फिदिम– मंगलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जंगलमा एक युवती हत्या भयो । हत्या गरिएकी सुजाता तामाङको साथबाट हत्याराले नगद रुपेयाँ लुटेको पत्ता लागेको छ । 

युवती एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखाकी कर्मचारी थिइन् । उनको साथमा रहेको ७८ हजार ५ सय रुपैयाँ युवातीको हत्या गरिएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो । 

उक्त माइक्रो फाइनान्सद्वारा सञ्चालित दुई समूहको मासिक बैठक सकेर जोरपोखरी फर्कंदै गरेकी तामाङलाई जंगलको बीचमा रहेको गोरेटो बाटोमा हत्या गरिएके थियो । धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार मंगलबार अपराह्न पौने ४ बजे विद्यालयबाट घर फर्कने क्रममा एक शिक्षकले तामाङको शव बाटोभन्दा करिब ३० मिटर तल देखेर प्रहरीलाई जानकारी गराएका थिए । 

खबर पाएलगत्तै जोरपोखरीस्थित प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी निरीक्षक पौडेलका अनुसार झोलामा रहेको नगद लुट्ने क्रममा झोला चुँडिएको र त्यहाँ रहेको नगद लुटिएको पाइएको छ । मृतक तामाङको  घाँटी, हात र पेटमा धारिलो हतियार प्रहार गरिएको थियो । 

प्रहरीका अनुसार तामाङले दिउँसो करिब ३ बजे आफ्ना बाबुलाई फोन गरेर आफू कार्यक्षेत्रमामा रहेको जानकारी दिएकी थिइन् । सोही समय आसपासमा उनका एक केटा साथीले उनी बैठकमै रहेको समयमा फोन गरेका थिए । पछि तामाङले लामो समय फोनमा कुराकानी गरेको पाइएको प्रहरीले जनाएको छ । यस आधारमा तामाङको ३ बजेदेखि ३ः३० बजेभित्र हत्या भएको प्रहरीको अनुमान छ । प्रहरीले तामाङबारे राम्रोसँग जानकारी भएका व्यक्तिबाट हत्या भएको अनुमान गरेको छ । 



‘उनीसँग पैसा छ भन्ने जान्ने मान्छेबाटै हत्या भएको हुनुपर्छ,’ प्रहरी निरीक्षक पौडेलले भने, ‘कसैले सूचना दिएर वा बाटो ढुकेर हत्या गरिएको हुनुपर्छ ।’ इलामको माइजोगमाई गाउँपालिका–५ सोयाङ घर भएकी २० वर्षीया तामाङ केही महिनादेखि एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा फिल्ड कर्मचारीको रुपमा कार्यरत थिइन् ।

उनी इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत रहेको खुलेको छ । घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले रकम संकलन गरेर हिँडेकी तामाङबारे कसैले हत्यारालाई सूचना दिएको वा उनीबारे हत्यामा संलग्नले नियमित पिछा गरेको हुनसक्ने अनुमान गरेको छ ।



प्रहरीले मंगलबार रातिदेखि  घटनास्थलआसपासका क्षेत्रमा अनुसन्धान तीव्र पारिएको जनाएको छ । हिलिहाङ गाउँपालिकामै यसअघि गत वैशाख २९ गते १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या गरिएको थियो ।

  • प्रकाशित मिति : असार ४, २०७६ बुधबार १५:२०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया