२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

प्रकृति संरक्षणमा नेपाली सेनाको आधा शताब्दी

हिमाल, पहाड तथा तराइको विशिष्टीकृत तथा मौलिक जैविक विविधता, विश्ववाटै लोपोन्मुख वन्यजन्तुहरू जलचर, पन्छी, घस्रने प्रजाति तथा विविध वन पैदावारको कारण सो अवलोकन गर्न चाहनेहरूको लागि नेपाल विश्वकै आकर्षणको केन्द्रको रूपमा विकास हुँदै गएको देखिन्छ । 


सोही विशेषतालाई दीर्घकालसम्म संरक्षण गर्ने संवेदनशील चुनौती भएता पनि कठिन भौगोलिक तथा मौसमी अवस्थाको चुनौतीहरूको बाबजुद विभिन्न साझेदार निकायहरूसँगको सहकार्यमा नेपाली सेना विगत ५० वर्ष देखि हिमाल, पहाड र तराईका ३३ जिल्लाहरूमा अवस्थित १४ वटा राष्ट्रिय निकुञ्ज र आरक्षहरूको सुरक्षामा अहोरात्र खटिई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आइरहेको छ ।



प्रकृति संरक्षणमा नेपालको औपचारिक प्रयासको इतिहास हेर्दा सन् १८६९ मा श्री ५ सुरेन्द्र वीर विक्रम शाहदेवको समयमा वन सम्पदा संरक्षणलाई नियमन गर्न सुरु गरिएको प्रमाण शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा भएको शिलालेखमा उल्लेख भएको पाइन्छ। जस अनुसार नेपालको प्रकृति संरक्षणको प्रयास अमेरिकामा रहेको विश्वकै सबैभन्दा पुरानो येलोस्टोन नेशनल पार्कभन्दा ३ वर्ष अगाडि भएको देखिन्छ जसको स्थापना सन् १८७२ मा भएको बियो ।

विविध मानवीय कारणले दुर्लभ एक सिङ्गे गैँडाको सङ्ख्या ८०० बाट क्रमशः घटी साठीको दशकमा १०० वटा पुगेसँगै सो को सुरक्षाको लागि नेपाली सेनाले बि.स.२०१८ बाट गैँडा गस्ती सुरु गरेको थियो भने वि.स.२०३० मा नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रूपमा चितवन राष्ट्रिय निकुञ्जको घोषणा भएको थियो । 



नेपाल सरकारको निर्णय बमोजिम उक्त राष्ट्रिय निकुञ्जको संरक्षण तथा सुरक्षाको जिम्मेवारी वि.सं. २०३२ सालबाट नेपाली सेनालाई औपचारिक रूपमा सुम्पिइएको थियो । विद्यमान अवस्थामा नेपाली सेनाका ८ वटा गण, ७ वटा अनाधित गुल्म र १ वटा शिक्षालय गरी करिब ८ हजार फौज १४ वटा संरक्षित क्षेत्रहरूमा परिचालित रहँदै आएको छ ।

नेपालमा रहेका कुल २० वटा संरक्षित क्षेत्रहरूले नेपालको कुल क्षेत्रफलको २३.३९ प्रतिशत भू-भाग ओगटेको छ जसमा १२ वटा राष्ट्रिय निकुञ्जहरू, १ वटा वन्यजन्तु आरक्ष, १ वटा सिकार आरक्ष, ६ वटा संरक्षण क्षेत्रहरू र १३ वटा मध्यवर्ती क्षेत्रहरू पर्दछन् भने चितवन र सगरमाथा राष्ट्रिय निकुञ्जहरू युनेस्को विश्व सम्पदा सूचिमा पर्दछन् साथै नेपालमा रहेका १० वटा रामसार क्षेत्रहरू मध्ये ६ वटा संरक्षित क्षेत्रभित्र पर्दछन् ।

नेपालको संविधान २०७२ को धारा २६७ तथा राष्ट्रिय सुरक्षा नीति २०७५ को नीति नं. १६ ‘राष्ट्रिय प्रतिरक्षा नीति २०७७’ मा उल्लेखित प्रावधानका साथै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा उल्लेख भएको व्यवस्था र मिति २०६७/०३/१६ गतेको मन्त्री परिषद्‌को बैठकबाट पारित भएको ‘संशोधित स्थायी कार्य सञ्चालन विधि-२०६७’ अनुसार नेपाली सेना संरक्षित क्षेत्र भित्रका सम्पूर्ण प्राकृतिक स्रोतहरू, वनस्पति तथा वन्यजन्तु र जैविक विविधताको संरक्षण तथा सुरक्षामा प्रत्यक्ष रूपमा संलग्न हुँदै आइरहेको छ ।



प्रकृति र वातावरणको महत्वलाई आत्मसाथ गर्दै नेपाली सेनाको दीर्घकालीन सोच २०३० मा समेत समावेश गरी हाल ‘श्री प्रधान सेनापतिको कमाण्ड मार्ग निर्देशन-२०८१’ अनुसार योजनाबद्ध रूपमा नेपाली सेना संरक्षण कार्यमा खटिइरहेको छ ।

प्रकृति र वातावरण संरक्षण राष्ट्रिय सुरक्षाको अभिन्न अंग रहेको दिष्ठान्तलाई आत्मसाथ गर्दै खटिएका फौजले अवैध गतिविधिहरूको रोकथाम गर्न उच्च मनोबलका साथ अहोरात्र खटिएर सैनिक कारबाहीहरू संचालन गर्दै आइरहेको छ। भौगोलिक परिस्थिति र मौसमी प्रतिकुलताका बिच तराईको ४२ डिग्री सेल्सियसदेखी हिमाली क्षेत्रको माइनस २० डिग्री सेल्सियससम्मको तापक्रममा निरन्तर सुरक्षा गतिविधिहरू सञ्चालन गरिरहेका छन् । 

विशेष गरी जगतमा आई पर्ने विषम परिस्थितिमा पनि दैनिक रूपमा छोटो दुरीका, मध्यम दुरीका र लामो दुरीका पेट्रोलहरू लगायत चोरी सिकारी नियन्त्रण तथा अवैध गतिविधिहरूलाई लक्षित गरी सम्भावित इलाकाहरूमा विशेष अपरेशनल कारबाहीहरू सञ्चालन गर्दै आइरहेको छ 

विशेष गरी जगतमा आई पर्ने विषम परिस्थितिमा पनि दैनिक रूपमा छोटो दुरीका, मध्यम दुरीका र लामो दुरीका पेट्रोलहरू लगायत चोरी सिकारी नियन्त्रण तथा अवैध गतिविधिहरूलाई लक्षित गरी सम्भावित इलाकाहरूमा विशेष अपरेशनल कारबाहीहरू सञ्चालन गर्दै आइरहेको छ । 

यसका साथै प्रकृति संरक्षण कार्यलाई थप सहभागिता मूलक, प्रभावकारी एवं उपलब्धिमूलक बनाउन समुदायमा आधारित संरक्षण कार्य, साझेदार निकायहरूसँगको नियमित समन्वय, स्थानीय बासिन्दाहरू तथा विद्यालयहरू लक्षित जनचेतनामूलक कार्यक्रमहरू समेतको सञ्चालनले नेपालको प्रकृति संरक्षण ढाँचा विश्वमै उदाहरणीय रहेको छ ।

प्रकृति संरक्षण कार्यमा तैनाथ १५ वटा युनिटहरूले प्रत्येक हे.क्वा. र पोष्टहरूबाट घटिमा दैनिक रूपमा ३ वटा गस्तीहरू सञ्चालन गर्ने पर्ने प्रावधान अनुसार भौगोलिक अवस्थिति, उपलब्ध स्रोतसाधन र अपरेशनल आवश्यकता अनुसार विशेष अपरेशनको अलावा पैदल गस्ती, साइकल, मोटरसाइकल, भेहिकल, हात्ती तथा डुङ्गा गस्ती समेत सञ्चालन गरी जिम्मेवारी क्षेत्रहरूलाई निगरानी र नियन्त्रण गरिरहेका छन् ।

नियमित अपरेसनहरूका साथसाथै विशेष गरी चाडपर्व, सुख्खा याम र बदलिँदो सुरक्षा वातावरणको फाइदा उठाइ हुन सक्ने चोरीशिकार र अवैध गतिविधि नियन्त्रण गर्न स्थानीय आवश्यकता अनुसार विशेष फौजहरू परिचालन गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा २०७१ सालबाट ‘अपरेसन महाहण्ट’ र हाल ‘अपरेसन संरक्षण’ नियमित रूपमा सञ्चालन भइरहेको छ । उक्त अपरेसनलाई निरन्तरता दिँदै जिम्मेवारी क्षेत्रमा सुरक्षा पहुँच बढाउन हाल ‘अपरेसन संरक्षण-११’ सञ्चालन भइरहेको छ ।

आधुनिक प्रविधिको उपलब्धता सँगै प्रकृति संरक्षण कार्य थप जटिल र चुनौतीपूर्ण हुदै गएको छ । समय क्रम सँगै विकसित हुने यस्ता परिस्थितिको सामना गर्न तैनाथ फौजलाई पनि प्रविधि मैत्री बनाई सूचना संयन्त्रलाई अझ असरदार बनाउनु पर्ने टड्कारो आवश्यकता देखिएको छ ।

 यसको लागि नेपाली सेनाले संरक्षण क्षेत्रका अन्य साझेदार निकायहरूसँगको समन्वय एवं सहकार्यमा आफ्ना अपरेशनल गतिविधिलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्दै आइरहेको छ। जसमा रियल टाइम पेट्रोल मनिटरिङ सिस्टम, स्मार्ट आइ, भेहिकल ट्र्याकिङ एन्ड रिकग्निसन सिस्टम (भिटिआरएस), ड्रोन तथा सिसी क्यामेराजस्ता प्रविधिहरू सहयोगी सिद्ध भएता पनि विश्वमा प्रचलनमा आएका नवीनतम प्रविधिहरूको थप प्रयोग गरी संरक्षण तथा सुरक्षाको कार्यलाई समय सापेक्ष आधुनिकीकरण गर्न अति जरुरी देखिन्छ ।

कतिपय नेपालले सम्बोधन गर्न सक्ने क्षेत्र बाहिरका जस्तै विश्वको जलवायु परिवर्तनले नेपालमा पारेको असर तथा लोपोन्मुख वन्य जन्तु र आखेटोपहारको अन्तर्राष्ट्रिय माग आदि रहेका  छन्

संरक्षित क्षेत्रको सुरक्षा र संरक्षणमा साझा प्रयासको बाबजुद प्रशस्त चुनौतीहरू रहेका छन् । ती मध्ये कतिपय नेपालले सम्बोधन गर्न सक्ने क्षेत्र बाहिरका जस्तै विश्वको जलवायु परिवर्तनले नेपालमा पारेको असर तथा लोपोन्मुख वन्य जन्तु र आखेटोपहारको अन्तर्राष्ट्रिय माग आदि रहेका   छन् । 

सो बाहेक मानव वन्यजन्तु सह-अस्तित्वका विषयहरूका साथै संरक्षित क्षेत्रको अतिक्रमण मार्फत वन्यजन्तु र पन्छीको वासस्थानमा पारेको नकारात्मक असरहरू, लोपोन्मुख वन्यजन्तु तथा आखेटोपहारको गैर कानुनी ओसारपसारमा टुन्जिट क्षेत्रको रूपमा हाम्रो भूमिको प्रयोग, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, चोरी सिकारी नियन्त्रणमा आधुनिक प्रविधिको सीमितता आदि आन्तरिक रूपमा देखा परेका केही चुनौतीहरू हुन् ।

संरक्षण कार्यमा देखिएका यस्ता विविध आयामहरूको बिच नेपालले आफूलाई विश्वमाझ उदाहरण दिन सक्ने गरी आफ्नो संरक्षण ढाँचालाई स्थापित गर्न सकेकोमा गर्व गर्नु पर्दछ । जसमा संरक्षण कार्यमा नियमित फौजको स्थायी परिचालन र समुदायमा आधारित संरक्षण ढाँचा मुख्य रहेका छन्। निजामती निकाय, स्थानीय समुदाय तथा साझेदार संघसंस्थाहरूको संयुक्त प्रयासबाट विश्व वाटै लोपोन्मुख वन्यजन्तुको संरक्षण उदाहरणीय कार्यको रूपमा लिन सकिन्छ । 

सन् २००९ मा नेपालमा बाघको संख्या १२१ रहेकोमा सन् २०१० को सेन्ट पिटर्सवर्गमा भएको बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता अनुसार सो अगावै सन् २०१८ अर्थात् ८ वर्षमै २३५ र सन् २०२२ सम्ममा ३५५ वटा पाटे बाघको सङ्ख्या पुर्याउने नेपाल पहिलो देश बनेको थियो। सो बाहेक सन् २०११,१३, १५, १६,१८ र १९ लाई जिरो पोचिङ इयरको रूपमा मनाउन सफल भई अब्राहाम कन्सर्भेसन अवार्डबाट नेपाली सेनाका विभिन्न ६ वटा युनिटहरू सम्मानित भइसकेका छन् र भने बर्दिया राष्ट्रिय निकुञ्ज १२ अवार्डबाट समेत सम्मानित भएको छ । 

नेपालमा दिगो पर्यापर्यटन, कम हरित गृह उत्सर्गको कारण पेरिस सम्झौताको आर्टिकल ६ र ९ को व्यवस्था अनुसार क्लाइमेट फाइनान्समार्फत प्राप्त गर्ने आर्थिक सहायताले नेपालको समय आर्थिक विकासमा ठुलो टेवा पुगेको छ

यस बाहेक सन् १९६६ मा १०० वटाको सङ्ख्यामा घटेको अर्को लोपोन्मुख एक सिंगे गैँडा सन् २०२१ को गणनामा ७५२ वटा पुगेकोमा आगामी दिनमा हुने गणनामा सो सङ्ख्या अझै बढ्ने आकलन गरिएको छ ।

उल्लेखित लोपोन्मुख जनावरहरू बाहेक जङ्गली हात्ती, दुर्लभ हिउँ चितुवा लगायतको अन्य दुर्लभ वन्य जन्तु, पन्छी, जलचर र घस्रने प्रजातिको संख्यामा भएको वृद्धिसँगै विविध प्रजातिको वन पैदावारको संरक्षणले नेपालको वातावरण स्वच्छ भई विश्वकै जैविक विविधता संरक्षणमा नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

यसबाट नेपालमा दिगो पर्यापर्यटन, कम हरित गृह उत्सर्गको कारण पेरिस सम्झौताको आर्टिकल ६ र ९ को व्यवस्था अनुसार क्लाइमेट फाइनान्समार्फत प्राप्त गर्ने आर्थिक सहायताले नेपालको समय आर्थिक विकासमा ठुलो टेवा पुगेको छ ।

त्यसैगरि जलवायु परिवर्तन, जैविक विविधता, तथा पर्या पर्यटनको दृष्टिले नेपालका हिमाली क्षेत्र अति नै संवेदनशील संरक्षण क्षेत्रमा पर्दछन्। मानवीय कारणले विश्वव्यापी तापक्रममा भएको वृद्धिबाट प्रभावित र अत्यन्तै नाजुक हिमाली क्षेत्र नेपाल लगायत यस वरपरका करिब डेढ अरब मानिसहरूको पानीको मुख्य श्रोतको रूपमा रहेको छ । 

वर्षेनी ५४ हजार आरोही लगायतको पर्यटकहरू र तिनका ८० हजार सहयोगी गरी करिब १ लाख ३४ हजार मानिसहरूले भ्रमण गर्दा यस क्षेत्र क्रमिक रूपमा प्रदूषित हुन गई हिमालय पग्लने दरमा समेत वृद्धि भएको छ । 

यस्तो कहाली लाग्दो अवस्थालाई न्यूनीकरण गर्दै हिमालहरूको सौन्दर्ययतालाई कायम राखी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यका साथ नेपाल सरकारको प्रस्ताव अनुसार नेपाली सेनाको अगुवाइमा सन् २०२१ देखि हालसम्म ५ पटक गरी ११ वटा हिमालहरूमा विभिन्न सरकारी, तथा गैह सरकारी संघ-सस्थाहरू समेतको सहकार्यमा सफा हिमाल अभियान सञ्चालन गर्दै आइरहेको छ । 

यस अभियानको दौरान हालसम्म ११९.१ टन फोहोर, १२ मानव शव तथा ४ मानव अस्थिपञ्जर संकलन गरी सकिएको छ। यसबाट नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत असरदार रूपमा जिम्मेवार पर्वतारोहणको सन्देश गएको छ ।

यसरी नेपाली सेनाले प्रकृति संरक्षण जस्तो पुण्य कार्यको स्वर्ण महोत्सव मनाइ रहँदा यस अवसरलाई हामीले समग्र साझेदार निकायहरूसँगको ५० वर्षको सहकार्यको रूपमा पनि लिएका छौँ । 

यसै अवसरमा संरक्षणका अभिन्न अङ्गहरू नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्छ तथा वन्यजन्तु संरक्षण विभाग, निकुञ्ज तथा आरक्ष कार्यालयहरूका साथै स्थानीय समुदायहरू, साझेदार निकायहरूमा श्री राष्ट्रिय प्रकृति संरक्षण कोष, जेड.एस.एल., डब्लु.डब्लु.एफ. लगायतका सम्पूर्ण साझेदार निकायहरूलाई हृदय देखि धन्यवाद प्रकट गर्दछौँ र प्रकृति संरक्षणको यहाँहरूको हरेक प्रयासमा साथ रहने प्रण पनि गर्दछौं। 

यसै अवसरमा संरक्षण कार्यमा वीरगति प्राप्त गर्ने नेपाली सेनाका ११६ जना सकलदर्जा प्रति चुदा सुमन अर्पण गर्दै संरक्षण कार्यलाई अझ गतिशील बनाउन नेपाली सेना कटिबद्ध रहेको छ । 

  • प्रकाशित मिति : १९ कात्तिक, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया