राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले नेपालको राजनीतिक सङ्कटको मूल कारण ‘नेतृत्व’ रहेको बताएकी छन् । रास्वपा परित्याग गरी नयाँ दल गठनको तयारीमा रहेकी भनिएकी श्रेष्ठले अहिलेको अवस्थामा परिवर्तन चाहने सबैलाई समेट्न सक्ने सामूहिक नेतृत्व आवश्यक रहेको बताएकी छन् ।
सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले लेखेकी छन्, ‘राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन सक्दैन भन्ने बुझाइ हामी सबैको हो। तर पुराना दलहरू रिफर्म होलान् भन्ने आशा राख्नु मूर्खता हो ।’
उनले पटक–पटक नेतृत्वमा पुगेर देशलाई निराशा मात्र दिनेहरू फेरि एकजुट हुँदै चुनावी समीकरण मिलाउने प्रयत्नमा लागेको लेखेकी छन् । तर, परिवर्तनको पक्षमा उभिनेहरू भने अझै विभाजित रहेको उनको भनाई छ ।
श्रेष्ठले लेखेकी छन्, ‘परिवर्तन ल्याउने भनिएकाहरू भने अझै छिन्न भिन्न। त्यसको एउटा कारण नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने रहेछ । यस अवस्थामा परिवर्तनको अपेक्षा राख्ने हर एक व्यक्तिलाई समेट्न सक्ने सामूहिक नेतृत्वको आवश्यकता देख्दछु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।