नेपालले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना अभियानमा सहभागी भएर विश्वव्यापी शान्ति र सुरक्षामा उल्लेखनीय योगदान पुर्याएको छ । सानो भू–भाग र सीमित स्रोतसाधन हुँदाहुँदै पनि नेपालले विभिन्न संयुक्त राष्ट्रसंघीय मिसनहरूमा निरन्तर र प्रभावकारी भूमिका खेल्दै आएको छ । जसका कारण, नेपाल आज संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना कार्यमा एक पुरानो, भरोसायोग्य र अग्रणी सहयोगी राष्ट्रका रूपमा स्थापित भइसकेको छ ।
नेपाल संयुक्त राष्ट्रसंघिय शान्ति मिसनमा सन् १९५८ देखी नै सहभागी हुँदै आइरहेको छ । नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्रसङ्घलगायत निकायबाट उच्च प्रशंसा हुँदै आएको छ । शान्ति स्थापनार्थ खटिएका नेपाली सैनिकले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन जिम्मेवारी बहन गर्दै आएको छ ।
विगत ६७ वर्षको इतिहासमा १ लाख ७८ हजारभन्दा बढी नेपाली शान्ति सैनिक तथा प्रहरीहरूले ४१ विभिन्न देशहरूमा ५२ वटा विभिन्न शान्ति मिसनहरूमा सहभागी भएका छन् । जसमा करिब ३ हजार ४ सयभन्दा बढी महिला छन् ।
हालसम्म नेपाली सेनाका ७४, नेपाल प्रहरीका ११ र सशस्त्र प्रहरी बल नेपालका २ जना गरी ८७ ले वीरगति प्राप्त गरेका छन् । यस्तै, नेपाली सेनाका ७५ र नेपाल प्रहरीका ६ जना गरी ८१ घाइते भएका छन् । हाल शान्ति मिसनहरूमा सहभागी राष्ट्रहरू मध्ये समग्र तैनाथी एवम् महिला सहभागिता दुवैमा सङ्ख्याको हिसाबले नेपाल पहिलो स्थानमा रहेको छ ।
हाल विभिन्न १३ वटा मिसनहरूमा लगभग ६ हजार ४० नेपाली शान्ति सैनिक एवम् प्रहरीहरूमा ५ हजार ८१६ नेपाली सेना कार्यरत रहेका छन् । जसमा ५८० भन्दा बढी महिलाहरू रहेका छन् । नेपाली सेनाका हाल विभिन्न प्रकारका १६ वटा शा.से. युनिटहरू संयुक्त राष्ट्रसंघिय शान्ति मिसनहरूमा तैनाथ रही विश्व शान्ति स्थापनार्थ कार्यरत रहेका छन् ।
नेपाल सरकारले संयुक्त राष्ट्र सङ्घबाट अनुरोध भई आएमा १० हजारसम्म शान्ति सेना तैनाथ गर्ने प्रतिबद्धता समेत जनाएको छ । नेपाली सेनाले उल्लेखनीय सङ्ख्यामा महिला शान्ति सैनिकहरूको सहभागिता गराई तथा मिसनमा सौर्य हाइब्रिड प्लान्टहरू जडान गरी लैङ्गिक समानता र वातावरण रणनीति जस्ता संयुक्त राष्ट्र संघको पहलताहरूमा समेत अग्र स्थानमा रही योगदान गरिरहेको छ ।

संयुक्त राष्ट्र संघ मार्फत विश्वव्यापी शान्ति र सुरक्षामा योगदान पुर्याउनु नेपालको परराष्ट्र नीतिको प्राथमिकतामा समेत पर्दछ । विश्व शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक एवम् प्रहरीहरूको सहभागिताले नेपाललाई संयुक्त राष्ट्र संघको एक जिम्मेवार सदस्य राष्ट्रको रूपमा विश्व सामु चिनाउन समेत सहयोग पुर्याएको छ ।
शान्ति मिसनमा सहभागिताबाट नेपालको कूटनैतिक पहुँच विस्तार गर्न मद्दत पुगेको छ । साथै नेपालीहरुले प्रदर्शन गर्ने व्यावसायिकता, निष्पक्षता र अनुशासनले नेपालको अन्तर्राष्ट्रिय छवि बढाउनुका साथै नेपाललाई शान्तिप्रेमी राष्ट्रको रूपमा विश्व सामु चिनाउन सहयोग पुगेको छ ।
शान्ति स्थापना कार्यमा खट्टिएका नेपाली शान्ति सैनिक तथा प्रहरीहरूले द्वन्द्व समाधान, संकट व्यवस्थापन, मानवीय सहायता र शान्ति निर्माण सम्बन्धमा अमूल्य सीप र ज्ञान प्राप्त गर्दछन् जसले देशको आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन लगायत अन्य आकस्मिक कार्यहरुमा खट्टिन समेत टेवा पुगेको छ ।
शान्ति स्थापनार्थ गरिने तयारी एवम् आर्जन हुने ज्ञान र सीपबाट समग्रमा नेपाली सेनाको व्यवसायिकता र तयारीपनमा निखार ल्याउन सहयोग पुगेको छ
यति मात्र होइन, शान्ति स्थापनार्थ गरिने तयारी एवम् आर्जन हुने ज्ञान र सीपबाट समग्रमा नेपाली सेनाको व्यवसायिकता र तयारीपनमा निखार ल्याउन सहयोग पुगेको छ । शान्ति मिसन जोखिमपूर्ण हुँदाहुँदै पनि देशको प्रतिष्ठा वृद्धिमा महत्वपूर्ण भएकाले आगामी दिनमा अझ प्रभावकारी सहभागिताको अपेक्षा गरिएको छ । शान्ति मिसनमा नेपालले पुर्याएको योगदान केवल सैन्य उपस्थितिको हिसाबले मात्र होइन, शान्तिको संस्कृति प्रवद्र्धन गर्ने सन्देशका हिसाबले पनि महत्वपूर्ण छ ।
युद्धले थिलथिलो भएका समाजमा आशा, विश्वास र स्थायित्वको वातावरण निर्माण गर्न नेपाली सैनिकहरूले भुमिका खेलेका छन् । यसले नेपाललाई विश्वमञ्चमा एक शान्तिप्रेमी, जिम्मेवार र विश्वसनीय राष्ट्रका रूपमा चिनाएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियानमा नेपालको यो यात्रा साहस, समर्पण र विश्वशान्तिप्रतिको अटुट विश्वासको प्रतीक बनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।