१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

नेपालमा जलन उपचार अझै चुनौतीपूर्ण, दक्ष जनशक्ति र उपकरणको अभाव
फाइल तस्बिर

जलन क्षेत्रका जानकारहरूले नेपालमा जलन उपचारको अवस्था अझै सन्तोषजनक हुन नसकेको बताएका छन् । उनीहरूले नेपालमा जलन उपचार अझै चुनौतीपूर्ण रहेको र दक्ष जनशक्ति एवं उपकरणको अभाव रहेको बताएका छन् ।


तेस्रो राष्ट्रिय तथा दोस्रो विश्व जलन सप्ताहको अवसरमा नेपाल जलन फाउण्डेशनले आज आयोजना गरेको ‘जलन पीडितहरूको सामाजिक विभेद र समन्वय’ अन्तरक्रियात्मक कार्यक्रमका वक्ताहरूले जलन उपचार महँगो, जटिल र जनशक्ति अभावका कारण चुनौतीपूर्ण तथ्य प्रस्तुत गरे ।



प्लास्टिक सर्जन प्रा. डा. शङ्करमान राईले नेपालमा पर्याप्त मात्रामा प्लास्टिक सर्जन उत्पादन हुन नसकेको बताए । उनका अनुसार सरकारले सबै प्रदेशमा जलन उपचार सेवा उपलब्ध गराउने नीति त बनाएको छ । तर, आवश्यक जनशक्ति उत्पादनमा कमजोरी देखिएको छ । ‘यस क्षेत्रमा जनशक्ति विकासमा जोड दिनुपर्छ’, उनले भने ।

त्यसैगरी, प्लास्टिक सर्जन सह–प्रा डा पशुपतिबाबु पोखरेलले जलन उपचारमा फलोअप, अस्पताल बसाइ र औषधि खर्च अत्यधिक हुने भएकाले निम्नआय भएका बरामीका लागि उपचार आर्थिकरूपमा निकै महँगो हुने बताए । उनका अनुसार सरकारी अस्पतालमा चिकित्सकका लागि दरबन्दी सीमित छ । 



‘४० प्रतिशतभन्दा बढी बिरामीलाई बचाउन कठिन हुन्छ । पर्याप्त दक्ष जनशक्ति र उपकरण नहुँदा उपचार अझ जटिल बनेको छ,’ पोखरेलले भने ।

नेपाल जलन फाउण्डेशनका संस्थापक अध्यक्ष तथा प्लास्टिक सर्जन प्रा. डा. पियुष दाहालले न्यून आय भएको देशमा जलन समस्या गम्भीर रूपमा देखिएको बताए ।  उनका अनुसार नेपालमा हरेक वर्ष करिब एक हजार ५०० देखि दुई हजारसम्म व्यक्तिले पोल्ने वा डढ्ने कारण ज्यान गुमाउँछन् । तीमध्ये महिला र बालबालिकाको सङ्ख्या बढी छ ।

दाहालले जलन रोकथाम र उपचारका लागि प्रभावकारी नीति, सूचना प्रवाह र सचेतना कार्यक्रम आवश्यक रहेको उल्लेख गरे । जलन पीडित जेनी खड्काले पीडितले सामाजिक विभेद भोग्नुपरेको र अवसरको खाँचो रहेको गुनासो गरिन् । 



  • प्रकाशित मिति : २१ कात्तिक, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया