१० महिनामा ११ खर्ब व्यापार घाटा !

काठमाडौं– पछिल्लो १० महिनामा देशको व्यापार घाटा १९.७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०७५–७६ को १० महिनामा कुल वस्तु व्यापार घाटा १० खर्ब ९९ अर्ब ६० करोड पुगेको छ । सो अवधिमा निर्यात–आयात अनुपात ६.७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.८ प्रतिशत थियो ।

१० महिनामा कुल वस्तु आयात १९.६ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात २१.८ प्रतिशतले बढेको थियो । यस अवधिमा कुल वस्तु निर्यात १८.१ प्रतिशतले बढेर ७८ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात ९ प्रतिशतले बढेको थियो ।

भारततर्फको निर्यात ३१.९ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फ २.३ प्रतिशतको मात्र वृद्धि छ । चीनतर्फको निर्यात भने २९ प्रतिशतले घटेको छ । 

पोलिस्टर यार्न, जुटका सामान, जस्तापाता, ऊनी गलैंचा, जडीबुटी लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, छाला, तयारी पोसाक, पस्मिना लगायतको निर्यात घटेको छ ।

आयाततर्फ भारतबाट हुने आयात १७.२ प्रतिशत, चीनबाट हुने आयात ३३ प्रतिशत र अन्य मुलुकबाट हुने आयात १८.८ प्रतिशतले बढेको छ । पेट्रोलियम पदार्थ, तयारी पोसाक, हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, अन्य मेसिनरी र पार्टपुर्जाको आयात बढेको छ । सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजारको आयात भने घटेको छ ।





  • प्रकाशित मिति : असार ४, २०७६ बुधबार १८:४८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया