नेता झलनाथ खनालले पुष्पकमल दाहाल (प्रचण्ड) को विश्वासका आधारमा पार्टी एकतामा सहभागी भएको बताएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित पार्टी एकता सभा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहमतिमा ढिला आउनुको कारण प्रस्ट पार्दै विमति भए पनि प्रचण्डको विश्वासका आधारमा एकतामा बल पुर्याउन आफू आएको बताए ।
उनले भने, ‘ढिला आउनुको केही कारण छन् । मैले कमरेड प्रचण्डलाई भनिसकेको छु । हामी त्यो कुराहरू मिलाउँछौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यही विश्वासका आधारमा केही विमति भए पनि एकताको कुनै विकल्प छैन अहिले । त्यस कारण एकतामा बल पुर्याउनका लागि म यहाँ आएको हुँ, सिङ्गो नेपालको एकता आजको आवश्यकता हो ।’
त्यस्तै उनले अब पार्टी कहिल्यै फुट्दैन भनेर नेताहरूले सङ्कल्प गर्न आग्रह गरे । नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याउन समेत उनले सुझाव दिँदै नेतामुखी नभई जनमुखी र वर्गमुखी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए ।
‘आज मञ्चमा उपस्थित सबैले कहिल्यै पार्टी फुट्ने छैन भनेर सङ्कल्प गरौँ । यसभन्दा अगाडि पनि हामीले एकता हेर्यौँ । ‘ए कता’ भयो । अब त्यस्तो हुँदैन भनौँ । ए र कतालाई जोडेर अगाडि बढौँ । जेनजीको भावनालाई समेत आत्मसाथ गरेर जाऊँ । नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याऊँ । एउटा बलियो पार्टी निर्माण गरौँ । नेतामुखी होइन, जनमुखी, वर्गमुखी पार्टी निर्माण गरौँ,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।