१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

नेपाली कम्युनिस्ट पार्टी : कम्युनिस्ट आन्दोलनको मूलधार

नेपालको कम्युनिस्ट आन्दोलनले लामो सङ्घर्ष, विभाजन र पुनः एकताको अनेक चरण पार गर्दै अहिले एउटा ऐतिहासिक मोडमा प्रवेश गरेको छ । माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चालगायतका १० वाम दल र समूहहरू एकताबद्ध भई नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को घोषणा भृकुटीमण्डपमा सम्पन्न एकता राष्ट्रिय सम्मेलनमार्फत गरिएको छ ।


यो एकता केवल संगठनगत मेलमिलाप होइन, नेपालको वाम आन्दोलनलाई पुनः एउटै धार र उद्देश्यमा ल्याउने ऐतिहासिक कदम हो । नयाँ पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाल चयन भएका छन् । तेस्रो वरीयतामा झलनाथ खनाल रहेका छन्, जसले तीन पुस्ताको राजनीतिक अनुभव, विचार र दृष्टिकोणलाई एउटै छातामुनि ल्याएको सन्देश दिन्छ । वामदेव गौतम र नारायणकाजी श्रेष्ठको उपस्थिति यस एकतालाई थप गहिराइ र सन्तुलन प्रदान गर्छ ।



२०७४ सालमा बनेको नेकपाको सचिवालयमा रहेका नौ शीर्ष नेतामध्ये पाँच जना- प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ अहिलेको नयाँ नेकपामा छन् । बाँकी चार जना केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल मात्र एमालेमा छन् । यस दृष्टिले हेर्दा नेपालको कम्युनिस्ट आन्दोलनको ऐतिहासिक निरन्तरता र मूलधार अहिलेको नेपाली कम्युनिस्ट पार्टीमै निहित छ भन्ने स्पष्ट हुन्छ ।

संयोजक प्रचण्डले उद्घाटन समारोहमा भनेका थिए, ‘अब नेपालमा नेकपालाई देशको नम्बर एक पार्टी बन्न कसैले रोक्न सक्दैन । यो केवल एकताको घोषणा होइन, नयाँ युगको सुरुवात हो ।’ यो अभिव्यक्ति केवल राजनीतिक आत्मविश्वासको प्रतीक होइन, दशकौँ लामो सङ्घर्ष र जनाधारमा आधारित दृढ विश्वासको अभिव्यक्ति हो । त्यस्तै सह–संयोजक माधव नेपालले समेत जोड दिए, ‘नेकपाकालका नौ शीर्ष नेतामध्ये पाँच जना यहीँ छन् । त्यसैले यो पार्टी नै नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह हो ।’ यी अभिव्यक्तिहरूले प्रस्ट पार्छन् कि नयाँ नेकपा केवल दलहरूको गठबन्धन होइन, विचार, नीति र जनआकांक्षाको पुनर्जागरण हो ।



एकता सम्मेलनबाट पारित २३ बुँदे प्रतिबद्धता र नौ बुँदे प्रस्तावले पार्टीको नीति र दिशालाई स्पष्ट बनाएको छ । नवगठित नेकपाले भ्रष्टाचार र अनियमिततामाथि कठोर प्रहार गर्ने, सम्पत्ति छानबिन आयोग गठन गरेर सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति जाँचबुझ गर्ने र सुशासन, पारदर्शिता र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी र जनजीवनका आधारभूत सेवा प्रवाहमा राज्यको ध्यान केन्द्रित गर्ने तथा जनताको पहुँच विस्तार गर्ने उद्देश्यले नयाँ पार्टीले आफ्नो कार्य योजना अघि सारेको छ ।

यो पार्टी जेनजी आन्दोलनबाट उठेका माग र आकांक्षालाई सम्बोधन गर्दै समाजवादको बाटोमा अघि बढ्ने घोषणा गरेको छ । संयोजक प्रचण्डले जेनजी आन्दोलनले वाम घटकहरूलाई नजिक ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नयाँ नेकपा त्यसै आन्दोलनका मर्म र भावनाअनुसार अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले यो एकता असाधारण र ऐतिहासिक भएको बताउँदै अझ विचार मिल्ने दलहरूसँग एकता प्रक्रिया निरन्तर अघि बढाइने बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले आफूलाई गणतन्त्र, समाजवाद र सुशासनको पक्षधर राजनीतिक शक्ति घोषित गरेको छ । यसले गणतन्त्रको रक्षा र लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि एमाले, कांग्रेसलगायतका अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गर्न सक्ने सन्देश दिएको छ ।



नवगठित नेपाली कम्युनिस्ट पार्टीले विगतका कमजोरी सुधार्दै, कार्यशैलीमा रूपान्तरण गर्दै र जनतामा विश्वास पुनः स्थापना गर्दै अघि बढ्ने प्रतिज्ञा गरेको छ

यसले स्पष्ट रूपमा देखाउँछ कि नयाँ नेकपा केवल वाम गठबन्धनको सीमित दायरा होइन, राष्ट्रको स्थायित्व, विकास र जनकल्याणको साझा राजनीतिक प्लेटफर्म बन्न चाहन्छ ।

नेपालको कम्युनिस्ट आन्दोलन विगतमा पटक–पटक विभाजनका कारण कमजोर भएको तथ्य सर्वविदित छ । तर, यो नयाँ एकताले प्रमाणित गरेको छ कि जब विचार, विश्वास र जनआकांक्षा साझा हुन्छ, एकता स्थायी र प्रभावकारी बन्न सक्छ । नवगठित नेपाली कम्युनिस्ट पार्टीले विगतका कमजोरी सुधार्दै, कार्यशैलीमा रूपान्तरण गर्दै र जनतामा विश्वास पुनः स्थापना गर्दै अघि बढ्ने प्रतिज्ञा गरेको छ ।

यस कारण आजको सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केवल एउटा नयाँ पार्टी होइन, नेपालको कम्युनिस्ट आन्दोलनको ऐतिहासिक निरन्तरता, राजनीतिक स्थायित्व र भविष्यको आधारशिला हो । यो पार्टीले गणतन्त्रको रक्षा, समाजवादको मार्ग र सुशासनको सुनिश्चिततासँगै राष्ट्रको समृद्धिको दिशामा निर्णायक कदम चाल्ने अपेक्षा गर्न सकिन्छ । जनताको विश्वास, विचारको एकता र नेतृत्वको अनुभवको सङ्गम भएको यो पार्टी नै अहिलेको अवस्थामा नेपालको कम्युनिस्ट आन्दोलनको मूलधार हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।

  • प्रकाशित मिति : २० कात्तिक, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया