योगदर्शनका पिता पतञ्जलिको जन्म अर्घाखाँचीमा भएको डा. आत्रेयको पुष्टि

काठमाडौं– आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलिको जन्म नेपालमा भएको पुष्टि भएको छ । डा. विष्णुराज आत्रेय (लाटोसाथी)ले ‘पतञ्जलि’ पुस्तकमार्फत उनको जन्म अर्घाखाँचीको शीतगंगा पलटेमा भएको तथ्य सार्वजनिक गरेका छन् । विभिन्न शास्त्रीय उत्खनन्बाट अर्घाखाँची, प्युठान र दाङको सिमानामा पर्ने सो ठाउँमा पतञ्जलिको जन्म भएको तथ्य डा. आत्रेयले फेला पार्न सफल भएका हुन् । 

वाल्मीकि क्याम्पसमा आयोजित कार्यक्रममा पुस्तकका लेखकले पतञ्जलिका बारेमा प्रकाश पार्दै पतञ्जलि नेपालमा जन्मिएका बारे करिब दुई सय प्रमाण पेस गरेर पुस्तक तयार पारेको बताए । ‘झट्ट सुन्दा सुरुमा अपत्यारिलो पनि लाग्न सक्छ,’ उनले भने, ‘पुस्तक पढिसकेपछि पत्याउन केही गाह्रो पर्दैन ।’

उनले पुराण, महाभारतको अध्ययन र विभिन्न खोज–अनुसन्धानबाट पतञ्जलि अर्घाखाँचीमा जन्मिएको तथ्य फेला पार्न सकिएको बताए । एक सय २५ पृष्ठको पुस्तकमा पतञ्जलिको जन्म र उनका क्रियाकलापबारे करिब दुई सय उदाहरण दिएको लेखक आत्रेयले बताए । पाकिस्तानको लाहोरबाट अर्घाखाँचीको गोपर्वतमा आई पाणिनिले संस्कृत व्याकरणको आविष्कार गरेका थिए । पाणिनिबाटै प्रभावित भएर पतञ्जलिले पनि संस्कृतमा खोज–अनुसन्धान र कृति तयार पारेको उनले बताए । 

‘पाणिनिसँग पतञ्जलिको भेट नभए पनि पतञ्जलिले पलटेबाट पाणिनि तपोभूमि पुगेर पाणिनिका बारेमा अध्ययन गर्नुभएको थियो,’ आत्रेयले भने, ‘पतञ्जलिको जन्म र पाणिनिको कर्मथलो अर्घाखाँची हुनु सबै नेपालीले गर्व गर्ने विषय हो ।’

उनले पतञ्जलिको जन्म भएको क्षेत्रमा विभिन्न संरचना निर्माण गरी सो क्षेत्रको विकासमा सरकारले विशेष ध्यान पुर्याउनुपर्ने बताए । ‘मठमन्दिर, कुटी, पतञ्जलिको मूर्तिलगायत विभिन्न संरचना निर्माण गर्न सके देशी–विदेशी भक्तजनको घुइँचो लाग्नेमा दुई मत छैन,’ उनले भने, ‘बस्नका लागि सुविधासम्पन्न होटल र आवश्यक अन्य पूर्वाधार निर्माणमा लाग्नुपर्छ ।’

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म भुसाल, डा. चिरञ्जीवी भट्टराई, सर्वोच्च अदालतका उपसचिव अशोक क्षेत्री, शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा कार्यरत टेकनारायण पाण्डे, शीतगंगा सेवा समाजका अध्यक्ष लालमणि पाण्डे, अधिवक्ता गोपाल घिमिरे, पत्रकार अर्जुन भुसाललगायतले मन्तव्य राख्दै पतञ्जलिको जन्म नेपालको अर्घाखाँचीमा भएको विषयलाई प्रचारप्रसार गरी विश्वसामु पुर्याउनुपर्नेमा जोड दिएका थिए ।



उनीहरुले पतञ्जलि जन्मस्थल र पाणिनिको तपस्यास्थलको विकास गरी प्रचारप्रसार गर्नसके अर्घाखाँचीको मात्र नभई सिंगो मुलुकको नै पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने बताए । शीतगंगा नगरपालिकाले ठाडादेखि ऐरावतीसम्मको सडकलाई पतञ्जलिमार्ग नामकरण गरिसकेको छ । 



डा. विष्णुराज आत्रेय (लाटोसाथी)

  • प्रकाशित मिति : असार ४, २०७६ बुधबार १५:४१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया